काभ्रेको बनेपामा दसौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन– ७५ वटा समूहले भजन प्रस्तुत गर्दै



काभ्रे । ‘बुद्धको उपदेश अनशुरण गरौँ, चित्तलाई हामी परिशुद्ध गरौँ’ नेपाल राष्ट्रिय ज्ञानमाला समितिको दसौँ राष्ट्रिय ज्ञानमाला सम्बन्धी तीन दिने सम्मेलन काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा वांख्य ज्ञानमाला भजन खलःको व्यवस्थापनमा हुने भएको छ ।

‘पौष २३–२५ सम्म बनेपामा हुने सम्मेलनमा देशभरका १ सय २५ वटा ज्ञानमाला भजन खलःबाट सहभागिता हुनेछ’– केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले भन्नुभयो– ‘तीन दिन चल्ने सम्मेलनमा बुद्ध पूजा, पञ्चशील प्रार्थना, ज्ञानमाला शान्ति पदयात्रा, बृहत् ज्ञानमाला भजन कार्यक्रम, अभिनन्दन ज्येष्ठ नागरिक सम्मान तथा नयाँ समितिको चयन हुनेछ ।’

बनेपामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भगवान बुद्धद्वारा प्रतिपादन भएका सत्य, अहिंसा, मैत्री करुणाका, शील समाधी, प्रज्ञाका जीवन उपयोगी अमूल्य शश्वत उपदेशहरूलाई सर्वब्यापक ढंगबाट उजागार गर्न तथा सम्प्रेषण गर्ने, गराउने आफुले बुझ्ने, अनुशरण गर्ने गराउने, सत्कार्यमा उन्मुख हुने बताउनु भयो ।

‘बुद्ध शिक्षा, पञ्चशीलको शिक्षा नै अनुशीलन तथा परिपालन गरेर राष्ट्रियब्यापी तथा विश्वब्यापी रुपमा सुख शान्ति तथा समृद्धीको परिकल्पना गर्न सम्भव हुन्छ’– अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘१९९४ सालमा धम्मालोक भन्ते तथा अमृतानन्द भन्तेहरुले स्वम्भूमा ज्ञानमाला भजन खलः स्थापना गरेर शुरु भएको अभियान देशभर फैलिएको छ । २०५१ साल चैत्र १८ गते नेपाल राष्ट्रिय ज्ञानमाला समितिको स्थापना भएको हो ।’

बदलिँदो समाज, युवापुस्ताहरुमा घट्दै गएको धर्म र संस्कृति प्रतिको चाहनालाई बढावा दिँदै भगवान बुद्धले बहुजन हिताय बहुजन सुखायको निम्ति देशना गर्नु भएको शील सदाचार युक्त मानव कल्याणकारी धर्म तथा बुद्ध शिक्षालाई सहज, सशक्त तथा प्रभावकारी ढंगबाट जनमानसलाई प्रचारप्रसार गरेर समाजमा सुख, शान्ति कायम गर्ने ज्ञानमाला भजन खलःको प्रमुख उदेश्य रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

सम्मेलनमा ७५ वटा भजन खलःले भजन प्रस्तुत गर्नेछन् । दैनीक २५ वटा भजन खलःका लागि १०÷१० मिनेटको समय छुट्टाईएको छ । भजनका लागि एउटा समूहमा ६ देखि १० जना रहनेछन् । बनेपामा शान्ति पदयात्रा, झण्डोलोतन हुनेछ । १ सय २५ वटा भजन खलःका चार÷चार जना प्रतिनिधि रहनेछन् ।

व्यवस्थापन समिति अध्यक्ष जगतनारायण मानन्धरले प्रतिनिधि ब्यवस्थापन तथा सम्मेलनको तयारी सकिएको बताउनु भयो । पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष रमना श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष विमलबहादुर शाक्य, सल्लाहकार किरणकुमार जोशी, महासचिव इन्द्रुमणी शाक्य, कोषाध्यक्ष राजभाई शाक्य लगायतले बुद्धको अनुशरण गर्नु पर्ने बताउनु भयो ।

काभ्रेपलाञ्चोक जिल्लामा ६ वटा ज्ञानमाला खलः छन् ।

प्रतिक्रिया दिनुहोस्