‘मलाई त केही हुन्न !’



छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बिएफडट–सेभेनको त्रासमा नेपाल पनि परेको छ । सरकारी निकायले आम नागरिकलाई मास्क लगाएर मात्र बाहिर निस्कन, भिडभाडमा नजान र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।

स्थानीय तहले सबै विद्यालयलाई स्वास्थ्य सतर्कताका लागि पत्राचार पनि गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक सूचना जारीगरी क्याम्पस र भीडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगायन भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको संक्रमण दोहोरिनसक्ने भन्दै सबै निकायलाई तयारीमा रहन आग्रह गरेको छ । होल्डिङ सेन्टर र क्वारेन्टीनको व्यवस्थापन गर्न पनि आग्रह गरिसकिएको छ ।

छरछिमेकमा बिएफडट–सेभेनले देखाएको ताण्डवका बाबजुद नेपालमा भने जनस्तरमा स्वास्थ्य सतर्कताको व्यवहार देखिन्न । नाक–मुख छोपिनेगरी मास्क लगाएर हिंड्ने व्यक्ति पाउन मुस्किल हुन्छ । पछिल्लो तीनसाता यता चीन र भारत लगायत विश्वभर फैलिएको संक्रमण नेपालमा फैलनसक्ने भन्दै उच्च सावधानी अपनाउन गरिएको आग्रह मात्र समाचारमा सीमित छ, व्यवहारसम्म आउनसकेको छैन । यसै सिलसिलामा सवारी जाँच र ट्राफिक आइल्याण्डमा रहेका ट्राफिक प्रहरीले नागरिकलाई सेचत गराउन ‘तपाईंको मास्क खोइ’ अभियान फेरि सुरु गरेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु ‘मास्क खोइ’ लेखिएका सचेतनामूलक प्लेकार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडाै‌ं जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार ट्राफिक प्रहरीले यस्तो व्यवस्था गरेको छ । बैठकले स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिंड्नेलाई सुसूचित गर्ने र जनचेतना फैलाउन प्लेकार्ड प्रयोग गर्ने निर्णय गरेअनुसार यो सचेतना अभियान सुरु गरिएको बुझिएको छ ।

छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण फैलाउनसक्ने यो भेरियन्ट नेपालको खुला सिमाना र आवातआवतका कारण फेरि भित्रिने जोखिम कायम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै मन्त्रालय र निकायलाई तयार रहन आग्रह गरेको छ ।विश्वभर फैलिएको अवस्था आँंकलन गर्दा कोरोनाको नयाँ भाइरस नेपालमा नआउला भन्न सकिंदैन । त्यसको लागि सरकारले खोपको व्यवस्थापन गर्न जरुरी छ । कोभिड– १९ विरुद्धको दुवै डोज खोप प्रयोग गरिसकेकाले अतिरिक्त मात्रा वा बुस्टर खोप लगाउने व्यवस्था गर्नु सरकारको पहिलो दायित्व बनेको छ ।

यस दायित्वलाई पूरा गर्ने अभ्यास पनि थालिएको बुझिएको छ, जो स्वागतयोग्य छ । हालसम्म २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन । ७९ लाख ७२ हजार ७ सय ९१ अतिरिक्त मात्राको खोप लगाएका छन् । कोभिडबाट जोगिन सबैले सावधानी अपनाउनुको विकल्प छैन । त्यतिमात्र होइन, सरकारले कोभिड–१९ विरुद्ध एकमात्रा पनि र बुस्टर डोज नलगाएकालाई खोपको व्यवस्था गर्नु अनिवार्य छ ।

यस विषयमा सरकारले ध्यान दिनु जति जरुरी छ त्यति नै जरुरी आम नागरिकमा आत्मबोधको पनि छ । ‘मलाई त केही हुन्न’ भन्ने लापर्बाही आजको मुख्य समस्या बनेको छ । सरकारी कर्मचारी, सार्वजनिक पहिचानका व्यक्ति, नेता तथा आमसञ्चारमा प्रकट हुने पात्रले मास्क लगाएर देखिने होभने त्यसको प्रभाव व्यापक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्