सुदूरपश्चिममा संसदीय दलका कार्यालय व्यवस्थापन गर्न भवनको अभाव

पद तथा गोपनीयताको शपथ भोलि



धनगढी । सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको कार्यालय व्यवस्थापन गर्न सकस भएको छ । प्रदेशसभा सचिवालयलाई दलका कार्यादयका लागि कोठा अभाव भएपछि व्यवस्थापनमा समस्या आएको हो ।

यसअघि दलका कार्यालयको रूपमा प्रयोग गरिएका संरचना प्रदेशको अस्थायी राजधानीस्थित धनगढी उपमहानगरपालिकाले भत्काएपछि समस्या आएको बताइएको छ । उपमहानगरले सडक चौडा पार्ने भन्दै मुख्य सडक क्षेत्र आसपासका संरचनाहरु भत्काइरहेको छ ।

उपमहानगरले सुरु गरेको सडक विस्तारको क्रममा पुराना दलका कार्यालय स्थापना गरिएका संरचनामा डोजर चलेपछि दलको कार्यालय अभाव भएको हो । सो समस्याका कारण केही दिनको लागि अस्थायी रूपमा यहाँ दलको कार्यालय व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी देवबहादुर बोगटीले जानकारी दिए । प्रदेश सभा सचिवालयका अनुसार अहिले ४ सिट रहेको नेकपा (एकीकृत समाजवादी)लाई पुरानै दलको कार्यालय उपलब्ध गराइएको छ ।

सबैभन्दा ठूलो कार्यालय एकीकृत समाजवादीलाई उपलब्ध गराएपछि अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको लागि मिटिङ हलमा दलको कार्यालय स्थापना गरिएको छ ।

त्यस्तै अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको कार्यालयमा एमालेको दलको कार्यालय बनाइएको छ भने विधायन तथा प्रदेश मामिला समितिको कार्यालयमा नेकपा (माओवादी केन्द्र)को कार्यालय बनाइएको छ ।

सार्वजनिक लेखा समिति वा सामाजिक विकास समितिमध्ये एक कार्यालयमा नागरिक उन्मुक्तिको कार्यालय बनाउने तयारी भइरहेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टी नयाँ दल भएकाले उसको लोगो र होडिङ बोर्ड सम्बन्धमा आधिकारिकता मागेर कार्यालय दिइने बताइएको छ ।

एकजना मात्रै सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को लागि प्रदेशसभा सचिवालयले दलको कार्यालय उपलब्ध नगराउने भएको छ । त्यस्तै स्वतन्त्र एक सांसदले पनि दलको कार्यालय नपाउने भएका छन् । तर, उनीहरूलाई एक–एक कार्यकक्ष प्रदान गरिने जनाइएको छ ।

भोलि (शुक्रबार) सुदूरपश्चिम प्रदेशमा १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ । भोलि १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् ।

त्यसपछि रावलले प्रदेशसभाका ५२ जना सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहण गर्ने ५२ जनामध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्नेछन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र कांग्रेसतर्फ समानुपातिक निर्वाचित एक गरी ६ जनाले मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

पद तथा गोपनीयताको शपथ लिएपछि प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्ने छन् । यहाँ १५ गते पद तथा गोपनीयताको शपथ लिने र पुस १८ गते पहिलो बैठक आह्वान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्