सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद, स्थानीयद्वारा ढुंगा प्रहार



सिरहा । सिरहाको विभिन्न स्थानबाट सशस्त्र प्रहरीले २९ लाखभन्दा बढी मूल्यको समान वराम गरेको छ । हिजो (बुधबार) करीव २९ लाख २२ हजार ४ सय रुपियाँ बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको भन्सार कार्यालय सिरहाले जनाएको छ ।

लुकाई छिपाई राखेको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको प्रहरीले जनाएको छ । जिल्लाको नवराजपुर गाउँपालिका–५ मेनहा बस्ने संजय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा उक्त सामान प्रहरीले बरामत गरेको छ ।

१६ लाख २२ हजार ४ सय रुपियाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ । सोही गाउँपालिका–५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको ५ लाख रुपियाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलोसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपियाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई राखेको अवस्थामा २ लाख ५० हजार रुपियाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलोसमेत बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षती पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्