आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा समातिए शिक्षक



वीरगञ्ज । 

आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको ‘स्वीकार गर्ने’ शिक्षकसहित दुई जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
वीरगञ्ज महानगरपालिका–२५, खल्वा टोला सिर्सियास्थित गुरुकूल इङ्लिस बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय निरजकुमार पासवानको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

सासवानको हत्यामा संलग्न रहेका तीन जनामध्ये वीरगञ्ज–१७, अलौंका २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र धोबनी गाउँपालिका–१ घोडदौल पिप्राका ३० वर्षीय दिलीपकुमार पटेललाई पक्राउ गरिएको छ । पटेल गुरुकूल विद्यालयकै शिक्षक रहेको प्रहरीले जनाएको छ ।

निरज हराएको भन्दै उनको परिवारले मंसिर ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । विद्यार्थीको अपहरणपछि ५० लाख फिरौती मागेको म्यासेजको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभएको छ ।

गत मंसिर २० गते निरजका बुबा श्रीराम हजरा दुसादको मोबाइलमा आएको एउटा म्यासेजका आधारमा अभियुक्तहरूलाई पक्राउ गरिएको एसपी शाहले बताउनुभयो– ‘म्यासेजका आधारमा पछ्याउँदै जाँदा फिरौती माग्न प्रयोग गरिएको मोबाइलसहित शिक्षक पटेल र स्थानीय यादवलाई पक्राउ गरेका हौं ।’

दुवै जनाले अपहरणपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरूले निरजलाई बाँधेर राखेका थिए । बाँधिएको डोरी फुकालेर निरज भाग्न खोज्दा आफ्नो पहिचान खुल्ने डरले अपहरणकारीले घाँटी थिचेर निजको हत्या गरेको स्वीकारेका छन्, प्रहरीले भन्यो, ‘त्यसपछि उनको शव स्कुलको पुरानो भवन रहेको शौचालयको सेफ्टीट्यांकीमा गाडेको बताएअनुसार यही पुस १० गते लास पनि फेला परेको थियो ।’

एकीकृत भन्सार चौकीका लागि निरजका बुबा श्रीरामको जग्गा लिइएको र त्यसको मुआब्जास्वरूप उहाँले पाएको रकममा अपहरणकारीको गिद्देदृष्टि परेको थियो ।

अपहरणकारीले निरजको अपहरण गरेको १२ दिनपछि फिरौती माग गरेका तर उनको अपहरण गरेकै दिन हत्या गरिएको प्रहरीले खुलासा गरेको छ ।उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी शाहले बताउनुभएको छ– ‘हत्यामा संलग्न एक जना फरार रहेकाले निजको खोजी भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्