दोलखाको लप्ची क्षेत्रमा जोडी हिमचितुवा



दोलखा ।

दोलखाको उच्च हिमाली भेग लप्ची आसपास एक जोडी (आमा र बच्चा) हिमचितुवा देखिएका छन् । गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको बिगु गाउँपालिका–१ लप्ची आसपास जंगली जनावरको प्रजातिबारे अध्ययन गरिरहेको र सोही क्रममा एक महिनाअघि आमा र बच्चा हिमचितुवा क्यामेरा ट्र¥यापिङमा परेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो ।

हिमचितुवाको आमा र हुर्कंदै गरेको बच्चा खेलिरहेको अवस्थामा लप्ची गुम्बा नजिक झण्डै चार हजार मिटरको उचाइमा रहेको देउराली क्षेत्रमा देखिएको सूचना अधिकारी दाहालले बताउनुभयो । लप्ची आसपास नै तीन वर्षअघि सन् २०१९ मा पनि एउटा वयश्क हिमचितुवा संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्र-यापिङमा देखिएको थियो । झन्डै दुई महिनाअघि पनि दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ क्षेत्रमा हिमचितुवा देखिएको गौरीशङ्कर संरक्षण क्षेत्रले जनाएको छ । योबाहेक अन्य दुई ठाउँमा पनि हिमचितुवा देखिएको संरक्षण क्षेत्रले जनाएको छ ।

समुद्री सतहदेखि तीन हजार मिटरमाथिको उचाइमा पाइने बिरालो वर्गमा पर्ने संरक्षित जनावर हिमचितुवा गौरीशङ्कर संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्र¥यापिङमा पटक–पटक देखिँदा अध्यनमा उत्साह थपिएको सूचना अधिकारी दाहाल बताउनुहुन्छ । अहिले हिमचितुवाको संख्याबारे यकिन गर्न गौरीशङ्कर संरक्षण क्षेत्रले लप्ची र रोल्वालिङ क्षेत्रका विभिन्न ठाँउमा क्यामेरा ट्र-यापिङसहित अध्ययन गरिरहेको दाहालले बताउनुभयो ।

अहिले हिमचितुवा देखिएको क्षेत्र उसको हिँड्ने बाटो हो वा शिकारको लागि आइपुगेको हो भन्ने विषय पनि थप अध्ययनपछि मात्र भन्न सकिने दाहालले बताउनुभयो । यसको संख्याको बारेमा अब केही महिनाभित्र नै जानकारी गराउन सकिने उहाँको भनाइ छ ।संरक्षित जनावर हिमचितुवा लप्ची र रोल्वालिङ क्षेत्रमा पटक–पटक देखिँदा उत्साहित बनेको गौरीशङ्कर संरक्षण क्षेत्रले जलविद्युत् आयोजना निर्माण तथा विभिन्न मानव गतिविधिले यसलाई असर नगरोस् भनेर सर्तकता अपनाइरहेको जनाएको छ ।

तस्वीर: सौजन्य गौरीशङ्कर संरक्षण क्षेत्र

प्रतिक्रिया दिनुहोस्