सुदूरपश्चिममा ६ सांसदले मातृभाषामा सपथ लिने



धनगढी । 

सुदूरपश्चिममा निर्वाचित ६ जना प्रदेश सभा सदस्यले मातृभाषा पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन्। पुस १५ गते १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन्। त्यसपछि रावलले अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

यहाँ शपथ ग्रहण गर्ने ५२ जना मध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने छन्। नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित एक गरी ६ जनाले स्थानीय भाषामा पद तथा गोपनीयताको शपथ लिने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। उनीहरु ६ जनाले हिजो मातृभाषामा शपथ गर्ने विषयमा प्रदेश सभा सचिवालयमा जानकारी गराएका थिए।

नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेश सभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा १ का घनश्याम चौधरी र २ का खुसी राम डगौरा थारूले थारु भाषामा शपथ लिने छन्। त्यस्तै कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीताकुमारी चौधरीले पनि थारु भाषामा शपथ लिने छिन्। उनी कञ्चनपुरकी हुन्।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै स्थानीय भाषामा शपथ लिन चाहनेलाई तीन दिनभित्र निवेदन दिन अनुरोध गरेको थियो। संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेश सभा सदस्यहरुमध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउने व्यवस्था रहेको छ।

सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य मानबहादुर रावल रहेका छन्। ६८ वर्षीय रावल कांग्रेसबाट अछाम क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित भएका हुन्। यहाँ प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ३२ र समानुपातिकतर्फबाट २१ सांसद रहेका छन्। पद तथा गोपनियताको सपथ खाएपछिमात्र प्रदेश सभाको पहिलो बैठक ज्येष्ठ नागरिकले सञ्चालन गर्ने व्यवस्था रहेको छ। १५ गते पद तथा गोपनियताको सपथ खुवाउने र पुस १८ गते पहिलो बैठक आह्वान गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्