३४ तोला सुन र नगदसहित डीएसपी केसी कार्यालयबाटै पक्राउ



काठमाडौं । 

इलाका प्रशासन कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी सुन र नगदसहित कार्यालयबाट पक्राउ परेका छन् ।
रूपन्देही प्रहरीले बरामद गरेको सुनको विषयमा विवादमा तानिएका डीएसपी केसीको बारेमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोलाई खटाएको थियो ।

ब्युरोको टोलीले डीएसपी केसीको कोठाबाट ३४ तोला २१ लाल सुन, ९ लाख ५० हजारको चेक र नगद ८ लाख ५० हजार फेला परेको प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । सुन व्यापारी किसन विकको सुन इप्रका बुटवलले बरामद गरेपछि सुन छुटाउन विभिन्न व्यक्तिको प्रयोग गरेको र सेटिङमा डीएसपी केसीले सुन छाड्न लागेको सूचना पाएपछि प्रधान कार्यालयले ब्युरोलाई अनुसन्धान गर्न बुटवल खटाएको थियो ।

ब्युरोको टोलीले बुटवलको कालिकानगरस्थित महाराजा रिसोर्टबाट खिलेन्द्रसिंह जिसीलाई नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि खिम जिसीको नाममा काटिएको ९ लाख ५० हजारको चेक फेला परेको थियो ।प्रहरीले उक्त चेकको विषयमा सोधपुछ गर्दा उक्त चेक डीएसपी केसीलाई बरामद गरेको सुनको विषयमा मिलाउनका लागि काटिएको भन्ने जानकारी दिएपछि प्रहरी टोलीले सुन व्यापारी विक र डीएसपी केसीलाई नियन्त्रणमा लिएर कोठा खानतलासी गर्दा उनको कोठाबाट ८ लाख ५० हजार नगद भेटिएको थियो ।

प्रहरीको टोलीले खिम जिसीको झोलाबाट डीएसपी केसीलाई दिन लान लागेको अवस्थामा ३४ तोला २१ लाल सुन भेटिएको पनि एसपी थापाले जानकारी दिनुभयो । १३ महिनाअघि इप्रका बुटवलको प्रमुख भएर गएका डीएसपी केसी पटकपटक विवादमा तानिँदै आउनुभएको थियो । उहाँको सरुवा जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको थियो । उहाँ आज मंगलबार रमाना लिएर कास्की जाने तयारीमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्