मनोरञ्जनात्मक सामग्री अलपत्र

0
Shares

भद्रपुर ।

कचनकवल गाउँपालिकाले नमुना चिल्ड्रेन पार्कको नाममा खरिद गरिएको मनोरञ्जनात्मक सामग्री अलपत्र अवस्थामा छाडेको पाइएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ को योजना अन्तरगत मनोरञ्जनात्मक सामग्री खरिद गरेको थियो । तर, खरिद गरिएका लाखौँ मुल्य बराबरका मनोरञ्जनात्मक सामग्रीहरू गाउँपालिका परिसरभित्र अलपत्र अवस्थामा राखिएको थियो । अहिले सो सामग्री त्यहाँबाट हटाएर गाउँपालिकाले सडक छेउको खाली जमिनमा राखेको देखिन्छ ।

हात्ती लगायतका विभिन्न जनावरको मूर्तिहरू झन्डै दुई वर्षदेखि गाउँपालिकामा थन्काउँदा कुनैको पुच्छर छैन भने कुनैको खुट्टा भाँचिएर जीर्ण बनेको छ ।तत्कालीन सङ्घीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विनियोजित १५ लाख र तत्कालीन प्रदेश सांसद वसन्तकुमार बानियाँले ५ लाख गरी करिब २० लाख मुल्य बराबरको मनोरञ्जनात्मक सामग्रीसहित देवीदेवताका मूर्ति तत्कालीन गाउँपालिका अध्यक्ष अञ्जार आलमको पालामा खरिद गरिएको थियो ।

हात्तीसहित पूर्व राजाको मूर्ति र शिव भगवानको मूर्ति खरिद गरेर ल्याए पनि केचना झिलमा राजाको मूर्ति र भुवनेश्वर शिवालयमा शिवको मूर्ति स्थापना गरिसकेको छ । हालसम्म हात्तीका मूर्तिहरू भने प्रयोगमा नल्याएको पाइएको छ ।लक्ष्मी माध्यमिक विद्यालय बनियानीको नाममा रहेको जमिनमा कचनकवलकै नमुना चिल्ड्रेन पार्क बनाउने उद्देश्य गाउँपालिकाको थियो । गाउँपालिकाले प्रदेश सरकारको बजेट सो जमिनमा लगाइएको कम्पाउन्ड वालको काम अधुरै छ ।

पार्क सम्पन्न नै नभइ सामग्री खरिद गरेर जनताको लाखौँ रुपैयाँ दुरुपयोग भएको स्थानीय नारायण नेपालले बताउँनुभयो । पार्क २० प्रतिशत पनि निर्माण नभएको हुदाँ कुन प्रयोजनका लागि यति हतारमा सामग्री खरिद गरेको विषय शङ्कास्पद् रहेको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले हात्ती लगायत मनोरञ्जनात्मक सामग्री अघिल्लो जनप्रतिनिधि के र कस्तो प्रयोजनका लागि खरिद गरेको गाउँपालिकामा त्यसको अभिलेख नहुँदा समस्या भएको बताउँनुभयो । गाउँपालिका परिसरमा थन्काइएको सो सामग्रीहरू पार्किङ अभावका कारण अन्यत्र सारिएको बताउँदै ती सामग्रीहरू अब ६ नम्बर वडा कार्यालय परिसरमा लगेर राख्ने जानकारी दिनुभयो ।

खरिद गरिएका सामग्रीहरू कसरी र कहाँ उपयोग गर्ने विषयमा कार्यपालिकाको बैठकबाट निर्णय गरी त्यसको व्यवस्थापन गरिने उहाँको भनाई छ । तत्कालिन जनप्रतिनिधिले नै यो विषय जान्ने उहाँको भनाइ छ । अनुमानित १० लाख रुपैयाँको सामग्री अलपत्र परेको हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

प्रदेश र सासद कोषबाट बजेट विनियोजन गरिएपनि गाउँपालिकाले सदुपयोग नगरेका कारण ती सामग्री अलपत्र परेको तत्कालिन प्रदेश सासद वानियाँले बताउँनुभयो । बजेट विनियोजन गरेपछि बाँकी के भयो भन्ने विषयको समेत पालिकाले जानकारी नगराएको उहाँको भनाइ छ ।

पालिकामा अधुरा रहेका योजना तथा कामहरु बर्तमान स्थानीय सरकारले निरन्तरता दिनु पर्नेमा त्यो नगरेको तत्कालिन पालिका अध्यक्ष आलमले बताउँनुभयो । पालिकाले अघि सारेका सवै गुरुयोजना बर्तामान पालिका सरकारले लथालिङ्ग बनाएको उहाँको आरोप छ ।