उपत्यकामा सडक दुर्घटना



बितेको पाँच महिनाभित्र काठमाडौं उपत्यकामा ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको खबरले सबैलाई झस्काएको छ ।

मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेको तथ्यांकले उत्तिकै गम्भीर बनाउँछ । कुनै पनि मुलुकको सभ्यता र विकास त्यहाँ कति सडक बने र शहरीकरण भयो भन्दा पनि दुर्घटनाजस्ता अप्रिय घटनाको न्यूनीकरण कति छ भनेर हेरिन्छ ।

हिंसा, हत्या, अकाल मृत्यु, शोषण, मानवीय कारणले हुने दुर्घटना आदि पछौटेपनका सूचकहरु मानिन्छन् । यस्ता सूचकहरुको अधिकताले मुलुकको अन्तर्राष्ट्रिय छवि कमजोर बनाउन सघाउँछ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएअनुसार मंसिरमा सबैभन्दा बढी २० जनाको सवारी दुर्घटनामा मृत्यु भयो । असोजमा १९, कार्तिकमा १६, साउनमा १२ र भदौमा नौ जनाको सवारी दुर्घटनामा ज्यान गुमाए ।

सोही अवधिमा गम्भीर घाइते हुनेको संख्या एक हजार ५० रहेको अभिलेखले देखाउँछ । प्रहरीका अनुसार साउनमा २४, भदौमा २२, कातिकमा २१, असोजमा १९ र मंसिरमा १९ जना सवारी दुर्घटनामा गम्भीर घाइते भए । उक्त अवधिमा कुल तीन हजार आठ सय २६ वटा सवारी दुर्घटना भएको प्रहरीको अभिलेखमा छ । प्रहरी कार्यालयले मादक पदार्थ सेवन (मापसे) मा कडाइ गरेपछि दुर्घटनामा कमी आएको बताए पनि दुर्घटनाको परिमाण न्यून हुनसकेको छैन ।

उपत्यकाका विभिन्न नाकामा चेकिङको व्यवस्था गरेको कारण पनि दुर्घटनामा कमी आएको प्रहरीको दाबी एकातिर छभने अर्कातिर अधिक परिमाणमा दुर्घटना भएको भए अवस्था कति भयावह हुन्थ्यो भन्ने दिशामा पनि सबैको ध्यानाकर्षण भएको हुनुपर्छ ।

हरेक दिन बिहान, दिउँसो र बेलुकीको समयमा सबै किसिमका चेकजाँचलाई कडाइ गर्ने भएकाले तुलनात्मक रूपमा दुर्घटनामा कमी आएको प्रहरीको भनाइ स्वीकार गर्दा यसमा अझ बढी कडाइ आवश्यक भएको प्रष्ट हुन्छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एक हजार एक सय १३ जना प्रहरीले दैनिक सवारी सुरक्षा, चेकजाँच र अनुगमनमा ध्यान केन्द्रित गरेको बताइन्छ । ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाको कारणबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ । पछिल्लो समय यात्रुले जथाभावी बाटो काट्दा हुने दुर्घटनाको संख्या बढ्दैगएको प्रारम्भिक निष्कर्ष छ ।

उपत्यकामा सवारी चापको कारण दुर्घटना बढ्दै गएको तथ्यलाई पनि अस्वीकार गर्नसकिन्न । ट्राफिक प्रहरीले पुस १ गते एकैदिन सवारी नियम उल्लंघन गर्ने तीन हजार आठ सय ७५ जनालाई कारबाही गरेको, त्यसमा मापसेमा दुई सय ४४, लेन उल्लंघनमा एक सय २९, रेडलाइट बेवास्तामा ४३, हर्नको दुरुपयोगमा एक सय ११, नम्बर प्लेट ५३ र अन्य तीन हजार दुई सय ९५ गरी तीन हजार आठ सय ७५ सवारी साधनले सवारी नियम उल्लंघन गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण छ ।

समष्ठीगत रुपमा, सवारी दुर्घटनामा अधिकतम कमजोरी चालकहरुकै देखिन्छ । सावधानी नअपनाउने, सवारी नियमको पालना नगर्ने, सवारीको घनत्व बढेको अवस्थाप्रति सचेत नहुने र नयाँ परिवेश अनुसार आफूलाई तयार नराख्ने चालक तथा यात्रुका कारण नै दुर्घटनाको संख्या बढेको हो । प्रहरीले त सक्रियता बढाउनुपर्छ नै, मूलतः सवारी चालकहरु नै सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्