अर्जेन्टिना विश्वकपको फाइनलमा

0
Shares

दोहा, (एजेन्सी) । 

क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई र कप्तान लिओनेल मेसीले एक गोल गरे ।

पहिलो हाफमै २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको थियो ।पहिलो हाफमा क्रोएसियाले लगातार दबाब बनाए पनि त्यसलाई डरलाग्दो आक्रमणमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पाएको कमजोर अवसरमा गोल गर्न सफल भयो । पहिलो गोल पेनाल्टीमा गरेको अर्जेन्टिनाले दोस्रो गोल भने काउन्टर अट्याकमा क्लियर हुन नसकेको बलमा गोल गर्‍याे ।

दोस्रो हाफमा अर्जेन्टिनाले सुरुवातदेखि बल पोसेसनमा पकड जमाउँदै क्रोएसियालाई खेलमा फर्कन दिएन । अर्जेन्टिनाले पटक–पटक आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । मेसीले एकल प्रयासमा तेस्रो गोलको अवसर सिर्जना गर्दै अर्जेन्टिनालाई फाइनलमा पु¥याए ।

खेलको ३४औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १–० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
खेलको ३९औं मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा मिडफिल्डदेखि आफैं बल अघि बढाएका उनले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । क्रोएसियाका दुई डिफेन्डरले बल क्लियर गर्ने अवसर पाए पनि त्यसमा कमजोर क्लिअर गर्दा दुवै पटक अल्भारेजको खुट्टामा बल पुगेको थियो ।

अन्त्यमा अल्भारेजले वान भर्सेस वानमा सहजै गोल गरे । खेलको ४२औं मिनेटमा अर्जेन्टिनाको अर्को गोलसामु लिभाकोभिच बाधक बने । मेस्सीको कर्नरमा निकोलस टाग्लीयाफिकोले पोस्टतर्फ पठाएको बललाई लिभाकोभिचले बचाए । पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता जोगाउन सफल भयो ।खेलको ५८औं मिनेटमा लिभाकोभिचले अर्जेन्टिनालाई अग्रता थप्न दिएनन् । लिओनेल मेसीले जुलियन अल्भारेजसँग वान टु पास खेलेपछिको प्रहारलाई क्रोएसियाका गोलरक्षकले विफल पारे । तर, ६९औं मिनेटमा अर्जेन्टिनाले ३–० को अग्रता लियो ।

मेसीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे । अर्जेन्टिनाले यस जितसँगै फाइनलमा स्थान पक्का गरेको छ । अर्जेन्टिनाले अब बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

मेसी विश्वकपका सर्वाधिक गोलकर्ता

मेसी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेसीले विश्वकपमा आफ्नो गोलसंख्या ११ पु¥याउंदै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई उभ्याएका हुन् ।मेसीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा पेनाल्टीबाट गोल गरेसंगै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन् । उनले पछिल्लो खेलमा गोल गर्दै १० गोलको कीर्तिमान बराबरी गरेका थिए । अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले आठ–आठ गोल गरेका छन् । मेसीले जारी कतार विश्वकपमा नै पाँच गोल गरिसकेका छन् । उनी कतार विश्वकपमा सर्वाधिक गोलकर्ता सूचीमा रहेको फ्रान्सका किलीयन एमबाप्पेसँगै उभिएका छन् ।

त्यसैगरी मेसीले फिफा विश्वकपमा सर्वाधिक धेरै म्याच खेल्ने खेलाडीको कीर्तिमानसँग पनि बराबरी गरेका छन् । मेसीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमानसँग बराबर गरेका हुन् । कतारमा जारी विश्वकपअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा सुरुआती–११ मा पर्दै मेसीले उनको कीर्तिमान बराबरी गरेका हुन् ।