कोहलपुरको आफ्नै प्रहरी


बाँके । 

कोहलपुर नगरपालिकाले तालिमप्राप्त नगर प्रहरी तयार पारेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतर नेपालगञ्जको सहयोगमा कोहलपुर नगरपालिकाले नगर प्रहरी तयार पारेको हो ।

प्रहरीले १९ जना नगर प्रहरीलाई ४५ दिन तालिम दिएको छ । प्रहरी निरीक्षकसहित पाँच जनालाई यसअघि नै खटाइसकिएको थियो । तालिम प्राप्त १९ जना नगर प्रहरीको आइतबार दीक्षान्त समारोह आयोजना गरिएको छ । कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले नगर प्रहरीलाई योग्य, लगनशील र कर्मठ बनाउन प्रहरी तालिम केन्द्रले ठूलो सहयोग गरेको बताउनुभयो ।

‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनोटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रलाई सुम्पेका थियौं’, मेयर आचार्यले भन्नुभयो– ‘यो ४५ दिनमा उनीहरु काममा सक्षम भएर निस्किएका छन् ।’उपमेयर संगीता सुवेदीले दीक्षित भएका प्रहरी जवानले व्यावसायिक धर्म निर्वाह गर्न कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

तालिम केन्द्र प्रहरी निरीक्षक यामबहादुर मल्लले ७ महिला र १२ जना पुरुष जवानलाई सलाम गर्ने, कवज, पिटी, लाठी चलाउन सिकाएको उहाँको कथन छ ।स्थानीय तहले आफैंले नियुक्ति गरेर नगर प्रहरी राखेको पाइन्छ । कोहलपुर नगरपालिकाले भने प्रहरी तालिम केन्द्रमा तालिम गराउन लगाएर नगर प्रहरी तयार पारेको हो । दीक्षित भएका प्रहरी जवानहरु तत्कालै काममा खटिने कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।