स्वास्थ्य जनशक्ति पलायन बढ्यो : कसरी रोक्ने ?



जुन ठाउँमा सुविधा छ त्यो ठाउँमा आवश्यकताभन्दा बढी पनि स्रोत, साधन र जनशक्ति छ । नेपालको भौगोलिक अवस्था अनुसार आम नागरिकलाई जुन खालको स्वास्थ्य सेवाको आवश्यकता छ त्यो पुग्नसकेको छैन । उदाहरणका लागि हामीले क्यान्सरका कुरा गर्छौं, क्यान्सर बढेको बढेकै छ भन्छौं । नेपालको सबै रेडियो थेरापीको कुरा गर्ने हो भने रेडियो थेरापी चितवन र चितवन पूर्वमा मात्र उपलब्ध छ ।

सबैका लागि चितवन सेन्टर भन्छौं, चितवनभन्दा अन्यत्र कतैपनि छैन । यस्ता विषयमा भौगोलिक रुपमै पहिला कहाँ केको आवश्यता हो भन्ने विषयको पहिचान गरी योजना बनाउँनुपर्छ । सेवा सुविधा पु-याउँन र निरन्तरता दिनसक्ने ठाउँमा हुनुपर्छ सबै ठाउँमा रिफरल सेन्टर भएर काम हुँदैन । प्राइमरी रिफरल कहाँ हेर्ने, सेकेन्ड, थर्ड रिफरल कहाँ गर्ने भन्ने योजना बनाउनुप¥यो । योजना मात्र बनाएर हुन्न, व्यवहारमै उतार्नुप-यो । व्यवहारमा उतार्दा राजनीतिक र भौगोलिक रुपमा तालमेल मिलाएर समन्वयात्मक रुपमा अघि बढाउनुपर्छ । अहिले भएका जतिपनि सरकारी र प्राइभेट मेडिकल कलेज छन्, यी सबैको उद्देश्य नागरिकलाई स्वास्थ्य सेवा दिने हो भने राज्यले यी निकायलाई मिलाएर अघि बढाएको खण्डमा नेपालमा स्वास्थ्य सेवाको समस्या समाधान हुन्छ ।

पहिला र अहिलेको स्वास्थ्य सेवामा कस्ता कस्ता चुनौती छन् ?

चुनौती धेरै छन्, नेपालमा सर्वप्रथम दक्ष जनशक्ति चाहिन्छ । त्यो जनशक्ति भनेको चिकित्सक मात्र होइन । चिकित्सकलाई सहयोग गर्ने, नर्सिङ, प्यारामेडिकल, प्रशासन चाहिन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा एकदमै कमजोर अवस्था छ । यसका साथै उपकरण र त्यसको उपयोग गर्ने दक्ष जनशक्ति छैन । यसले गर्दा व्यावहारिक कठिनाइ जटिल बन्दै गएकोछ । सरकारी तहले उपकरण चाहियो भन्दा उपकरण तत्काल आइहाल्ने, उपकरण चलाउने जनशक्ति चाहियो भन्दा सुन्दै नसुन्ने कमजोर स्थिति छ । उपकरणको सही रुपमा प्रयोग हुन नसक्दाको कारणले गर्दा स्वास्थ्य सेवा कमजोर भएकोछ । जुन सरकार बनेपनि यो व्यवस्थालाई सुधार गर्नुको विकल्प छैन । यो निकै ठूलो चुनौतीको विषय हो ।

नेपाली जनशक्ति विदेशिनुको कारण

यसमा दुईवटा कुरा हुन्छ, एमबिबिएस डाक्टकरको कुरा गर्ने हो भने नेपालको अवस्था हेर्र्दा यो अपुग नै छ । जुन अवस्थामा समायोजन, व्यवस्थापन गर्नुपर्ने हो त्यो गर्न सकेको अवस्था छैन । युवाले जुन किसिमले दुःख गरेर पढेर ज्ञान, अनुभव, तालिम, सीप हासिल गरेका छन्, त्यसको सही मूल्यांकन भएकै छैन । एकजना रेडियोलोजिष्ट भौगोलिक विकटतामा गएर काम गर्नका लागि आवश्यक उपकरण, वातावरण, पारिश्रमिक र सुरक्षाको खाँचो छ । एउटा दक्ष जनशक्ति खटिने क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्था हुनुपर्छ अनिमात्र स्वास्थ्य सेवा चुस्त, दुरुस्त हुन्छ र नागरिकले आवश्यकता अनुसारको स्वास्थ्य सेवा पाउँछन् ।

त्यस विषयमा नेपालमा परिकल्पना नै गरिएको छैन, दक्ष जनशक्ति, उपकरण, भौतिक संरचना लगायत हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप र भागबण्डा भैरहेको छ यो नै नेपालको स्वास्थ्य सेवा सुधारको गम्भीर चुनौतीको विषय हो । वर्षौं लगाएर पढ्यो, तालिम लियो, आर्थिक रुपमा उत्तिकै खर्च हुन्छ । त्यसको मूल्यांकन पनि हुन्न र काम गर्ने वातावरण पनि भएन । बर्षौ गरेको लगानीको प्रतिफल पाउँने बेलामा स्वदेशमा आफ्नो क्षमताको काम नपाउने र बल्ल बल्ल काम पाएपनि काम गर्ने वातावरण नहुने र राजनीतिक हस्तक्षेप, कामको मूल्यांकन नहुने प्रवृत्तिका कारण युवा जनशक्ति विदेशिन बाध्य भएका छन् ।

विदेशमा दक्ष जनशक्तिको सम्मान हुन्छ र कामको मूल्यांकन हुने भएका कारण चिकित्सक, नर्स, प्राविधिक ज्ञान र सीप भएका व्यक्ति विदेशतर्फ आकर्षित भएका छन् । यो उनीहरुको आर्थिक, सामाजिक, पारिवारिक जिम्मेवारीले सृजना गरेको बाध्यता हो । यस्ता युवा शक्तिलाई स्वदेशमै टिकाइ राख्नका लागि सरकारले ठोस योजना बनाउनुपर्ने हो । यस कामको लागि सरकारले सरकारी, गैरसरकारी, निजी भनेर विभेद गर्नेभन्दा पनि सबैलाई सँगसँगै हातेमालो गरेर अघि बढ्नका लागि नीति, नियम, कानून बनाएर युवा शक्तिको ज्ञान र सीपका माध्यमबाट स्वास्थ्य सेवालाई चुस्त र दुरुस्त राख्ने पहल गर्नुपर्छ, यो निकै चुनौतीपूर्ण र महत्वपूर्ण काम हो ।

दक्ष जनशक्तिलाई विदेश जानबाट कसरी रोक्ने ?

नेपाल सरकारले युवाको चाहना अनुरुप दक्षताको मापन गर्ने निकायलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गरी पोष्ट ग्राजुयटका लागि नेपालमै वातावरण बनाएको खण्डमा ठूलो धनराशि नेपालमै रहने मात्र नभै युवा शक्तिलाई स्वदेशमै बस्ने अवस्था सृजना हुने थियो । यसको अर्थ जहाँ जहिले, जसले मेडिकल कलेज खोल्न पाउनुपर्छ भन्ने होइन । शैक्षिक वातावरण तयार गर्ने आधार सुनिश्चित गरिनुपर्छ । अहिले नेपालमा पढ्न नपाएका युवा शक्ति चीन, बंगलादेश लगायतका मुलुकमा पुगेका छन् ।

उनीहरुलाई नेपालमै शिक्षा, सेवा, स्वरोजगार दिनसके नेपालको मेडिकल क्षेत्र पर्यटकीय मेडिकल हब समेत बन्नसक्ने थियो । यस्ता विषयमा नेताहरुले चुनावी नारा र घोषणापत्रमा नागरिकलाई झुक्याउने मुद्दाका रुपमा मात्र उल्लेख गर्नु दुःखद विषय हो । नेपालमा चिकित्सा शिक्षा र स्वास्थ्य सुधार निकै चुनौतीको विषय बनेको छ । नेताहरुले समयमै चुनौती मोलेर काम गरेको खण्डमा आगामी दिनमा जनताले अवसर दिनेछन् नत्र उहाँहरुलाई पनि जनताले पाखा लगाउनेछन् भन्ने कुरा भर्खरै सम्पन्न निर्वाचनले प्रमाणित गरेकै छ ।

नेपालको समग्र विकास क्रममा सुस्तता र नैराश्यता पैदा भएसँगै स्वास्थ्य सेवाको विकासमा पनि उत्तिकै चुनौती थपिएको छ । २०७९ वैशाख ३० को स्थानीय निर्वाचनले युवा पुस्तालाई वैदेशिक रोजगारीमा गएर अरुको देश बनाउने र रोगी भएपछि आफ्नो देश फर्केर गुनासो र दुखेसो गर्ने हैन स्वदेशकै विकासका लागि आ–आफ्नो स्थानबाट अग्रसरता लिनलाई हौस्याएको पाइन्छ ।

त्यसैगरी मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा देशका विभिन्न स्थानमा चिकित्सकहरु समेत उम्मेदवार बन्नुले देशको चिन्ता अब शिक्षित र दक्ष व्यक्तिसामु पुगेको भान हुन्छ । चिकित्सा शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा देखिएको तानातानको अवस्थालाई प्रत्यक्ष भोगेका चिकित्सकहरु यतिबेला पेशाको संरक्षणका लागि देशमा नीति–नियम बलियो बन्नुपर्छ । नीति–नियम बनाउँने क्षेत्रमा राजनीतिज्ञहरुले खेलबाड गरे । एउटै कामका लागि आम नागरिकले पटक–पटक अड्डा धाउनुपर्ने बाध्यताको न्यूनीकरणका लागि र नीति र कानूनको सम्मान गर्ने देशका रुपमा नेपाललाई चिनाई आफ्नै देशमा आत्मनिर्भरताको वातावरणको खोजीमा चिकित्सक, इन्जिनियर, व्यसायीहरुले निर्वाचनमा प्रत्यक्ष भाग लिएर परिणाम समेत सकारात्मक ल्याएको अवस्थाले स्वास्थ्यमा देखापरेका समस्याको समाधानका लागि लड्नुपर्ने थुप्रै चुनौती औल्याएका छन् ।

नयाँ सरकार नयाँ अपेक्षा
चुनावी मैदानमा होमिने केहीले राजनीतिक दलबाट नै टिकट पाएका थिए भने केही स्वतन्त्र उम्मेदवार बनेका थिए । यी सबैको उद्देश्य नेपालको स्वास्थ्य, शिक्षा र नागरिकको नैसर्गिक अधिकारको रक्षाका लागि लड्ने भन्ने नै नारा थियो । कतिले विजय हासिल गरे कतिले पराजय पनि भोग्नुपरेको अवस्था छ । अब विजेताहरुले घोषणापत्रमा उल्लेख गरे अनुरुप काम गर्नुगराउनु र नीति निमार्णका तहमा महत्वपूर्ण भूमिका खेलेर दस्तावेजका रुपमा स्थापित गर्नु अर्को चुनौतीको विषय बनेको छ । यति मात्र नभै बनेको कानूनलाई व्यवहारमा उतार्नु र सहज बनाउनु अर्को चुनौतीको विषय हो ।

(डा. प्रशिख नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका रेडिसनोलोजी विभागका प्रमुख, सिनियर कन्सल्टट्यान्ट, अस्पतालका सल्लाहकार तथा भरतपुर क्यान्सर अस्पतालका पूर्व अध्यक्ष हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्