फर्केर हेर्दा

अवार्ड र सम्मानको ओइरो



काठमाडौं ।

वर्ष २०८०मा कला, संगीत र फिल्मी क्षेत्रमा के के भयो? संगीत र फिल्म क्षेत्रमा के कस्ता समस्या आए? कस्ता कस्ता विवाद भए? को को कलाकार के विषयमा प्रहरी पक्राउ परे? यी तमाम विषयमा नेपाल समाचारपत्रको शुक्रबार र आइतबारको अंकमा विस्तृतमा पढिसक्नुभयो। यहाँ तीबाहेक वर्ष २०८० मा कला र फिल्म क्षेत्रमा के के भयो त्यसलाई फर्केर हेर्ने प्रयास गरिएको छ।

मनोरञ्जनको क्षेत्रमा वर्ष २०८० मा सबैभन्दा धेरै गतिविधि अवार्ड र सम्मान कार्यक्रमको देखियो। नेपाली संगीत र फिल्मका लागि भन्दै सातैपिच्छेजसो अवार्ड र सम्मानका कार्यक्रम भइरहे। धेरैजसो यस्ता कार्यक्रम केवल कार्यक्रमका लागि गरेको पाइयो। यहाँ चाहिँ त्यस्ता कार्यक्रमलाई फर्केर हेरिएको छ, जुन चर्चा गर्न र सम्झनलायक छन्।

नेपाली गीत संगीत अवार्डकै क्षेत्रमा महत्वपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ वैशाख तेस्रो साता सम्पन्न भयो। गीत संगीतमा अमूल्य योगदान पुर्‍याएबापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाखसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९, नगद ५० हजारसहित गायिका सुकमित गुरुङलाई विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ र लोकगायक झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोक संगीत सम्मान २०७९ बाट नगद २५ हजारसहित लोकगायक बद्री पंगेनीलाई सम्मान गरियो।

२०७९ सालमा बजारमा आएका गीत संगीतका विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज संगीत रत्न सम्मान २०७९ गायक तथा संगीतकार भविन ढुंगाना र विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजारसहित नरेश भट्टराईलाई प्रदान गरिएको थियो।

असार तेस्रो साता छायाँ छवि क्रियसनको आयोजनामा डी सिने अवार्डको १३औं र चौधौं संस्करण राजधानीमा सम्पन्न भयो। कोभिड १९ का कारण रोकिएका दुई वर्षका अवार्ड समारोहमा निर्माता तथा अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलालाई छायाँ छवि रजत सम्मानबाट सम्मानित गरियो।

त्यसैगरी, फिल्म पत्रकार कुवेर गिरीलाई नगदसहित छायाँ छवि फिल्म पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने समारोहमा १३औं संस्करणअन्तर्गत २०७७ सालमा प्रदर्शनमा आएका सात फिल्मबाट विभिन्न पाँच विधामा अवार्ड प्रदान गरिएको थियो। त्यसैगरी, चौधौं संस्करणको डी सिने अवार्ड २०७८ अन्तर्गत १३ विधामा अवार्ड प्रदान गरिएको थियो।

नेपाली कलाकारलाई लिएर नेपालमै खिचिएको नेपाली भाषाको पहिलो फिल्म आमाका अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालद्वारा स्थापित भुवन चैत्य वसुन्धारा फाउन्डेसनले राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकर्मीहरूलाई पुरस्कार प्रदान गरेकी थिइन्।

समारोहमा गीतकार, निर्माता तथा निर्देशक यादव खरेल र गीतकार, निर्माता निर्देशक तथा अभिनेता नीर शाहलाई क्रमशः २०७९ र २०८० सालको हरिश भुवन चन्द पुरस्कारबाट पुरस्कृत गरियो। संगीतकार गणेश रसिक र अभिनेता शिव श्रेष्ठलाई क्रमशः २०७९ र २०८० सालको चैत्यदेवी सिंह पुरस्कारबाट पुरस्कृत गरियो। त्यस्तै, अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई क्रमशः २०७९ र २०८० सालको चेतनारायण वसुन्धरा भुसाल पुरस्कारबाट पुरस्कृत गरियो। पुरस्कृत सम्पूर्ण कलाकर्मीलाई जनही ५१ हजार प्रदान गरिएको थियो।

असोज तेस्रो साता ख्यातिप्राप्त लोक गायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो। सहारा ग्रुप पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० मा थापालाई नगद १७ हजार ६ सय ९६ रुपियाँसहित सम्मान गरिएको हो। कार्यक्रममा पत्रकार अनन्त वाग्लेलाई नगद आठ हजार आठ सय ४८ रुपियाँसहित सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट सम्मान गरिएको थियो भने सगरमाथा रेडियो पत्रकारिता सम्मान विजन दुवाडीलाई, संगीतकार राजकुमार बगरलाई सगरमाथा संगीत साधना सम्मान र व्यवसायी शम्भु श्रेष्ठलाई सगरमाथा सम्मान प्रदान गरिएको थियो।

पुस दोस्रो साता विलक्षण क्रियसनको व्यवस्थापनमा क्वालिटी फिल्म्स् प्रालिद्वारा मलेसियामा आयोजित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड राजधानीको राष्ट्रिय नाचघरमा समापन गरिएको थियो। तेस्रो संस्करणको अवार्ड कार्यक्रममा नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरीलाई रजत चलचित्र पत्रकारिता पुरस्कार, निर्देशक सुचित्रा श्रेष्ठलाई रजत कलाकारिता सम्मान, सञ्चारकर्मीहरू गोपीकृष्ण चापागाईं, गीता अधिकारी, रेणुका ढकाल, गायक लोकेन तामाङ, फेसन डिजाइनर दिलमाया मगर र समाजसेवी मुना लिम्बूलाई विशेष सम्मान गरिएको थियो।

माघ तेस्रो साता नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिएको छ। नातिकाजी स्मृति समाजद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले संगीत साधक नातिकाजीको ९९औं जन्मजयन्तीको अवसर पारेर घोषणा भएको सम्मान तथा पुरस्कार विभिन्न कलाकर्मीलाई प्रदान गरेका थिए।

कार्यक्रममा गीत रचनातर्फको नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल, गीत रचनातर्फ सुनील थापा, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बू, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापाले प्राप्त गरेका थिए।

त्यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटीलाई प्रदान गरिएको थियो। नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशिविक्रम थापा तथा गीत रेकर्डिस्ट प्रकाश मिश्रले प्राप्त गरे। सोही अवसमा नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार लोकगायक अमृत खातीलाई दिइयो भने नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार पत्रकारद्वय कृष्ण भट्टराई र शान्तिप्रियले प्राप्त गरे।

फागुन पहिलो हप्ता चलचित्र पत्रकार संघ नेपालद्वारा हेटौंडामा आयोजित प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भयो। हेटौंडा उपमहानारपालिकाकी प्रमुख मीनाकुमारी लामाद्वारा आरम्भ गरिएको कार्यक्रम वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समापन गरेका थिए। चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको समन्वय र व्यवस्थापनमा भएको कार्यक्रममा फिल्म सम्बद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागितामा चलचित्र पत्रकारलाई विभिन्न तालिम प्रदान गरिएको थियो।

देशभरबाट करिब एक सय ५० भन्दा बढी पत्रकार तथा फिल्मकर्मी भेला भएका थिए। संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा आयोजित भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका ११ सेसन सञ्चालन भएको भेलापछि संघले १३ बुँदे घोषणापत्र जारी गरेको थियो।

फागुन तेस्रो साता इन्टरनेसनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आईएनएनएफ) ले पाँच दशकसम्म नेपाली फिल्म कलाको क्षेत्रमा योगदान पुर्‍याएका कलाकर्मीलाई चलचित्र स्वर्णिम सम्मान–२०८० बाट सम्मान गर्‍यो। आईएनएनएफले राजधानीमा आयोजना गरेको प्रथम साधारणसभाको अवसरमा नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई योगदानको कदरस्वरुप राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान गरेका हुन्। कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको थियो।

नेपाली फिल्ममा योगदान पुर्‍याउँदै आएका सात महिला फिल्मकर्मी तथा पत्रकारलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजधानीमा एक कार्यक्रमबीच सम्मान गरिएको छ। चलचित्र विकास बोर्डद्वार बोर्डकै कार्यलयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अभिनेत्रीहरू केकी अधिकारी, प्रियंका कार्की र सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल र पत्रकार सारदा थापालाई जनही नगद २५ हजारसहित सम्मान गरेकी थिइन्। सोही अवसरमा फिल्ममा नारी विषयमा दुई संवाद गरी अनुभव आदानप्रदान गरिएको थियो। संवादमा पुराना फिल्मकर्मी गौरी मल्ल, झरना थापा, केकी अधिकारी, निर्देशक रक्षासिंह राणा सहभागी भएका थिए भने संवादको सहजीकरण पत्रकार शारदा थापाले गरेकी थिइन्।

अन्य स्थानको हकमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय र राजस्व कार्यालय नभएको जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने, विद्युतीय प्रणालीबाट टिकट जारी गरी केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीको सर्भरसँग लिंक गर्नुपर्ने व्यवस्था गरेको थियो। तोकिएको समयमा विद्युतीय प्रणाली जडान तथा केन्द्रीय सर्भरस“ग लिंक नगरी टिकट जारी गरेको पाइएमा टिकटबाट प्राप्त रकमको पहिलोपटकका लागि शतप्रतिशत र एकपटक भन्दा बढीका लागि दुई सय प्रतिशत जरिवाना गरिने व्यवस्था गरिएको थियो।

सिनेमाघरले प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेसम्म दाखिला गर्नुपर्ने, तोकेको समयमा दाखिल नगर्नेलाई २५ प्रतिशत जरिवाना गरिने व्यवस्था विधेयकमा छ। चलचित्र विकास बोर्डमा बुझाउनुपर्ने रकम बक्सअफिस प्रणालीबाट समेत पठाउनुपर्ने व्यवस्था गरिएको छ।

सिनेमा घरले फिल्म प्रदर्शन गरी नगरेको वा विदेशी फिल्म प्रदर्शन गरी स्वदेशी फिल्म प्रदर्शन गरेको भन्दै झुटा विवरण पेस गरे पहिलोपटक शतप्रतिशत र दोस्रोपटक वा सोभन्दा बढी जतिपटक भए पनि दुई सय प्रतिशत जरिवाना तिराइने विधेयकमा उल्लेख छ। त्यस्तै, तोकिएको समय व्यतित दुई महिनासम्म जरिवानासहित शुल्क नबुझाउने सिनेमाघर बन्द गरी शुल्क र जरिवाना तिराइने व्यवस्था गरिएको थियो।

समयमा विवरण पेस नगरे प्रतिमहिना एक हजार जरिवानासमेत तिराइने भएको छ। कारणवश सात दिन वा त्योभन्दा बढी हल बन्द भएको प्रमाणित गरे सिनेमाघरले त्यो अवधिको चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन। विद्यार्थीको सहुलियतका लागि शनिबार र सार्वजनिक बिदाको दिन बिहान आठ बजेको फिल्म प्रदर्शनमा चलचित्र विकास शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि विधेयकले गरेको थियो।

६ दशक लामो इतिहास बोकेको फिल्म क्षेत्रलाई सरकारले दुई वर्षअघि नै उद्योगको मान्यता दिए पनि उद्योगको रूपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत पाउन सकेन। सरकारले फिल्म उद्योगलाई बजेटमा उपेक्षा गरेको भन्दै फिल्म सम्बद्ध संघसंस्थाले चर्को विरोध गरेका थिए। चलचित्र पत्रकार संघ नेपालद्वारा राजधानीमा आयोजित बजेटमा चलचित्र उद्योग शीर्षकको अन्तरक्रिया कार्यक्रममा नेपाली फिल्म सम्बद्ध संघसंस्थाका पदाधिकारीले सरकार फिल्म उद्योगप्रतिको दायित्वबाट पन्छिएको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्