सत्यमोहन जोशीको गुणानुस्मरण गर्दै हाजिर जवाफ सम्पन्न

0
Shares

ललितपुर ।

श्री शान्ति मा.वि लोल ललितपुरले सत्यमोहन जोशी अन्तर विद्यालय रनिङशिल्ड हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

माविले यसपटक स्वर्गीय सत्यमोहन जोशीको गुणानुस्मरण गर्दै सोमबार सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा श्रमिक शान्ति माध्यमिक विद्यालयले प्रथम,पदमप्रकाश माध्यमिक विद्यालय दोस्रो र मोतिबिनायक आधारभूत विद्यालयले तेस्रो स्थान हासिल गरेको थियो ।

मदन स्मारक माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार पाएको थियो । सो अवसरमा विद्यालय सल्लाहकार समितिका अध्यक्ष एवं ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अजरमान जोशीले सर्वोकृष्ट तीन स्थान हासिल गर्ने र सान्त्वना हुनेलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा अध्यक्ष जोशीले वाङमय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको जीवन, व्यक्तित्व, कृति र चिन्तन अहिलेका पुस्ताको लागि प्ररेणादायी रहेको उल्लेख गर्दै यस प्रतियोगिताले उहाँको योगदानलाई सम्झाइरहने धारणा राख्नुभयो।
उहाँको भौतिक शरीर नरहेपनि गरेका कर्म र भाषा, साहित्य, संस्कृतिमा गर्नुभएको योगदानका कारण हाम्रो माझ सदैव जिवित रहीरहने पनि अध्यक्ष जोशीको भनाई थियो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक हरिदेव यादवले आफ्ना संस्थापकको नाममा यो रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्न पाउनु अहोभाग्य भएको बताउनुभयो ।

समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ललितपुर महानगरपालिका– ८ का वडाअध्यक्ष बाबुरत्न महर्जनलेबिगत दुई वर्ष कोरोनाको कारणले प्रतियोगिता आयोजना गर्न नसकेको जानकारी गराउँदै आगामी दिनमा यसको निरन्तरताको लागि वडाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा शताब्दी पुरुषका जेठो छोरा अनुराज जोशी, ब्यवस्थापन समितिका सदस्य विजय महर्जन, विजय अवाले लगायत उपस्थित रहेको थियो ।वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी अवसरमा तीन वर्ष अघि पहिलो पटक सो प्रतियोगिता आयोजना गरेको थियो । २००७ सालमा स्थापित सो विद्यालयका संस्थापक मध्ये एक स्वर्गीय जोशी पनि हुनुहुन्थ्यो ।