मतदानको दिन



आज आमनिर्वाचनको दिन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज मंसीर ४ गते चुनाव हुँदैछ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकेको छ । गत बिहीबार मध्यरातसम्म निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारहरुले माइक बजाएर र मिडिया रंग्याएर चुनाव प्रचार गरे ।

निर्वाचनप्रति आम जनतामा अपेक्षित उत्साह नदेखिए पनि सामान्य उत्साह नभएको भने होइन । तर स्थिर समय वा मौन अवधि सुरु भएपछि बिहीबार मध्यरातदेखि प्रचार–प्रसार शून्यको स्थिति छ । निर्वाचन आयोगले आफूलाई विगत वर्षहरुमा भन्दा बढी सशक्त बनाएको र आचारसंहितामा कडाइ गरेका कारण निर्वाचनको प्रचारवाजीमा हुने फोहोरी अभ्यास घटेको छ । भित्तेलेखन र पर्चा वितरणमा देखिएको नियन्त्रणले नगरहरु फोहोर हुनबाट बचेका छन् ।

आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक र अनुगमनकर्ता लगायतका सवारी साधनका लागि अनुमति लिनु नपर्ने व्यवस्था गरेर नीति र अभ्यासमा समयसापेक्ष परिवर्तन ल्याएको छ । उनीहरूले परिचयपत्रका आधारमा सवारी साधन चलाउन पाउने भएका छन् । आयोगले मतदानलाई असर नपर्ने गरी अन्य सवारी साधन सञ्चालनको व्यवस्था गर्न पनि सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बुझिएको छ ।

आयोगबाट स्वीकृत मापदण्ड बमोजिम निर्वाचन स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकिएका अधिकारीहरूलाई समयमै निर्देशन दियो भने जिल्ला अधिकारीहरुले पनि सवारी सञ्चालनका विषयमा निर्देशिका बनाई सार्वजनिक गरे ।

प्रमुख जिल्ला अधिकारीले व्यवस्था मिलाउन सके आम व्यक्तिका लागि सार्वजनिक सवारी साधन समेत चलाउन सकिने अवस्था देखियो । यसलाई समयसापेक्ष सुधारका रुपमा लिइनुपर्दछ । आचारसंहिताको पालना गर्ने–गराउने कार्यमा पनि निर्वाचन आयोग यस पटक निकै सक्रिय देखियो । खासगरी मौन अवधिमा यसको सीमा उल्लंघन गर्ने व्यक्ति वा संस्थाहरु कारबाहीमा परे । आयोगले मौन अवधिमा हुने निर्वाचन आचारसंहिता विपरीतका गतिविधि रोक्न विशेष टोली परिचालन गरेको देखियो ।

निर्वाचन अनुगमन टोली, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले सूक्ष्म अनुगमन गरिरहेको आयोगले जानकारी गराएपनि मौन अवधिको उल्लंघन भने ठाउँ–ठाउँबाट भएको पाइयो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका सूचनालाई पनि आयोगले हेरिरहेको भनिएता पनि मौन अवधिमा यसको दुरुपयोग भयो ।

लोकतान्त्रिक व्यवस्था सबल बनाउने र यसलाई जीवनको अंग स्वीकार गर्नेहो भने हरेक नागरिकले निर्वाचनमा भाग लिएर आफ्नो मताधिकार प्रयोग गर्नैपर्दछ । यस निर्वाचनमा आम जनताले अपेक्षित रुपमा जुन उत्साह देखाउनुपर्ने थियो, त्यो देखाउन नसकेको चित्र जो बाहिर आएको छ, यसलाई सबैले गम्भीर रुपमा लिनुपर्दछ । लोकतन्त्रको मेरुदण्डमै प्रहार हुनु सामान्य विषय होइन ।

यसो हुनुमा हाम्रा राजनीतिक दल र उम्मेदवार दोषी रहेको विश्लेषण पनि बाहिर आइरहेको छ । त्यसैले मतदाताहरुले अत्यन्त विवेक पु¥याएर मतदान गर्नुछ । मतदान गर्दा बहकिने र पछि पछुताउने कार्यले लोकतन्त्रलाई बलियो बनाउने छैन । यसर्थ, नेपालीले आफ्नो राजनीतिक पर्वलाई उच्च सम्मानका साथ मनाउनु छ ।

प्रतिक्रिया दिनुहोस्