स्वास्थ्य सुरक्षामा लापर्बाही



विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि विकास गरिएको खोपले धेरै हदसम्म नियन्त्रण भए पनि निर्मूल हुन अझै सकेको छैन । नेपालमा अझै पनि कोरोना संक्रमित हुने घटना रोकिएको छैन । कोरोनाविरुद्ध विकसित गरिएको खोपले कति काम गर्छ भन्ने यकिनसमेत भइसकेको छैन । नेपालमा कोरोना संक्रमणका घटना नरोकिए पनि आम नेपालीले भने यसको पालना गरेको पाइँदैन ।

सरकारले कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन आग्रह गरे पनि यसको परिपालना भएको पाइँदैन । आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी सरकारले भीडभाडमा जाँदा सावधानी अपनाउन आग्रह गरे पनि नेतादेखि कार्यकर्ताले समेत यसको परिपालना नगर्नुलाई दुःखद पक्ष मान्नु पर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिरहँदा देशको नीति निर्माण तहमा पुग्ने निर्वाचनको प्रचार प्रसारमा घरदैलो अभियान, आमसभा, कोणसभाजस्ता भेला जमघटमा जुटेका नेता, कार्यकर्ता, सर्वसाधारणलाई स्वास्थ्य मन्त्रालयले नै मापदण्डको पालना गर्न सम्झाउनुपर्ने अवस्था आउनु अर्को दुर्भाग्यको हो । यस्ता विषयमा स्वयम नेता र कार्यकर्ता सचेत भई नागरिकलाई समेत स्वास्थ्य सुरक्षाको सन्देश फैलाउनु पर्नेमा नेताहरूले यसको पालना गरेको देखिँदैन ।

नेता, कार्यकर्ताले जनताको घरआँगनमा अरूबेला पुगेर सन्देश दिन नसके पनि चुनावका बेला भोट माग्न जाँदा माक्स लगाएर जाँदा सकारात्मक सन्देश पुग्ने थियो त्यसो गरेको समेत पाइँदैन । देश र जनताले चाहेको पनि स्वस्थ र स्वच्छ छवि भएको देशका लागि इमान्दारितापूर्वक काम गरी नागरिकको समस्यामा साथ दिनु पर्ने नेताहरू नै हो । त्यसैले नेताले नियम कानुनको पालना नगर्ने र जनताबाट मात्र अपेक्षा गर्ने हो भने मुलुक कहिले बन्छ यो अहिले बहसको विषय बनेको छ ।

निर्वाचन केन्द्रित कार्यक्रममा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्न सक्छ । देशमा कोभिड संक्रमण दर उच्च नभए पनि संक्रमणको अवस्था कायमै रहेकाले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोग पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावनालाई ध्यानमा राखी सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले गरेको आग्रह समयसापेक्ष भएकाले सबैले पालना गरी स्वस्थ नागरिकको पहिचानसहित मतदानमा भाग लिनु बुद्धिमानी हुनेछ ।

कोभिड–१९ को संक्रमण घटे पनि जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावना रहेको विश्व स्वास्थ्य संगठनले बारम्बार चेतावनी दिँदै सावधानी अपनाउन विश्वको ध्यानाकर्षण गराइरहेको छ । यो अवस्थालाई नेपालजस्ता मुलुकहरूले बेवास्ता गर्नुले विगतमा जस्तै मानवीय क्षति नहोला भन्न सकिँदैन । नेपालमा यतिबेला कोभिड १९ मात्र नभएर डेंगुको महामारी फैलिएर ५ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य सुरक्षाका दृष्टिकोणले लामखुट्टेको टोकाइका कारण डेंगु भएर मृत्यु भएका पीडादायी घटनालाई मध्यनजर गर्दै आफू र नागरिकको स्वास्थ्य सुरक्षाका विषयमा नेतागणको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्