चोभारमा सबस्टेसन



राज्य वा सरकारले चाहेका विकास–निर्माणमा स्थानीय जनता कहिल्यै अवरोधक हुँदैनन् भन्ने पछिल्लो प्रमाण बनेको छ काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारमा बन्ने १ सय ३२ केभीको सबस्टेसन । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२-११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अघि बढाएको तर स्थानीय बासिन्दाले अवरोध गरेको भन्दै स्थानीय नागरिक विकास विरोधी पो हुन् कि भन्नेजस्तो प्रस्तुति गर्नेगरिएकोमा त्यस प्रकारको भनाइ सत्य नभएको आइतबार पुष्टि भएको छ ।

हिमाल सिमेन्टको स्वामित्वको उक्त स्थानलाई स्थानीयले खेल मैदानको रुपमा प्रयोग गदैआएका छन् । स्थानीयले केबल आफ्नो खेल मैदानको सुरक्षा मात्र चाहेका थिए । विकास–निर्माण नहोस् भन्ने उनीहरुको मनशाय थिएन । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेपछि स्थानीयलाई आक्षेप लगाउने काम भएको थियो । प्राधिकरणले सर्वे, माटो परीक्षण, डिजाइनजस्ता निर्माण पूर्वका प्रारम्भिक काम सकिएको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस स्थानको विकल्पमा अन्य ठाउँमा सबस्टेसन सार्न नसकिने प्रष्ट पार्दै आएको थियो ।

कीर्तिपुर नगरपालिकाका मेयर, उपमेयर, प्राधिकरणका कार्यकारी निर्देशक, वडाध्यक्ष, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र स्थानीय प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माण अघि बढाउने निर्णय गरेपछि विवाद टुंगिएको छ । प्राधिकरणले स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने अर्थात् अन्यत्र खेलमैदान बनाइदिने भएको छ । त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ ।

विद्युत आपूर्तिको आवश्यकतालाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको बताइएको छ । वास्तवमा काठमाडौं उपत्यका विशेषतः कीर्तिपुर तथा आसपासका क्षेत्रमा विद्युतको मागलाई सम्बोधन गर्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन चोभार सबस्टेसन ज्यादै महत्वपूर्ण छ । यस्ता सबस्टेसन बनाउन सकिएन भने केही वर्षमा विद्युत उपलब्ध भएर पनि प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने हुन्छ ।

काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा ललितपुरको खोकना, बुङमती, हरिसिद्धी र लामाटार क्षेत्रमा विवाद छ । स्थानीय बासिन्दाले अवरोध गरेको भनिए पनि वास्तवमा स्थानीयको मागप्रतिको बेवास्ता अवरोधको कारण हो । अवरोधका कारण प्रसारण लाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पको रुपमा चोभारमा सबस्टेसन निर्माण अघि बढाएको हो । थानकोटबाट चोभारसम्मको काठमाडौं खण्ड र भक्तपुरतर्फको निर्माण भने सकिएको बताइन्छ ।

एशियाली विकास बैंंकको काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामार्फत् प्राप्त हुने सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गर्न लागिएको देखिन्छ । विकास निर्माणका लागि स्थानीयको मन जित्नु आवश्यक छ । त्यसैले कुनै विकास–निर्माणका लागि पूर्वाधार अध्ययन आवश्यक हुन्छ । प्रायः सरकारले माथिबाट निर्णय थोपर्ने, स्थानीय जनताको चाहना ख्याल नगर्ने भएका कारण विवादहरु देखिन्छन् । वास्तविक अर्थमा स्थानीय नागरिक विकास विरोधी हुँदैनन्, हुन सक्तैनन् ।

प्रतिक्रिया दिनुहोस्