पाँच दिनदेखि युवती बेपत्ता

ड्रोन र तालिम प्राप्त कुकुरद्वारा खोजी कार्य जारी

0
Shares

ललितपुर । 

पाँच दिनअघि ललितपुरको धोबीघाटबाट हराएकी युवती खोज्न ललितपुरमा दर्जनौं प्रहरी परिचालन भएका छन् । ६ गते बेलुकी ७ बजे ललितपुरको बल्खुबाट चोभारको वागमती नदीबाट हराएकी ३० वर्षीया जेरुसा राईको अत्तोपत्तो छैन ।

जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा दर्जनौं स्थानमा खोजी जारी राखेको छ । डिप्रेसनको औषधि सेवन गरिरहेकी जेरुसाले आमा चम्पा घिमिरे र आफैंलाई सम्बोधन गरी सुसाइट नोट लेखेर घर छाडेकी थिइन् ।जेरुसाले सुसाइट नोटमा लेखेकी छन्– ‘आमा तपाईंको कुनै गल्ती छैन, तपाईले आफ्नो टेक केयर आफैंले गर्नुहोला । मेरो जीवन राम्रो छ तर अहिलेको समय मलाई जानु छ । मलाई माफ गरिदिनुहोला लभ जेरुसा, वागमती खोला, पिन नम्बर ५५२० ।’ ६ गते रातभर चोभारको वागमती वरपर खोजे पनि फेला नपरेकी जेरुसाका आमा चम्पाले ७ गते जिल्ला प्रहरी परिसर

ललितपुरमा जाहेरी दिनुभएको थियो । ‘हेर्नु न बाबु, यतिका दिन भइसक्यो मेरी छोरी जेरुसालाई भेट्न सकेको छैन, ललितपुरको पूरै प्रहरीले खोज्दा पनि छोरीको अत्तोपत्तो छैन’ –आमा चम्पाले भन्नुभयो ।छोरीको खोजी गर्न चम्पा हरेक दिन चोभारको गल्छी पुलछेउ पुग्ने गर्नुभएको छ ।

बाटोमा हिँड्ने सबैलाई छोरी खोजिदिन आग्रह गर्ने गर्नुभएको छ । प्रहरी परिसर जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले शंका लागेका सबै क्षेत्रमा प्रहरी परिचालन गरी खोजी जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आमा र जेरुसाका साथीले भनेका सबै ठाउँमा टोली परिचालन गरी तत्काल खोजी गर्ने गरेका छौं । विशेष गरी कीर्तिपुर वृत्त, ललितपुरको सानेपा र बुंगमती प्रभागका सबै टोली जेरुसा खोज्न लागिपरेका छन् ।’

महानगरीय प्रहरी प्रभाग बुंगमतीका प्रहरी निरीक्षक रमेश विष्टले चार दिनको बीचमा टौदह, कटुवालदह, ललितपुरका डुकुछाप, फर्सीडोल, बुंगमती, खोकना, चुनिखेल, भैंसेपाटीलगायत क्षेत्रमा खोजी भइरहेको बताउनुभयो । प्रहरीले ती क्षेत्रका सीसीटिभी फुटेज हेरेका छन् ।

प्रहरीको तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्यलाई तीव्र पारेको जनाएको छ । ‘हामीले दैनिकजसो कुकुर प्रयोग गरेका छौं’ –परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शाहीले नेपाल समाचारपत्रसँग भन्नुभयो । प्रहरीले ७ गतेदेखि चोभारलगायत वागमती खोला क्षेत्रमा रातीको गस्तीलाई तीव्र बनाएको छ ।

‘आज बिहान चोभार पुगेकी थिएँ’, सोमबार जेरुसाकी आमा चम्पाले बाटोमा मर्निङवाक गर्नेलाई आग्रह गर्नुभएको थियो– ‘बाबु मेरी छोरी जेरुसालाई खोजिदिनुस् है ।’ त्यसै बेला एउटा टोलीलाई सोही आग्रह सादा पोसाकमा खटिएको प्रहरी रहेछन् उनीहरूले भने– ‘हामी त चार दिनदेखि यही क्षेत्रमा लागेका छौं । सबैको सहयोग पाएका छांै ।’

जेरुसा हराएपछि आमा चम्पाले प्रहरीमा पत्राचार गर्नुभएको थियो । जेनिसा हराएको विषयमा आफन्तले ललितपुर महानगरपालिका १८, २५, २१ र २२ का विभिन्न क्षेत्रमा पोस्टर टाँसेर जेनिसा खोज्न आग्रह गरिएको छ । यहाँसम्म कि जेरुसाको साथीले ड्रोनले खोजी कार्यलाई तीव्रता दिएका छन् । अमेरिका बस्ने जेरुसा करिब एक महिनाअघि नेपाल आएकी थिइन् ।
युवामाझ गायन क्षेत्रमा पोख्त राईले बारुदको बोल गीतले युवामाझ चर्चाको शिखरमा पु-याएको छ । केही वर्ष बेलायत बसेपछि अमेरिका पुगेकी राईको लोकप्रियता सुनेर सयाैं साथीहरूले आशंंका लागेका सबै क्षेत्रमा प्रहरीको सहयोगले ड्रोनबाट खोजी जारी राखेको छ । जेरुसालाई खोजी गर्न स्वदेश र विदेशका साथीले प्रहरीलाई पटकपटक आग्रह गरिरहेका छन् ।

सोमबार चाल्नाखेल, फर्पिङ र दक्षिणकाली क्षेत्रमा खोजी जारी राखेका छन् । प्रहरी प्रभाग सानेपाका प्रमुख प्रहरी निरीक्षकउमेश गुरुङले जेरुसाका आफन्त र साथीको सहयोगमा खोजी कार्य जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जेरुसाका साथी र आफन्तले यो ठाउँमा हुन सक्ने आशंका छ भन्नासाथ हामीले सोही क्षेत्रमा खोजी कार्य गरिरहेका छाैं ।’केही दिनअघि म र छोरी जेरुसालाई डेंगु भएको थियो । हामी घरमै आराम गरिरहेका थियौं । डेंगु लागेको बेला डिप्रेसनको औषधि नखाएका कारण झन् काम गर्न समस्या भएपछि घर छाडेर सुसाइट नोट लेखी बेपत्ता भएकी थिइन् ।

‘दुवै जनालाई डेंगु भएको थियो, मैले त छोरी जेरुसा तिमीले डिप्रेसनको औषधि खायौ भन्दा खाएँ आमा भन्थी, आखिरीमा औषधिको भाँडा मात्र देखाएर नखाने बानी परेको थियो’ –जेरुसाको पछिल्लो अवस्थाबारे उहाँले भन्नुभयो । उहाँले जसरी भए पनि छोरी खोजिदिन प्रहरी, साथीभाइलगायत सबैलाई अनुरोध गरिसकेको बताउनुभयो ।