नेपालको साफ जित्ने सपना अधुरो रह्यो

0
Shares

काठमाडौं । 

अनिता बस्नेतको गोलले दशरथ रंगशालामा ल्याएको तरंगले पनि नेपाली महिला फुटबल टोलीको लागि उपाधि जित्न कुनै सहयोग गर्न सकेन । पहिलो हाफमा २–० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा एक गोल फर्काएर खेलमा फर्किन कोसिस ग-यो । तर, बंगलादेशबाट फेरि अर्को गोल थपेपछि भने नेपालको महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने सपना तुहियो । सोमबार वर्षाले पटक पटक बाधा तुल्याएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित हुन पुग्यो ।

योसँगै नेपालले साफ च्याम्पियनसिपमा पहिलो उपाधि उचाल्ने सपना अधुरो रहेको छ । नेपालले यो प्रतियोगिता शुरु भएदेखि लगातार सहभागिता जनाउँदै आएको छ । सन् २०१० मा पहिलो संस्करणमै नेपाल फाइनलमा पुगेको थियो । यो समेत नेपालले यस प्रतियोगितामा पाँच पटक फाइनल खेलेको छ । तर, नेपालले उपाधि भने हात पार्न सकेको छैन । चार पटक (२०१०, २०१२, २०१४ र २०१९) नेपाल फाइनलमा भारतसँग पराजित भएको छ । यसपटक भने भारत फाइनलमा नआएपनि नेपाल आफ्नै घरेलु मैदानमा करिब १५ हजार घरेलु दर्शकको सामु फाइनलमा निरास बन्नु प-यो ।

घरेलु दर्शकको समर्थन पाएको नेपालले शुरुवातमै गोल बेहोर्न पुग्यो । यहीबाट नै नेपालको साफको ट्रफी उचाल्ने लक्ष्य कमजोर बनेको थियो । १४ औं मिनेटमा परिवर्तित खेलाडी शमसुनाहारले गोल गरेर नेपाललाई १–० ले पछि पारेकी हुन् । दायाँ विंगबाट मोनिका चक्माले गरेको क्रसमा वान टचमै गोल गरेकी हुन् । शमसुनाहार १० औं मिनेटमै मोसमत सोप्नाको स्थानमा आएकी हुन् ।

नेपालको लागि ३६ औं मिनेटमा गोल गर्ने अवसर आएको थियो । डिबक्स बाहिर पाएको फ्रिकिक प्रहारमा नेपाल बराबरी गोल गर्न चुकेको थियो । अनिता बस्नेतले गरेको सानदार फ्रिकिक प्रहारलाई बंगलादेशकी गोलरक्षक रुपना चक्माले फुर्तिका साथ पन्च गरी बचाएकी थिइन् । उक्त बल कर्नर भएपछि कर्नर प्रहारमा पनि नेपालले गोल गर्ने अवसरमा बंगलादेशकी डिफेन्डर तगारो बनिदिइन् । पोलमा ठोकेर गोल लाइनमा पुगिसकेको बललाई डिफेन्डरले क्लियर गरिदिएकी थिइन् ।

४१ औं मिनेटमा बंगलादेशको लागि कृष्णा रानी सरकारले गोल गरेकी थिइन् । सामसुनाहारले बल बंगलादेशकी कप्तान सविना खातुनलाई सप्लाई गरिन् । त्यसपछि बायाँ विंगमा नेपाली खेलाडी कोही नभएको अवस्थामा उनले त्यतै तिर बल क्रस गरिन् । कृष्णा दौडेर बलसम्म पुगेर प्रहार गरेको बलले जाली चुमेको थियो । उनको प्रहारलाई नेपालकी गोलरक्षक एन्जिलाको लागि बचाउने कुनै मौका नै भएन । जबकी अरु खेलाडी अफसाइड भनेर निष्क्रिय बनिदिएका थिए ।

सावित्राको प्रवेश

२–० ले पछि परेको अवस्थामा नेपालका प्रशिक्षक कुमार थापाले गोल मेसिन उपनाम पाएकी सावित्रा भण्डारीलाई दोस्रो हाफमा मैदानमा उतारे । तर, सावित्राको उपस्थितमा पनि नेपालको प्रदर्शन आक्रमक बन्न सकेन । पानीले भिजेको मैदानमा बल नियन्त्रण गर्न नसक्नु पनि नेपाली खेलाडीलाई खेल्न कठिन भयो । ५२ औं मिनेटमा क्लोज रेन्जमा रश्मीकुमारी घिसिङले हेड गरेपनि पोस्टभन्दा बाहिर गएको थियो । उनलाई हेड गर्न पर्याप्त समय भएपनि उनले फ्रेममा बल पु¥याउन सकिनन् ।

अनिताको गोलको तरंग

अनिता बस्नेतले ७० औं मिनेटमा उत्कृष्ट गोल गरेकी थिइन् । अमिसा कार्कीको पासमा उनले दायाँ विंगबाट गरेको प्रहार गोल भएको थियो । विपक्षी गोलरक्षकले यसलाई पनि बचाउन भरपुर प्रयास गरेपनि छोटो कदकी भएकी हुँदा बलले उनलाई छलेर गोलपोस्टमा गयो । यो गोलले रंगशाला गोलको शब्दले गुन्जायमान भयो । नेपालको गोल हेर्न आएका दर्शकको लागि यो गोलमा खुशी मनाउन एउटा अवसर पनि बन्यो । यो गोलपछि नेपालले खेलमा फर्कने सबैको आस थियो । तर, त्यस्तो केही भएन ।

यसको सात मिनेटपछि नै कृष्णा रानीले बंगलादेशको लागि तेस्रो र आफ्नो दोस्रो गोल गरेकी थिइन् । काउन्टर एट्याकमा कृष्णाले डिबक्सबाहिरबाट बल गुडाएर डिबक्समा पुगेर प्रहार गरेकी थिइन् । नेपाली गोलरक्षक एन्जिला अघि बढेर उनको प्रहारलाई रोक्न प्रयास गरेपनि बलले जाली चुम्न गयो । यो गोलले नेपालको उपाधि जित्ने झिनो आसा पनि समाप्त गरिदियो ।

नयाँ विजेता

महिला साफ च्याम्पियनसिपमा बंगलादेश नयाँ विजेता टोली बनेको छ । यसअघि पाँचौ संस्करणसम्म भारतले जित्दै आएको थियो । यस पटक भारत सेमिफाइनलमै पराजित भएको थियो । नेपालले भारतलाई १–० ले हराएर साफ च्याम्पियनसिपमा पहिलो पटक भारतलाई हराउन सफल भएको थियो । तर, भारतलाई समूह चरणमै बंगलादेशले ३–० ले हराएर साफमा भारतको वर्चश्व समाप्त गरेको थियो ।
साफ च्याम्पियनसिप २०२२
विजेता: बंगलादेश
उपविजेता: नेपाल
उत्कृष्ट खेलाडी:सविना खातुन (बंगलादेश)
सर्वाधिक गोलकर्ता:सविना खातुन (८ गोल)
उत्कृष्ट गोलरक्षक: रुपना चक्मा (बंगलादेश)
फेयरप्ले टोली: बंगलादेश

नेपालका प्रशिक्षकले पद छाडे

नेपाललाई उपाधि दिलाउन नसकेपछि प्रशिक्षक कुमार थापाले पद छाडेका छन् । थापाले आफूले उपाधि दिलाउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै पद छाड्ने बताएका हुन् । यसअघि उनी २०१६ मा प्रशिक्षक थिए । तर, त्यतिबेला नेपाललाई भारतले निरास तुल्याएको थियो । यसपटक उनको प्रशिक्षणमा नेपाली टोलीले भारतलाई हराएर ऐतिहासिक जित हात पारेको थियो ।