स्याङ्जामा माओवादी केन्द्र सशक्त छ : संयोजक प्रकाश न्यौपाने (अन्तर्वार्ता)



नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता गरेर शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो । सो पार्टी गठन भएको तीन वर्ष नपुग्दै विवाद चर्को भयो । २०७७ फागुन २३ गते अदालतको एक फैसलाबाट पूर्वपार्टी ब्युँतिए । विभाजनपछि माओवादी केन्द्रका केही नेता एमालेतिर गए, एमाले विभाजित भयो । माओवादी केन्द्रभित्र पार्टीलाई पुनः संगठित गर्ने र बलियो बनाउने बहस चलिहरेको छ । माओवादी केन्द्रका नेताहरु पनि अब अन्य पार्टीसँग एकताभन्दा पनि आफ्नै पार्टीलाई आफ्नै खुट्टामा उभ्याएर बलियो बनाउनुपर्ने बताइरहेका छन् ।स्याङ्जामा माओवादी केन्द्रको सांगठनिक धरातल, पार्टीले लिने रणनीति, आसन्न निर्वाचनको तयारी र पार्टीभित्र भइरहेका पछिल्ला बहसका विषयमा पार्टीका जिल्ला संयोजक प्रकाश न्यौपानेसँग नेपाल समाचारपत्र दैनिक स्याङ्जा संवाददाता अमृत अर्यालले गरेकाे कुराकानी :

१. पार्टीभित्र लामो समयदेखि जिल्ला संयोजकको रुपमा रहुनु भएको छ । कस्तो अनुभूति भइरहेको छ ?

नेकपा (माओवादी केन्द्र) स्याङ्जा जिल्लाको नेतृत्वमा रहेको गत भाद्र १८ गते १ वर्ष भएको छ । मलाई थप चुनौती र जिम्मेवारीवोध त भएको छ । तर। विभिन्न जिम्मेवारीमा रहेर काम गरेको हँदा नौलो र नयाँ अनुभुती भने यो हैन । पार्टीले मलाई जुन जिम्मेवारी दिएको छ, जिल्ला संयोजकको रुपमा तिनै जिम्मेवारी पूरा गर्ने प्रयत्न जारी रहिरहन्छ ।

२. स्याङ्जामा पार्टी सशक्त बनाउने योजना के–के बनाउँदै हुनुहुन्छ ?

हो, स्याङ्जामा पार्टी शसक्त नै छ, किनभने हामी जनयुद्धमा हुँदा वा शान्तिपूर्ण प्रतिस्पर्धामा रहँदां ठूला दलमध्ये प्रतिस्पर्धी दल र सबै प्रतिस्पर्धामा निर्णायक छौँ । त्यो सबैले अनुभूति गरेको कुरा हो । यतिवेला पार्टी आन्दोलनलाई प्रभावकारी बनाउन अधारभूत वर्गमा पार्टी पु¥याउने, जनतालाई सचेत र संगठित गर्ने योजना र कार्यान्वयनमा हामी लागेका छौँ भने वर्ग संघर्षमा (चुनावी प्रतिपर्धामा) पनि अब्बल सावित हुने गरी योजना बनाएका छौँ । मुख्यरुपमा पार्टी विचार र विधिले सञ्चालन गर्ने विषय हो । विचारको हिसाबले आठौँ महाधिवेशनले राजनीतिक दस्तावेज तयार गरिसकेको छ । त्यसकारण विचारको तहमा त्यहीँ महाधिवेशनको दस्तावेजको मुलमर्म र भावनाअनुसार चल्ने कुरा हो । संगठनात्मक क्षेत्रमा विधि, विधानले चल्ने कुरा हो । आठौँ महाधिवेशनले विधि, विधान बनाएको छ । त्यही विधि, विधानलाई ‘फलो’ गर्ने कुरा हो । ती विधि विधानका अतिरिक्त समयसमयमा बस्ने विभिन्न तहका पार्टीका बैठकले गरेका निर्णयहरु कार्यान्वयनमा लैजान जोडदिने प्रयास हुनेछ । विधिमा लैजाने प्रक्रियामा जोड दिने हो । पार्टी भनेकोे विचार हो, सञ्चालन भनेको विधि हो । विचार र विधिलाई सन्तुलित रुपमा राख्नुपर्छ । विचारअनुसार विधि सञ्चालन, विधिअनुसार संगठन सञ्चालन गर्नेे कुरामा पहल र प्रयास अवश्य गरिएको छ ।

३. निर्वाचन आउँदैछ स्याङ्जामा गठबन्धन सम्भव छ त ? वामशक्तिका बीचमा गठबन्धन नगरेर विचार नै नमिल्ने नेपाली कांग्रेससँग गठबन्धन गर्नुभएको छ किन ?

हामीले गत आम निर्वाचनमा वामशक्तिका बीचमा खास गरेर दुई ठूला कम्युनिस्ट पार्टीको बीचमा तालमेल गरेर पार्टी एकतासम्म ग¥यौँ । त्यो गठवन्धन र एकता मुख्यतः तत्कालीन प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत कदमका कारण लामो समय टिक्न सकेन । तर, त्यसको गम्भीर समीक्षा गर्दै विचार र उद्देश्य मिल्ने शक्तिका बीचमा पटक–पटक गठवन्धन मात्र हैन पार्टी एकताको इमान्दार प्रयत्न हुन जरुरी छ । नेपालको राजनीतिमा एमाले अध्यक्ष ओलीले २/२ पटकसम्म जननिर्वाचित सांसद विघटन गरेको हुँदा संविधान र व्यवस्था जोगाउन यो ५ दलीय गठवन्धन बन्यो । यो गठवन्धन आगामी चुनाव र अवस्था अनुसार अगाडि लानुपर्ने आवश्यकता छ । लक्ष्य र उद्देश्य त ‘सबै वामशक्ति एकीकरण’ गर्ने नै हो । तर, व्यावहारिक रुपमा कति जीवन्त बनाउन सकिन्छ ? भन्ने प्रश्न पनि उत्तिकै चुनौतीपूर्ण छ । यसलाई व्यवहारमा रुपान्तरण गर्न प्रयत्न निरन्तर गरिराख्नुपर्छ । धेरै चुनौती छन् । तर, यो क्रममा एकीकरण प्रक्रिया क्रमशः बढाउँदै लैजानु पर्छ । यसको विकल्प छैन । यस क्रममा भेला, सम्मेलन, महाधिवेशन र विशेष महाधिवेशन आदि प्रक्रिया स्वभाविक रुपमा आकर्षित हुन्छन् ।

४. प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लामा सिट बाँडफाँटको विषयमा के भइरहेको छ ?

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि हामीले एकल प्रतिस्पर्धाको लागी तयारी अवस्थामा छौं र हामीले उम्मेदवारको सिफारिस पनि माथिल्लो कमिटीमा पठाइसकेका छौँ । गठवन्धनको सम्भावनालाई पनि मध्यनजर गरि विगत चुनावको परिणाम हेरी क्षेत्रीय सन्तुलन र दलिय सन्तुलन मिल्ने गरि आगामी मंसीर ४ गते हुने चुनावमा क्षेत्र र प्रदेश सभामा भागवण्डा भए स्याडजामा ३ सिटको दावी गरेका छौँ । पाँच दलबीच सिट बाँडफाँटको विषय छलफलमै छ । यो टुंगिएको छैन् । यसले अन्तिमरूप पाएपछि स्वभाविक ढंगले सार्वजनिक भइहाल्छ । अन्तरकुन्तर छलफल भइरहेको छ । यसैले यो विषयमा टिप्पणी गर्नु आवश्यक छैन । २०७४ सालको निर्वाचनको अवस्था जे जस्तो थियो, त्यही आधारमा सिट बाँडफाँट गर्दा उपयुक्त हुने ठानेको छु । त्यसैलाई निरन्तरता दिन सकिन्छ । तर, यो अहिले नै यो फाइनल भने होइन । गठबन्धनमा छलफल जारी नै छ । त्यो पनि छलफलकै विषय हो । यसलाई पनि पछि नै टुंग्याउने छौँ ।

५. यो गठबन्धन कहिलेसम्म हुन्छ ?

मैले माथि पनि भनिसके यो गठवन्धको आवश्यकता संविधान र व्यवस्था जोगाउने औचित्यका आधारमा बनेको हुनाले परिस्थितिमा भरपर्छ, कहिलेसम्म हुने र रहने भन्ने कुरा । गठबन्धन गर्ने कुराको कुनै सीमा हुँदैन् । यो घटनाक्रम, सन्दर्भ र प्रसंगले निर्धारण गर्ने विषय हो । वैचारिक रुपमा राजनीतिक घटनाक्रमले निर्धारण गर्ने कुरा हो । फलानाले ढिस्कानाले गर्ने वा कुनै मनोगत शैलीमा निर्धारण गर्ने कुरो होइन, राजनीतिक घटनाक्रमले निर्धारण गर्नेछ ।

६. माओवादी केन्द्र बाबुराम भट्टराई, वामदेव गौतम र माधव नेपालसँग एकीकरण हुन लागेको हो र ?

नेपालमा राजनैतिक परिवर्तनसँगै समग्र परिवर्तनको आवश्यकता वोधसहित संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सम्पूर्ण वाम प्रगतिशिल र कम्युनिष्ट क्रान्तिकारी शक्ति तालमेल र एकताको पहल हुनु सुखद पक्ष हो । वावुराम भटराईको पार्टी र वामदेवको नेतृत्वको टिम माओवादीको चुनाव चिन्हमा लड्ने र नेकपा (एकीकृत समाजवादी)सँंग पार्टी एकता संयोजन समिति बन्ने कुराले निकट भविस्यमा पार्टी एकीकरण र ध्रुवीकरणको संकेत गर्छ ।

७. एमालेको सन्दर्भमा के भन्नुहुन्छ ? एमालेसँग गठबन्धन हुने सम्भावना सकिएकै हो त ?

एमालेको हिजो र अहिले रहेको मूल नेतृत्वबाट गम्भिर कमजोरी भएको हुँदा कम्युनिस्ट एकता र कम्युनिस्ट पार्टीको सरकार चाहने इमान्दार कम्युनिस्टहरू निरास भएको अवस्था पक्कै पनि हो । तर, कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अग्रगामी दिशामा लानुपर्छ भन्ने नेतृत्वले बोध गरे वा आम कार्यकर्ताले दवाब सृजना गरे परिस्थिति बदलिने म देख्छु ।

८. एमालेसँग पानी बाराबार नै गर्नुपर्छ भन्ने अवस्था त होइन नि ?

एमालेसँग पानी बाराबार गर्नुपर्छ भन्ने छैन, भएको अवस्था पनि छैन र हुनुहुँदैन । विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने इमान्दार एमाले कम्युनिस्ट नेता कार्यकर्तासँग मेरो सौहार्दपूर्ण सम्बन्ध हिजो जनयुद्धको बेलामा पनि थियो र अहिले पनि उत्तिकै छ । कम्युनिस्टहरू विचार र नीतिप्रधान हुन्छन् । एमालेसँग व्यक्तिगत आग्रह पूर्वाग्रह लिनुपर्ने विषय होइन । यो कुनै लेनदेनको विषय पनि होइन । विचार र नीतिका आधारमा सम्बन्ध स्थापित गर्ने कुरा हो । विचार र नीतिमा कति निकटता, सामीप्यता, समानता निर्माण गर्न सकिन्छ, त्यसैमा एकीकरणको प्रक्रिया निर्भर हुन्छ ।

९.राष्ट्रिय स्वाधिनता र अखण्डता माओवादी केन्द्रको नारा बन्दै आएको छ । तर, नागरिकता विधेयक र एमसीसी त तपाईंहरुकै सहयोगमा पास भएको होइन र ?

राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता र आखण्डताको पक्षमा माओवादी लड्दै आयो र आइरहेको पनि छ । पहिलेदेखि अघोषित एमसीसी हुबहु पास गर्न चाहाने शक्तिका विरुद्ध सर्वभौम सांसदबाट १२ बुँदे व्याख्यासहित पास गरिएको छ । त्यसको अर्थ र महत्व छदैछ भने नागरिकता विधेयकमा वावु÷आमाले नागरिकता पाइसकेका तर ठूलो संख्यामा रहेकाले नागरिकता नपाएको अवस्था जुन छ । त्यो हल गर्न खोजिएको हो । यसलाई राष्ट्रघाती भनेर चर्काे स्वरमा कराउनुले मात्र राष्ट्रियताको रक्षा हुने होइन । असमानता, अन्याय अत्याचारमा परेकाको समस्या हल गरेर र सौहार्दपूर्ण सम्बन्ध देशभित्र बनाउन सके त्यो पास गरेको पक्ष राष्ट्र रक्षाको लागि धेरै ओजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्