इन्द्रलाई खोज्दै ऐरावतले देखाउने पुलुकिसि नाच



रत्नकाजी महर्जन

काठमाडौंको मूल जात्राको रूपमा रहेको यँयाः (इन्द्रजात्रा)मा नचाइने विविध नाचहरूमध्ये एक आकर्षक नाच पुलुकिसिको नाच पनि हो । “ला छकू वयेक समयबजि वल वल पुलुकिसि” भन्ने भनाइमा इन्द्रजात्राको प्रमुख खाद्य सामग्रीका साथमा पुलुकिसिको नाम जोडिएसँगै पुलुकिसिको लोकप्रियतालाई उजागर गरेको पाइन्छ । इन्द्रजात्रा पर्वको समयमा मुख्य रूपमा दलूको पूजा गरेर टोल छिमेकमा समयबजि बाँड्ने चलन रहेको छ ।

यसका साथै इन्द्रजात्रामा नचाइने विविध नाचहरूका साथै कुमारी रथयात्राका क्रममा पनि ठाउँठाउँमा समयबजि सहभागीहरूलाई बाँड्ने चलन रहेको पाइन्छ । तथापि, नेवार समुदायमा हास्यसम्राटको उपाधिले सजिएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गाउनुभएको माथि उद्धृत लोकप्रिय गीतका कारण पुलुकिसिको महिमा र गरिमालाई अझ उचाइ प्रदान गर्न सफल भएको मान्न सकिन्छ । एकप्रकारले भन्ने हो भने इन्द्रजात्रालाई जीवन्त बनाउने विविध सांस्कृतिक गतिविधिहरूमा पुलुकिसि नाच पनि एक महत्वपूर्ण नाचको रूपमा लिन सकिन्छ ।

इन्द्रजात्राका अवसरमा निकालिने सेतो हात्तीलाई स्थानीयबासीहरूले पुलुकिसि, तानाकिसि आदि नामले पुकार्ने गरेको पाइन्छ । पुलु अर्थात् बाँसको चोयाले शरीर बुनिने भएका कारणले यसलाई पुलुकिसि भन्ने गरिन्छ भने यसको घाँटीमा झुण्ड्याइएको घण्टको निरन्तर ‘तानाताना’ आवाज आइरहने भएका कारण यसलाई ‘तानाकिसि’ पनि भन्ने गरेको पाइन्छ । बनाइने सामग्री र श्रव्यका आधारमा नामकरण गरिए पनि स्थानीय बुद्धिजीवीहरूले भने यसलाई इन्द्रको बाहन ऐरावत हात्ती भएको दाबी गर्ने गरिन्छ ।

यस सम्बन्धमा जनश्रुतिअनुरूप इन्द्रकी आमाले गातिला व्रत बस्नका लागि पृथ्वीलोकमा मात्र पाइने एक किसिमको फूल टिप्नका लागि इन्द्रलाई पठाइछिन् । इन्द्र आमाको आज्ञा पाएर सो फूल टिप्नका लागि मत्र्यमण्डलमा भ्रमण गर्दैगर्दै नेपालमण्डलमा आएछन् । आफ्नो बाहन ऐरावतलाई किलागल (जसको प्राचीन नाम किसिल्हाग्र रहेको छ) मा छोडेर फूल टिप्न गएछन् । यसरी फूल टिप्न गएका इन्द्रलाई फूल रोपिराखेका ज्यापुले देखेपछि चोर दोष लगाई समातेर गन्यमान्यका अगाडि प्रस्तुत गरेछन् । सो समयको दण्डस्वरूप इन्द्रलाई मचान खडागरी दुवै हात बाँधी राखेछन् । उता बाहन ऐरावत भने आफ्नो स्वामी कतिखेर आउला भनेर प्रतीक्षा गर्दागर्दै निक्कै समयसम्म पनि आइनपुगेपछि व्यग्र भएर यताउति खोजेको नै अहिलेको पुलुकिसि नाच हो भन्ने जनश्रुति रहेको छ ।

पुलुकिसि नाच किलाघः टोलका स्थानीय ज्यापु समुदायले निकालिँदै आएको नाच हो । यो नाचको व्यवस्थापनका लागि टोलबाट ८ जना गुथियारहरूलाई पालो दिने चलन रहेको छ । यसका साथै अहिले जात्रालाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि पुलुकिसि जात्रा व्यवस्थापन समिति समेत गठन गरी व्यवस्थित रूपमा जात्रा सञ्चालन हुँदै आएको पाइन्छ ।

पुलुकिसिको निर्माण तयारी जात्रा शुरू हुनुभन्दा आठ दिन अगावैबाट हुने गर्दछ । भाद्रशुक्ल द्वादशीदेखि भाद्रकृष्ण चतुर्थीसम्म एकहप्तासम्म चल्ने काठमाडौंको यँयाः (इन्द्रजात्रा) पर्वका समयमा हरेक दिन पुलुकिसिको नाच प्रदर्शन हुने गर्दछ । यसका लागि आवश्यक पर्ने पुलुको शरीर बनाउने, किसिको मुखौटा तयार गर्ने लगायतका कामहरू द्वादशी पूर्व नै सम्पन्न गरिसक्ने गरिन्छ । पुलुकिसिको मुखौटा प्रत्येक वर्ष पुंकहाँ लगेर जिर्णोद्धार तथा मर्मत गर्ने गरिन्छ ।

पुलुकिसिको नाचमा धिमे, भुस्याः र कँय्पुइँ बाजा विशेष प्रयोग हुने गर्दछ । पुलुकिसिको भित्र दुई जना मानिस बसेको हुन्छ भने बाहिर बस्नेले हातमा चिराग लिएर बाजाको तालमा अगाडि पछाडि गराइ नचाइने गरिन्छ ।भाद्र शुक्ल द्वादशी तिथिका दिन काठमाडौंमा इन्द्रजात्राको पहिलो दिनको रूपमा नगरका सीमाना परिक्रमा (उपाकू यात्रा) गर्ने चलन रहेको छ । यस क्रममा पुलुकिसि पनि पहिलो दिन उपाकूको रुटमा घुमाइने गरिन्छ ।

यसपछि श्रद्धालुहरूको निमन्त्रणामा विभिन्न ठाउँमा लगेर नाच प्रदर्शन गरिन्छ । पुलुकिसिको नाच कुमारी रथ यात्राका क्रममा रथको अगाडि अगाडि बसेर यात्रा हुने ठाउँको परिक्रमा गर्ने गर्दछ । भाद्र कृष्ण चतुर्थीका दिन नानिचायाको समापन सँगै पुलुकिसिको नाच समापन गर्ने गरिन्छ ।
पुलुकिसि नाचको व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समिति स्थापना भइसकेपछि केही सहयोग प्राप्त हुन थालिएपछि जात्रा सञ्चालनका हिसाबले हेर्ने हो भने त्यो अपर्याप्त रहेको सम्बन्धित गुठीका गुठीयारहरू बताउँछन् । पुलुकिसिको नाचको व्यवस्थापनका लागि श्रद्धालुहरूले दिने चन्दा सहयोग नै मुख्य आम्दानीको रूपमा रहेको छ ।

जात्रापर्वहरूमा निकालिने यसप्रकारका विविध नाचहरू हाम्रा पहिचान हुन् । यिनीहरूको संरक्षण र संवद्र्धन गर्नु सबैको कर्तव्य हो । यस्ता अमूर्त सम्पदाहरूको रक्षाका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगका साथै यसको संरक्षणका लागि निश्चित नीति निर्माण गर्नु आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्