रौतहटका स्थानीय सरकारले नै बुझाएनन् करोडौँ बिद्युत् महसुल ! भन्छन्- कसले बाल्यो थाहा छैन

0
Shares

रौतहट । रौतहटका स्थानीय सरकारले नै सडक बत्तीको करोडौँ विद्युत् महसुल नबुझाएको पाइएको छ । उनीहरूले उक्त बिद्युत् बक्यौता रकम असुल नगर्दा नेपाल बिधुत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रलाई समस्या परेको छ ।

जिल्लाको उत्तरी भेगका चार पालिकाले सडक बत्ती मात्रै झण्डै पाँच करोड २६ लाखको उपभोग गरेको नेपाल बिद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ । सडक बत्ती प्रयोग गरेको विषयमा पालिका प्रमुखहरू अनभिज्ञ रहेका छन् । उनीहरूलाई कहाँ कसले कतिखेर बाल्छ र निभाउँछ भन्ने कुराको पनि जानकारी नभएको बताइएको छ ।

सडक बती प्रयोग गरे बापत सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाले एक करोड ७० लाख २६ हजार सय सय ७४, गुजरा नगरपालिकाले एक करोड ६५ लाख ९१ हजार पाँच सय २३, बृन्दाबन नगरपालिकाले एक करोड २२ लाख ३० हजार तीन सय ३६ र गरुडा नगरपालिकाले ६७ लाख ३७ हजार १४ रुपियाँ महसुल नेपाल बिद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रलाई तिर्नुपर्ने छ ।

सडक बत्ती जडान गरेदेखि पालिकाले महसुल नबुझाउँदा बक्यौता रकम बढेर गएको छ । पालिकाले योजना बनाउँदा दुरगामी सोच नराखेका कारण जथाभाबी सडक बती जडान गरेर आर्थिक व्ययभार थुपरेको नागरिकको गुनासो छ ।

गत आर्थिक वर्ष २०७८÷८९ को असारमा सजिलै भुक्तानी लिन जनप्रतिनिधिहरू हचुवाको भरमा जडान गरेको पोलका अधिकांश बत्ती यतिखेर जलेर बल्न छाडेको छ । पालिकाले ठूलो रकम खर्चेर जडान गरेका सडक बत्ती केही महिनामा नै जलेर काम नलाग्ने भएको हो ।

सडक बत्तीमा एकातिर पालिकाको खर्च अर्कोतर्फ बिद्युत् महसुल थपिँदै जाँदा थप व्ययभार बढेको छ । नेपाल बिद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख सतनारायण गामीले पालिकाले जडान गरेको सडक बत्तीको बक्यौता असुलीको प्रक्रियामा रहेको बताएका छन् ।