‘राजनीतिको चपरी फर्काइदिऊँ !’



म बालकै छँदा राणाशासन त गइसकेको थियो । तर पनि राणाशासनले वर्षौं लगाएर व्यापकरुपमा जनतामा हुर्काएको चलन र मानसिकता जनजीवनबाट गएको थिएन । शासक प्रधानता र पुरुष प्रधानताको संस्कृति २००७ सालपछिको ७० वर्षपछि आजसम्म त कायम छ भने राणाशासन जानेबित्तिकै त्यो संस्कार–संस्कृति सरक्क जाने कुरा पनि थिएन । गाउँमा सम्पत्ति र बलको तुजुकबाट कसैले कसैमाथि अन्याय गरेको कुराको चर्चा हुँदा हाम्रा बा–हजुरबाहरु ‘राणाआ छोराले गर्नु नगर्नु ग-यो, अब उसका अगाडि को पर्न सक्ने ?’ भनेर दुःखमनाउ गर्नुहुन्थ्यो । राणा गइसकेपछि पनि मुलुकका अन्यायी, अत्याचारी व्यक्ति सबै आम जनताका नजरमा ‘राणाका छोरा’ थिए । जनतामाथि अत्याचार गर्ने जति सबै ‘राणाका छोरा’ । नेपाली जनजीवनमा गजबको छाप थियो राणाशासनको ।

यसै त राणाशासनका दिहरुमा नेपालका गाउँ–गाउँमा राणाशासक थिए । घर–घरमा राणाशासक थिए । गाउँबस्तीका निमुखा जनता थरी, द्वारे, मुखिया, जिम्मावालजस्ता स्थानीय राणाशासकहरुबाट पीडित थिए भने घर–घरका महिला र बालबालिकाहरु घरकै ससुरा र खसम नामका स्वार्थलम्पट, राणाशासकहरुबाट पीडित थिए । आमाहरु छोरा–शासकहरुबाट पीडित थिए । राणाशासकहरुका सामन्ती संस्कृतिको असर गाउँ, बस्ती र घरहरुमा यत्रतत्र सर्वत्र पुगेर झाङ्गिएको थियो । ‘यथा राजा तथा प्रजा’ को असर नेपाली जनजीवनमा तात्तातो देख्न सुन्न र बेहोर्न पाइन्थ्यो ।

नेपाल १०४ वर्षसम्म जहानिया राणाशासनको भुङ्ग्रोमा पिल्सिएर बल्ल उम्केको भनिन्छ । ‘भुङ्ग्रोबाट तावा, तावाबाट भुङ्ग्रा’ेको दुश्चक्रबाट भने नेपाल अद्यावधि कहिल्यै उम्केको छैन । शासन छोड्नै पर्ने अवस्थामा पुगेका अन्तिम राणाशासक मोहनशमशेरले सन् १९५० मा इन्डियासँग असमान सन्धि गरेर छोडेको गलपासोले अद्यावधि नेपाली जनताको घाँटी कसेकै छ । अन्य विभिन्न राजनीतिक, आर्थिक, सांस्कतिक पासोहरु त्यत्तिकै छन् । जनताले लगातार दुःख बेहोर्नुपरिरहेकै छ ।

आज पनि जनतामा यिनै गुनासा सुनिन्छन्– ‘राणाहरुको शासन त गयो तिनको शासकीय शैली सत्ताबाट गएन । तिनले हुर्काएको सामन्ती संस्कृति गएन । राणापछि काङ्ग्रेसीहरु नयाँ राणा भएर सत्तामा उदाए । इन्डियालाई कोशी सुम्पे, गण्डकी सुम्पे । असमान सन्धि–सम्झौताले संस्कृतिकै तहमा मान्यता पायो । देशभित्रको शाासन शोषणमा पनि राणाशासनको शैली र संस्कृति यथावत् कायमै रह्यो ।’

वर्तमानमा उभिएर विगततिर हेर्दा हामी देख्छौं– पञ्चायती शासनकालमा पनि सत्ताको हालीमुहाली सूर्यबहादुरहरुजस्ता मकुण्डो लाएका काङ्ग्रेसीहरुकै हातमा रह्यो । पञ्चायत गयो । पुनः भोका काङ्गे्रसीका हुलहरु बन्चरे टोपी लाएर सत्तामा पसे । मुलुकमा त्यही कोशी–गण्डकीकाल झन् कालो भएर दोहोरियो । पहिले नदी सुम्पेका थिए । अहिले नदीलगायत हजारौँ वर्गमिल जमिनसमेत इन्डियालाई सुम्पेका छन् । नेपाली दानापानी हसुरेर विदेशीको चाकरी गर्नमा काङ्ग्रेसी सत्ताले भयङ्कर दुष्कीर्तिमान कायम गरेको अवस्था छ ।

बूढापाकाहरु भन्नुहुन्छ, ‘नेपालमा राणाशासन गयो, काङ्ग्रेसी शासन आयो । काङ्ग्रेसी शासनको मूल ढाडका रुपमा राणाहरुको भूत पनि ढसमस्स बसी नै रह्यो । राणाशासन गयो भनिएपछि पनि मुलुकमा राणाका छोरीको शासन गएन । अहिले वर्षौंपछि पनि कुनै समय नेपालमा राजदूत हुन पठाइएकी जुलियाचाङमार्पmत अमेरिकाले सल्काइदिएको राणाकी छोरीको शासनले नेपालको अर्थराजनीतिमा आज पनि भुमरी पारिरहेकै छ । आज पनि हामी नेपालीहरु राणाशासनकै प्रेतको नरभक्षी शासनमा छौँ ।’

राणाहरुले हिजो इस्ट इन्डिया कम्पनी सरकारको सल्लाहमा नेपाल र नेपाली जनतामाथि शासन शोषण गर्थे । आज राणाकी छोरी जो छिन्, ती सात समुद्रपारिका अमेरिकी सरकारको इशारामा नेपाल र नेपालीको भाग्य–भविष्यमाथि खतरनाक खेलबाड मच्चाइरहेकी छन् ।कालापानी सम्झौता पास गरेर नेपाली काङ्ग्रेसको नेतृत्वमा नेपालको जल, जमिन इन्डियालाई सुम्पने काम त भएकै थियोे । इन्डियाले नेपाली जमिनमाथि निर्लज्ज अतिक्रमण कायम गरेपछि उर्लंदो नेपाली जनआवाज थेग्न नसकेर सत्तासीन कथित कम्युनिस्टहरुसमेतको चुरिफुरीमा सदनबाट चुच्चे नक्सा पारित गर्ने कामचाहिँ बल्लतल्ल सम्पन्न गरियो ।

जमिन फिर्ता लिनेतर्पm भने सिन्को भाँच्ने काम पनि भएन, भएको छैन । नेपाली जनताका आँखामा कथित राष्ट्रवादको छारो हाल्न र भ्रमजालमा पार्न मात्र त्यति बेला चुच्चे नक्साका नाममा कागजी नाटक मञ्चन गरेको रहस्य खोल्ने अजङ्गका घटना अहिले आएर एकपछि अर्को घटित भइरहेका छन् । यसबीच एमसीसीजस्ता राष्ट्रविध्वंसक सम्झौता सदनबाट पारित गरिएको छ । एसपीपी पारायणको प्रयास जारी छ । यसले नेपाली स्वायत्तता र स्वाधीनताको बागडोर अमरिकीको हातमा सुम्पने अपराध मात्र गरेको छैन, परोक्षरुपमा नेपालको कालापानी भेगको जल–जमिन इन्डियालाई सुम्पने कुख्यात कालापानी सम्झौताको दानप्रतिष्ठाका रुपमा पूरक अपराधसमेत सम्पन्न गरेको छ ।

सरकारी अन्याय, अत्याचारबाट आज देशभक्त नेपाली जनता रोएका छन्, मुर्मुरिएका छन् भने जनरक्तपायी स्याल, गिद्ध, ब्वाँसा र हुँडारहरु उछलकूद मच्चाइरहेका छन् । यसै उछलकूदबीच आमनिर्वाचनको सरकारी हल्ला आएको छ । बेल पाकेर कागलाई के रमाइलो ? आज यस हल्लायमान निर्वाचनप्रति देशभक्त नेपाली जनतामा कत्ति पनि उत्साह देखिँदैन । यस व्यवस्थाबाट देश र जनताले राहत पाउलान् भन्ने आशा र विश्वास भुसुक्कै मरिसकेको छ जनतामा । सत्तासीनहरुको आचार र व्यवहारबाट जनता आजित छन्, मर्माहत छन् ।

धेरै पछि यसपटक गाउँ आउँदा मैले बीचगाउँमै मादलको आवाज सुनेँ । ए ! गाउँमा खुशी पनि बाँकी रहेछ त भनेर हेर्ने–सुन्ने उत्सुकतामा म त्यो मादल बजेका ठाउँमा पुगेँ । युवायुवतीहरु त गाउँमै छैनन्, के जुटून् । त्यहाँ अधबैँसे पुरुष–महिला जुटेर गीत गाइरहेका अनि बूढाबूढीहरु रुल्लटुल्ल बसेर हेरिरहेका रहेछन् । बसेर एकछिन् सुनेँ, हेरेँ । ‘जनतामा राजनीतिक चेतनाले फड्को मारेकै हो त ?’ एकछिन् जिज्ञासामै रुमल्लिएँ । त्यहाँ तिनीहरुले

गाएका गीत यस्ता थिए :
लिसोबाट उम्केँ भन्यो पासोमाथि पर्ने
तावाबाट भागेँ भन्यो भुङ्ग्रोमाथि पर्ने ।
कहिल्यै पनि भएन खै नेपालीको मुक्ति
कसरी पो खोज्ने होला मुक्त हुने जुक्ति ?
राणा गए काङ्ग्रेस आए, काङ्ग्रेस गए पञ्च
पञ्च गए चोर डाँकाको भयो घन्चमन्च
चोर डाँकाले सत्ता हाँक्दा जनतालाई सास्ती
जहिले पनि यो देशमा जनतन्त्र नास्ति
जनतन्त्र नास्ति हजुर जनतन्त्र नास्ति
जहिले पनि यो देशमा जनतालाई सास्ती ।
धेरै शेरबादुर् आए जनतालाई सेर्न
सकेनौँ खै जनताले यो व्यवस्था फेर्न
जहिले पनि मुलुकमा चोर डाँकाकै रजाइँ
जन्मेदेखि मर्दासम्म जनतालाई सजाइँ ।
अब नयाँ आन्दोलन चर्काइदिऊँ ।
राजनीतिको चपरी फर्काइदिऊँ ।
सम्झना छ पटक–पटक आन्दोलनमा गाको
हामीजस्तै जनताले तातो गोली खाको ।
सधैँ–सधैँ सम्झौतामा निभाइयो राँको
चपरी नै नफर्केर यो हबिगत भाको ।
फेरि आछ निर्वाचनको अर्को नयाँ नाटक
डाँकाहरु त्यसैमा नै जमाइराछन् त्राटक ।
जनताले मुक्ति पाउने नाटकबाट हैन
नाटकबाट परिवर्तनको सम्भावना छैन ।
उठौँ जागौँ भड्खारो सम्याउन
जनताको मूलबाटो ठम्याउन ।
अब नयाँ आन्दोलन चर्काइदिऊँ
राजनीतिको चपरी फर्काइदिऊँ ।

प्रतिक्रिया दिनुहोस्