एनआरएनए सीईओको नियुक्ति नियमविपरीत भएको आरोप



 काठमाडौं । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सीईओ) मा नियुक्ति नियमविपरीत भएको आरोप छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको एकल निर्णयले शुक्रबार रवि किरण अधिकारीलाई सीईओ नियुक्त गरिएको थियो ।

गैरआवासीय नेपाली संघका उपहासचिव रामशरण सिम्खडाका अनुसार अध्यक्ष आचार्यले संघको नियमावलीविपरीत नवनियुक्त सीईओलाई पाँच सय प्रतिशतभन्दा बढी तलब भत्ता दिने गरी करार गर्नुभएको छ । यही कारण संघका पदाधिकारीले उहाँको आलोचना गरेका छन् ।
संघको नियमावलीमा सीईओले पारिश्रमिकको रूपमा १ लाख ४८ हजार ३ सय ६५ रुपियाँ पाउनुपर्ने उल्लेख छ । अध्यक्ष आचार्यको एकल निर्णयले इन्धन भत्ता ३० हजार, महँगी भत्ता ३१ हजार ७ सय १६ र छुट्टै खानाभत्ता १० हजार रुपियाँ थप दिने निर्णय गरेको छ । आचार्यको निर्णय संघको कर्मचारी नियमावलीविपरीत रहेको पदाधिकारीको भनाइ छ ।

यसअघि महँगी भत्तामा ५ हजार, इन्धन भत्ता ५ हजार, दिने गरिएको थियो । यस्तै, खाजाभत्ता ३ हजार ७ सय दिँदै आइएको थियो । कर्मचारीसम्बन्धी नियमावलीअनुसार भत्ता र आधारभूत तलबको पुनरावलोकन संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईईएस) ले मात्र गर्न सक्ने प्रावधान रहेको संघका उपाध्यक्ष डा. हेमराज शर्माले बताउनुभयो । शर्माले संघको अधिकारिक निर्णयविना सर्वसाधारणबाट उठाएको रकम दुरूपयोग गरेको बताउनुभयो ।

सीईओ नियुक्तिमा कुनै समस्या छैन तर तबल भत्ता के कारणले अस्वाभाविक रूपमा बढाइयो त्यसबारेमा आगामी कार्यसमिति बैठकमा छलफल गर्ने शर्माले बताउनुभयोे ।संघका महासचिव गौरीराज जोशीले सीईओ पद लामो समयदेखि खाली हुँदा काम पेन्डिङमा रहेकाले अन्तिम निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘काम धेरै बाँकी छन्, धेरै अलमल गर्ने समय थिएन । त्यसैले शुक्रबारबाटै संघको कार्यालयको नेतृत्व समाल्ने गरी अधिकारीलाई नियुक्ति दिएको हो ।’ प्रमुख कार्यकारी निर्देशक (सीईओ) का लागि चार जना उम्मेदवारले गत शनिबार अन्तिम अन्तरवार्ता दिएका थिए ।

मासिक करिब २ लाख तलब, गाडी र भत्तासहितको सो आकर्षक पदको लागि राजेन्द्रकुमार राउत, अग्निप्रसाद उपाध्याय, वन्दना शर्मा र रविकुमार अधिकारी अन्तर्वार्तामा सहभागी थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिस गरेको थियो ।
गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनपछि संघको नेतृत्व कुल आचार्य, रविना थापा र डा. बद्री केसीले समाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्