राजा त्रिभुवन र महेन्द्रका सवारी प्रदर्शनीमा



काठमाडौं । 

नारायणहिटी दरबार संग्रहालयमा बुधबारदेखि राजा त्रिभुवन र महेन्द्रको विलासी सवारी साधनसहित ३ सवारी साधन प्रदर्शनीमा राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव महेश्वर न्यौपानेले संग्रहालयमा ती सवारी साधनको उद्घाटन गर्नुभएको हो ।

संग्रहालयमा राजा त्रिभुवनले प्रयोग गर्ने फोर्ड कम्पनीको काठको क्यारियर भएको पिकअप ट्रक र फोर्ड कम्पनीकै वा. अ. २ नम्बरको राजा त्रिभुवनले प्रयोग गर्ने ‘फ्यामेली कार’ प्रदर्शनीमा राखिएको छ ।पिकअप ट्रक राजा त्रिभुवनले शिकार खेल्न प्रयोग गर्ने गरेको संग्रहालयले जनाएको छ । त्यस्तै, राजा महेन्द्रले प्रयोग गर्ने वा. १ च २६६३ नम्बरको अस्टिन प्रिन्सेस लग्जरी कार पनि प्रदर्शनीमा राखिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६७ को अर्को कार बेलायती महारानीले प्रयोग गर्नुभएको र उक्त कार अहिले पनि बेलायतको दरबारमा राखिएको बताइएको छ ।

संग्रहालय विकास समितिका प्रवक्ता बुद्धिबहादुर गुरुङले नेपाल समाचारपत्रसँगको कुराकानीमा सबै सवारी साधनको भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकोले मर्मत र रङरोगन गरी प्रदर्शनीमा राखेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा यी ३ सहित करिब आधा दर्जन सवारी साधन राखिएका छन् ।

स्वर्गीय राजा वीरेन्द्र, स्वर्गीय युवराज दीपेन्द्र, स्वर्गीय राजकुमार निराजन, र स्वर्गीय अधिराजकुमारी श्रुतिले प्रयोग गर्ने साना सवारी साधन र हिटलरले उपहार दिएको सवारी साधन यसअघि नै प्रदर्शनीमा राखिएका थिए । संग्रहालयले १४ वर्षको इतिहासमा श्रीपेच, राजदण्डलगायत महत्वपूर्ण सामग्री प्रदर्शनीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्