एसईईको नतिजा सन्तोषजनक: उच्च श्रेणीमा उत्तीर्ण हुनेको संख्या करिब २ प्रतिशत

एसईईको नतिजा सार्वजनिक



भक्तपुर । 

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९ हजार ६ सय ३३ विद्यार्थीले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको परीक्षाफल सार्वजनिक गर्दै यो वर्ष उच्च श्रेणीमा उतीर्ण हुने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ अर्थात् १ दशमलव ९४ प्रतिशत रहेको जनाएको छ ।

एसईईको परीक्षाफल सार्वजनिक गर्न सानोठिमीस्थित कार्यालय प्राङ्गगणमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले २०७५ सालको तुलनामा २०७८ सालको एसईई नतिजा सन्तोषजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘पहिलेभन्दा नतिजा फरक छैन, सन्तोषजनक नै छ । ९० नम्बर ल्याउने र १०० नम्बर ल्याउनेको एउटै ग्रेड हुन्छ । उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी सार्वजनिक गर्ने व्यवस्था छैन ।’

परीक्षा बोर्डका अनुसार ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ अर्थात् ८ दशमलव ४० प्रतिशत रहेको छ भने २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउने ६९ हजार ९ सय अर्थात् १४ दशमलव १० प्रतिशत रहेको छ ।

त्यसै गरी २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५ सय ५८ अर्थात् १८ दशमलव ३१ प्रतिशत, २ देखि २ दशमलव ४ जीपीए ल्याउने १ लाख १२ हजार ७ सय ३३ अर्थात् २२ दशमलव ७४ प्रतिशत, १ दशमलव ६ देखि २ जीपीए ल्याउने १ लाख ५ सय ९४ अर्थात २० दशमलव २९ प्रतिशत), १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउने ४४ हजार ५ सय ८६ अर्थात ८ दशमलव ९९ प्रतिशत र शून्य दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याउने ३ हजार २ सय ८० अर्थात् शून्य दशमलव ६६ प्रतिशत रहेका छन् ।

यो वर्ष २ देखि २ दशमलव ४ जीपीए अंक ल्याउने विद्यार्थीको संख्या अधिक छ भने शून्य दशमलव ८ देखि १ दशमलव २ सम्म ल्याउने विद्यार्थीको संख्या सबैभन्दा कम छ ।पत्रकार सम्मेलनमा कक्षा १० का परीक्षा नियन्त्रक अर्जुन रायमझीले परीक्षाफललाई विभिन्न ९ वटा वर्गमा विभाजन गरिएको जानकारी दिंदै परीक्षाफललाई ‘ग्रेड प्वाइन्ट’को आधारमा तथा थप एउटा वर्गमा आंशिक अनुपस्थित वा पूरै अनुपस्थित वर्गमा राखिएको बताउनुभयो ।

ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अंक ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको भए पनि यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । यो वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी भएका थिए । जसमध्ये २२ हजार ६ सय४० विद्यार्थी अर्थात् ४.५७ प्रतिशत विद्यार्थी अनुपस्थित रहेका थिए भने २२ हजार ५ सय ३७ परीक्षार्थीले पूरै परीक्षा दिएनन् ।

त्यस्तै १ सय ३ परीक्षार्थी निष्कासित भएका छन् । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्