सवारी दुर्घटना



नेपालको भूवनावट, जलवायु र मौसमले स्थल मार्ग र आकाश दुवैमा थप सुरक्षा सतर्कताको माग गर्दछ । सतर्कता नअपनाए दुर्घटना हुन्छ ।

दुर्घटनाले मानवमा शारीरिक, मानसिक तथा आर्थिक समस्या सिर्जना गर्दछ । उदाहरणका लागि २०७२ सालको महाभूकम्पले थिलथिलो बनाएको नेपाल र नेपालीले आजसम्म भोग्दैआएको शारीरिक, मानसिक तथा आर्थिक क्षति कसैबाट लुकेको छैन । यस्ता घटनाले परिवारका सदस्यहरुमा कस्ता खालका मानसिक स्वास्थ्य समस्या निम्तिए भन्ने विषयमा पर्याप्त खोजबिन हुनसकेको छैन । नेपाल बाढी, महिरो र भूकम्पको जोखिममा छ । यसलाई रोक्न सहज छैन, तर सवारी दुर्घटना भने रोक्नसकिन्छ ।

प्राकृतिक विपत्तिका कारण आम नागरिक र राष्ट्रमा पटक–पटक क्षति पुगेको छ । सहज र सुलभ नाम दिएर यात्राका लागि तय गरिएका ग्रामीण सडकले हरेक दिनजसो गाउँमा शोक दिएको छ । यसबाट कति परिवारका आफन्त गुमेका छन्, मानसिक सन्तुलन गुमेको छ, सहारा गुमेकोछ, आर्थिक र सामाजिक रुपमा पीडा थपिएको छ । यही मंगलबार मात्र रामेछापको सुनापती गाउँपालिका– ५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा रहेको लुभुमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भयो । २० जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना चालकको कारणले मात्र हुँदैन । व्यवस्थापनका कमजोरी मुख्य कारण हुनसक्छन् ।

सवारी चढ्ने र झर्ने स्थान तोकिएका ठाउँहरु वैज्ञानिक छैनन् । बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री सवारी साधनको व्यवस्थापन हुनसकेको छैन । ग्रामीण भेगमा सडक कच्ची र घुमाउँरो हुनुका साथै सवारी साधन पुरानो तथा बिग्रिएका छन्, उचित मर्मत सम्भार नगरी चलाइन्छ । काठमाडांै, भक्तपुर, ललितपुर लगायतका शहरी क्षेत्रमा बस बिसौंनीहरु पनि सुरक्षित हुनसकेका छैनन् । सवारी चालककले यात्रु झर्ने स्थानमा राम्रोसँग सवारी नरोक्दै यात्रु झर्नु र चढ्नुपर्ने बाध्यता छ । यस्तो बाध्यात्मक अवस्थाको शिकार जहिले पनि सर्वसाधारण नागरिक र श्रमिक वर्ग नै बढी हुन्छन् । सार्वजनिक सवारी साधन निजी सवारी साधन नहुने श्रमिक वर्गका लागि हो ।

उनीहरुको मानव अधिकारको रक्षा गर्ने दायित्व सरकारको हो । हालै प्रकाशित एक समाचार अनुसार ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३ सय ८१ सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसले यातायात व्यवस्था कति अस्तव्यस्त छ भन्ने देखाउँछ ।

नेपाल र नेपालीको सुरक्षाका लागि भूवनावट, जलवायु र मौसम सापेक्ष व्यवस्था गरिनुपर्छ । हवाई र स्थल मार्गमा चल्ने सवारी साधनमा बढी सुरक्षा सतर्कता आवश्यक हुन्छ । विश्वका अन्य कतिपय मुलुकमा अवलम्बन गरिएको मापदण्ड मात्र हाम्रालागि पर्याप्त हुन्न । समानताको दृष्टिकोणले पुग्दैन, समतायुक्त चिन्तन आवश्यक हुन्छ । साथै, दुर्घटना भइहाले मृतकका परिवार, घाइते, पीडित र प्रभावितले पाउने राहत र बिमा सुविधाको व्यवस्था अति आवश्यक छ । तर स्थल यातायातमा विमाको व्यवस्था राम्रो छैन ।

प्रतिक्रिया दिनुहोस्