‘सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध’



 बारा ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र टाँगियावस्तीको निरीक्षण गर्नुभएको छ ।
गत जेष्ठ १२ गते निजगढ विमानस्थल बनाउन रोक लाएको सर्वोच्चले गत असार १५ गतेको पूर्णपाठमा जैविकविविधताको न्यूनतम क्षति हुने गरी सरकारले विमानस्थल निर्माण गर्न सक्ने भनेपछि प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका नेताहरुले पहिलोपटक निर्माण क्षेत्रको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री देउवासहित, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले शनिबार निजगढ विमानस्थलको प्रस्थावित क्षेत्र टाँगियावस्तिको हवाइ निरीक्षण गर्नुभएको हो । टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी हुनु भएको थियो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः ३० मा निजगढ आइपुग्नुभएको प्रधानमन्त्री देउवासहितको टोलीले करिब २० मिनेटसम्म टाँगियावस्तीस्थित हवाई निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा टोलीले टाँगियावस्ती, काटँघाट वस्ती र आसपासको वन क्षेत्रको पनि निरीक्षण गरेको हो । प्रस्तावित विमानस्थल निर्माण क्षेत्रको निरीक्षणपछि टोलीले निजगढमा रहेको नेपाली सेनाको फास्टट्रयाक (काठमाडौं तराई-मधेस दु्रतमार्ग) विकास निर्माण दल जिरी किमीमा सरोकारवाला कार्यालयका प्रमुख र बाराका स्थानीय निकायका प्रमुखहरुसँग भेट गरेर भ्रमणको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको पूर्णपाठमा पनि निजगढ विमानस्थल निर्माण नगर्नु नभनेकोले निजगढमा नै विमानस्थल बनाइने बताउनुभयो । विमानस्थल र फास्टट्रयाक एकअर्काका परिपुरक आयोजना भएकोले पनि विमानस्थल निर्माण गरिनु पर्ने उहाँको भनाइ थियो । ‘हामीले फास्टट्याक किन बनाएको, उहाँले भन्न्ुभयो, एयरपोर्टको लागि बनाएको हो ।’ एयरपोर्टमा ओर्लेका मानिसहरुलाई काठमाडौं लैजान फास्टट्रयाक निर्माण गरिएको हो,’ उहाँले भन्नु्भयो, ‘एयरपोर्ट बनेन भने फास्टट्रयाकको पनि काम छैन ।’

प्रधानमन्त्री देउवाले देशमा ४ लेन धावनमार्गको विमानस्थल आवश्यक भएपनि तत्कालको लागि निजगढमा २ लेन धावनमार्गसहितको विमानस्थल बनाइने बताउनुभयो । उहाँले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक जाम हुने समस्याले गर्दा भारतको दिल्ला र बंगलादेशको ढाकामा डाइभर्ट गर्नु पर्ने अवस्था रहेको हुँदा कुनै पनि हालतमा निजगढमा सुविधा सम्पन्न विमानस्थल निर्माण गरिनु पर्ने बताउनुभयो ।
गठबन्धनका नेता, पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि निजगढमा विमानस्थल निर्माण गर्ने विषयको सम्बन्ध फास्टट्याकसंग पनि भएको बताउनुभयो ।

‘निजगढ विमानस्थल निर्माण हुन सकेन भने अर्वौै लगानी गरेर फास्टट्यक निर्माण गर्नुको औचित्य छैन, उहाँले भन्नुभयो, फास्टट्यकको डिपिआर बनाउदा नै निजगढ विमानस्थलको आवश्यकतालाई मनन गरेर तयार पारिएको हो ।’ पहिले पनि धेरै अध्ययन छलफल गरेर विमानस्थलको लागि निजगढ सबैभन्दा उपयुक्त क्षेत्रको रुपमा छनौट भएको भन्दै अध्यक्ष प्रचण्डले अबौं लगानी भइसकेको र देशको गौरवको आयोजनाको रुपमा रहेको यो आयोजनालाई सरकारले दृढताका साथ अघि बढाउने जरुरी भएको बताउनुभयो ।यसैगरी पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलामा देशमा अन्तराष्ट्रिस्तरको सुविधा सम्पन्न विमानस्थल निर्माण गर्न जरुरी रहेको ठहर भएको जानकारी दिनुभयो । उहाँले अदालतको पूर्णपाठमा कस्तो र कतिवटा विमानस्थल निर्माण गर्ने भन्ने कुराको निक्र्यौल गर्ने जिम्मा कार्यपालिकालाई दिएको भन्दै अब सरकारले निर्णय गरेर निजगढ विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले अदालतले निजगढमा एयरपोर्ट सिटी बनाउने कुरामा रोक लगाएको पनि जानकारी दिनुभयो ।

‘सर्वोच्च अदालतको पूर्णपाठमा वातावरणीय क्षति कम होस् भन्नेमात्रै आसय देखिएको छ, नेता नेपालले भन्नुभयो, अदालतको फैसलालाई ध्यानमा राखेर वन जंगलको कमभन्दा कम क्षति हुने गरी निजगढमा नै विमानस्थल बनाउनुपर्छ ।’गठबन्धनका अर्का नेता उपेन्द्र यादवले राष्ट्रिय आवश्यकता पूरा गर्नकै लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भएको हुँदा गफ मात्रै नगरेर काम अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले विमानस्थल निर्माण क्षेत्रमा पर्ने वस्तिहरुको व्यवस्थित स्थानन्तरणमा ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।

‘यस क्षेत्रमा रहेका पुराना वस्तीका जनताले घरबारविहीन हुनु नपरोस्, उहाँले भन्नुभयो, बाढी पिडितलाई राहत बाँढे जस्तो नहोस् ।’ विकास निर्माणका आयोजना सञ्चालन गर्दा जैविक विविधता संरक्षणलाई पनि ध्यान दिनुपर्ने र न्यनतम रुख फडानी हुने गरी विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले आयोजना निर्माण हुँदा काटिएका रुखको बदलतामा काटिएका रुखभन्दा बढी वृक्षरोप गरिनुपर्ने पनि बताउनुभयो । नेता यादवले भन्नुभयो, निजगढ विमानस्थलमा पनि जैविक विविधता नोक्सनलाई कमभन्दा कम क्षति हुने गरि काम गरौं ।’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षले पौडेलले निजगढ विमानस्थल निर्माण गर्न प्रधानमन्त्री देउवा निर्देशन दिइसकेको बताउदै आवश्यक कानुनी र अन्य प्रकृया पुरा गरेर चाँढै विमानस्थल निर्माण कार्य शुरु गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्