विमला वलीले पदीय मर्यादाविपरीत काम गरेको छानबिन समितिको ठहर



बुटवल । 

पटक पटक विवादमा परेकी लुम्बिनी प्रदेश सरकारकी पूर्व स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादाविपरीत काम गरेको छानबिन समितिले ठहर गरेको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले शनिवार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादाविपरीत काम गरेको ठहर गरेको छ ।

राज्य मन्त्री वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादाविपरीत आवेगात्मक कमजोरी गरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ । एकराज बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको देखियो’– छानबिन समितिका संयोजक शर्माले भन्नुभयो ।

विमलाले एकराजसंग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको संयोजक शर्माले बताउनु भयो । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने बताउनुभयो । एकराजले घरमै छु भनेर बोलाएको घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकार समेत पुगिसकेकाले सुनियोजित तरिकाले बदनाम गर्न खोजिएको पनि आशंका मुख्यमन्त्री केसीको छ । प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताउनुभयो ।

विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिनु भएको र १५ गते प्रदेश सभाबाट राजीनामा स्वीकृत भएको थियो । राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीमाथि हातपात गरेकी थिइन् । उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार ओलीको निधन भएपछि बिमलाले तत्कालिन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट निर्वाचन जितेकी थिइन् । २०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि वैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्