कारबाहीमा परिने डरले राज्यमन्त्री वलीद्वारा राजीनामा



बुटवल । 

सर्वसाधारणका घरमा घुसेर हातपात गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिनुभएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रदेश सभामा राज्यमन्त्री वलीले पदबाट राजीनामा दिनुभएको र उक्त राजीनामा स्वीकृत पनि भइसकेकोे जानकारी दिनुभयो ।

आफूलाई प्रेममा धोका दिएको भन्दै दाङको तुलसीपुरका वाइसीएल कार्यकर्ता एकराज बस्नेतलाई खोज्दै बस्नेतको घरमा पुगेकी राज्यमन्त्री वलीले उहाँकी पत्नी मीना भण्डारी र ३ वर्षकी छोरीलाई कुटपिट गर्नुभएको थियो । गुण्डागर्दी व्यवहारमा उत्रिएकी वलीलाई सर्वसाधारणले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए पनि मुख्यमन्त्री केसीको दबाबले रातारात बुटवल ल्याएर बिरामी भएको भन्दै अस्पतालमा भर्ना गरिएको थियो । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा उक्त घटनाको छानबिन गर्न असार १ गते ३ सदस्यीय कार्यदल बनाइएको थियो । कार्यदलले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेर १–२ दिनमै प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाउन तयारी गरेको छ । तर, उक्त प्रतिवेदन तयार हुनुअघि नै राज्यमन्त्री वलीको राजीनामा स्वीकृत भएको छ ।

बुधबारको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले वलीको विषयमा सरकारको धारणा माग गर्नुभएको थियो । तत्कालीन नेकपाबाट निर्वाचित वलीले पार्टी विभाजन भएपछि नेकपा माओवादी केन्द्र रोज्नुभएको थियो । महिला राज्यमन्त्रीले महिला र बालिकालाई नै कुटपिट गरेपछि राजीनामा दिनुपर्ने अवस्था आएको यो पहिलो घटना हो ।

राज्यमन्त्रीको उदण्ड व्यवहारको चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री केसीको दबाबमै वलीले राजीनामा दिएको बुझिएको छ ।एमाले सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचनबाट प्रदेश सभामा प्रवेश गरेकी वली धेरै पटक विवादमा मुछिनुभएको थियो । तत्कालीन नेकपाबाट दाङ क्षेत्र नम्बर ३(ख) बाट निर्वाचित भएकी वली नेकपा विभाजन भएर शंकर पोखरेल नेतृत्वको सरकार अप्ठ्यारोमा पर्न थालेपछि नेकपा माओवादी प्रवेश गर्नुभएको हो । गत वर्ष साउन दोस्रो साता तत्कालीन मुख्यमन्त्री पोखरेलले आफूलाई बन्धक बनाएको दाबी गर्दै वलीले प्रदेशसभामै पत्रकार सम्मेलन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्