पशुपति क्यारियर्सविरुद्ध २२ करोड राजस्व चुहावटको आरोपमा मुद्दा दर्ता



बुटवल ।

भन्सार छली गरी ल्याइएका सामग्री ढुवानी गरी करोडौंको राजस्व छलेको आरोपमा अनुसन्धान विभागले रूपन्देहीको भैरहवाका २ जना व्यापारीसहित अन्यलाई मुद्दा दर्ता गरेको छ ।

विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रुपियाँ राजस्व चुहावट गरेको आरोपमा मंगलबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।
पशुपति रोड क्यारियर नेपाल प्रालिले बिक्रेता न्यु मनकामना सप्लायर्स रूपन्देही तथा राज फेन्सी कर्नर उल्लेख गरी मालवस्तु ढुवानी गर्दा २२ करोड १९ लाख ४६ हजार ७ सय ३ रुपियाँ राजस्व चुहावट गरेको आरोपमा जयसवालद्वय सहितलाई मुद्दा दर्ता गरेकोे हो ।

पशुपति रोड क्यारियर नेपाल प्रालिका सञ्चालकहरू महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता, भारतीय नागरिक ओमप्रकाश भनिने उपेन्द्रकुमार सिंह र अन्जियन आलम, न्यु मनकामना सप्लायर्स सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का प्रोपाइटर रेखा जयसवाल, मुख्य कारोबारी सोही ठाउँकै राकेशप्रसाद जैसवालविरुद्ध २१ करोड ८५ लाख १३ हजार २ सय २ रुपियाँ बिगो कायम गरिएको छ । उक्त सप्लायर्सले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरी मालवस्तु पठाएको तर उक्त मालवस्तुहरू अन्य विभिन्न फर्महरूले विना बिलबिजक बुझिलिएको विभागको भनाइ छ ।

विभिन्न फर्महरूले भन्सार नाका प्रयोग गरी प्रज्ञापन पत्रसमेत नभरी सामान आयात गरी विभिन्न मालसामान खरिद बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांश करलगायतका राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नुपर्ने कर राजस्व नबुझाई आफूले लाभ लिई राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरिएको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्