राजेन्द्रभक्तको ‘स्मृतिका बाछिटाहरू’ लोकार्पण



काठमाडौं ।

राजेन्द्रभक्त जोन्छेको ‘स्मृतिका बाछिटाहरू’ शीर्षकको कविता सङ्ग्रह एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ तिलक प्रकाशले कृति लोकार्पण गर्दै कृतिभित्र जोन्छेजीको संगालोमा धेरै त निजात्मक परिधिमा प्रतीकात्मक कविता लेखेको चर्चा गर्दै आमाको स्नेहबाट पाक भएका सन्तानभन्दा भाग्यशाली कोही हुन नसक्ने अभिव्यक्ति जोन्छेजीको निकै आकर्षक रहेको चर्चा गर्नुभयो ।

कृतिलाई नजिकबाट नियाल्दै समीक्षक शेखर अर्यालले कृतिभित्रका विभिन्न आयामलाई केलाउँदै कृतिले मानवता हराउँदै गइरहेको यान्त्रिक संसारमा माया, प्रेम, सद्भाव, आत्मीयता र अपनत्वको ठूलो महत्व उद्घाटन गर्न कृति सफल भएको चर्चा गर्नुभयो । कृतिका बारेमा वरिष्ठ प्रगतिशील साहित्यकार योगेन्द्र प्रधानले कवि जोन्छेको चौपाया व्यङ्ग्यात्मक कविता लेखनको योगदानबारे स्मरण गराउनुभयो ।

कवि जोन्छेले कार्यक्रममा चारवटा कविता वाचन गरेर आफ्ना लागेका मनका कुरा पोख्नुभएको थियो । यसै कार्यक्रममा कृष्णलाल श्रेष्ठ, वागमती प्रदेशका राज्यमन्त्री रजनी जोन्छेले पनि आ–आफ्नो विचार पोख्नुभएको थियो । उक्त कार्यक्रममा राजेश फाजुले भजन गाएर मनोरञ्जन गराउनुभएको थियो भने कवि जोन्छेका छोरा, छोरी, ज्वाईं, सम्धी, नाति नातिनीहरूले दोसल्ला, विभिन्न उपहार दिएर हौसला बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्