१८ वर्षे पुरानो जीर्ण तुइनका भरमा विद्यार्थी



रुकुम पश्चिम ।

सरकारले सात वर्षअघि तुइन विस्थापन गर्ने घोषणा गरे पनि रूकुम पश्चिममा तुइन तर्नुपर्ने बाध्यता अझैसम्म पनि हटेको छैन । रूकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका–१ ठूलाबगर जोड्ने भेरी नदीमा झोलुङ्गे पुल नबन्दा यहाँका स्थानीय १८ वर्ष पुरानो जीर्ण तुइन चढ्न बाध्य बनेका हुन् ।

भेरी नदीमा झोलुङ्गे पुल नहुँदा यहाँका विद्यार्थी र स्थानीयले आवतजावत गर्न तुइनको सहारा लिने गरेका छन् । छोटेबगर र ठुलाबगरमा १८ वर्ष पहिले स्थानीयले आफ्नै लगानीमा निर्माण गरेको जीर्ण तुइनबाट जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
नलगाड नगरपालिका–१ ठूलाबगरका ज्ञान बहादुर घर्ती भन्नुहुन्छ – ‘हामी आफैंले निर्माण गरेको तुइन पनि अब जीर्ण भइसक्यो, झोलुङ्गेपुलको माग गर्दा हैरान बनिसक्यौँँ ।’ कसैको ध्यान नजाँदा ठुलाबगर र छोटेबगरका तीन सय घरपरिवार तुइनकै प्रयोग गरिरहेका छन् । बारम्बार पुल निर्माणका लागि ध्यानाकर्षण गराए पनि सबैले बेवास्ता गरेपछि बर्खाको समयमा जोखिम मोलेर जीर्ण तुइन तर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

घर्ती मात्रै होइन माध्यमिक शिक्षाका लागि रिम्ना बजारसम्म पुग्ने विद्यार्थीहरूले पुल नबन्दा धेरै सास्ती खेप्नुपरेको गुनासो गर्छन् । विद्यार्थीहरू पठनपाठनका लागि दैनिक कतिखेर तुइन भेरीमा खस्छ भन्दै कापी किताब पोको पारेर भेरी नदी वारपार गर्छन् ।
यहाँका स्थानीयलाई आउजाउमा तुइनको प्रयोग नगरी सुखै छैन । उक्त गाउँका तीन सय घरधुरीका बासिन्दा खाद्य वस्तु किनमेल, अस्पतालदेखि दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेको आठबिसकोट– १४ का स्थानीय खडक बिकले जानकारी दिनुभयो । घाँस र दाउरा पनि तुइनमै तर्नुपर्ने भएका कारण धेरै भारी नदीमा खसेको स्थानीय विक बताउनुहुन्छ ।

सो क्षेत्रबाट करिब १५ सय मिटर टाढाको दूरीमा झोलुङ्गे पुल भए पनि त्यहाँसम्म पुग्ने बाटो नहुँदा यहाँका बासिन्दा भेरी नदीमा तुइनकै भर पर्नुपर्ने अवस्था रहेको आठबिसकोट नगरपालिका–१४ का वडा अध्यक्ष हुकुम पुनले जानकारी दिनुभयो । तुइन आफ्नो वडाका जनतालगायत सबैका लागि बाध्यकारी भएकोले अत्यावश्यक काम पर्दासमेत दुवै गाउँका बासिन्दाले तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्नेबाध्यता नहटेको अध्यक्ष पुनले बताउनुभयो ।

हिउँदयाममा नदीको बहाव कम भएका कारण तुइन तर्न कम जोखिम भए पनि बर्खायाममा भने त्रास र उच्च जोखिमका बीच तुइन तर्न बाध्य छन् । यो क्षेत्रमा नदी वारपार गर्न पुल निर्माण गरी तुइन विस्थापन भए स्थानीय बासिन्दाले दुर्घटनामा परेर ज्यान गुमाउन वा बेपत्ता हुन नपर्ने र तुइन हटाएर झोलुङ्गे पुल निर्माणको योजना तत्काल अघि सार्न आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्