गौरव गर्ने मन्त्रीमा परे आले



काठमाडौं । 

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले गौरव गर्ने मन्त्रीमा पर्नुभएको छ । मन्त्रीमण्डल पुनर्गठनपछि सोमबार उहाँलाई बिदाइ गर्दै पर्यटन सचिव महेश्वर न्यौपानेले कर्मचारीतन्त्रका लागि मन्त्री आले गौरव गर्ने मन्त्रीमा पर्नुभएको बताउनुभएको हो ।

नयाँमन्त्री जीवनराम श्रेष्ठको स्वागत कार्यक्रमअघि आयोजित बिदाइ समारोहमा सचिव न्यौपानेले मन्त्री आलेको करिब नौ महिना कार्यकालमा समग्र कर्मचारी र मन्त्रालयको प्रतिष्ठा बढेको बताउँदै मन्त्री आलेले काममा कहिल्यै दबाब नदिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उहाँ डर, दबाब, धम्की, आर्थिक प्रलोभनमा कहिल्यै पर्नुभएन, मनमा लागेको कुरा जे हो भनिहाल्नुहुन्थ्यो । कर्मचारीलाई दबाब पनि कहिल्यै दिनुभएन ।’ न्यौपानेले हुने कामलाई हुन्छ र नहुने कामलाई हुँदैन भन्ने मन्त्रीको बानीले जनताले उहाँलाई एक्सन मन्त्रीको उपाधि दिएको बताउनुभयो ।

न्यौपानेले मन्त्री आले मन्त्रालयमा बस्दा जहिल्यै जनताको पक्षमा काम गरेको बताउँदै भविष्यमा राष्ट्र निर्माणको अझ ठूलो भूमिकाका लागि शुभेच्छासमेत प्रकट गर्नुभयो । बिदाइ कार्यक्रममा बोल्दै मन्त्री आलेले आफ्नो पहिलो प्राथमिकता जहिल्यै राज्य र जनताको पक्षमा रहेको उल्लेख गर्दै अबको समय पनि नेपाली जनता र देशकै हकहितका काममा खटिरहने बताउनुभयो । उहाँले मन्त्रालय मातहतका निकायमा हुने गरेका विकृति विसङ्गतिको अन्त गर्दै जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन आफ्नो करिब नौ महिने कार्यकाल सफल भएको दाबी गर्नुभयो ।

उहाँले तारागाउँ विकास समितिको बौद्धमा अतिक्रमित जग्गा फिर्ता ल्याउने, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कार्यलाई अघि बढाउनेलगायतका जनमुखी कार्य अर्थ मन्त्रालयलगायतको असहयोगबाट अघि बढाउन नसकेको जानकारी गराउनुभयो ।उहाँले आउने मन्त्री जीवनराम श्रेष्ठलाई पनि आफूलाई जस्तै मद्दत गरेर जनताको नजरमा वाहवाही बटुल्न सक्ने बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्