किसानको खातामा पैसा पु-याउन सकस



बाँके ।

बाँकेमा दैनिकजसो नै कुनै न कुनै पार्टीले बाढीपीडित किसानलाई राहत दिन माग राख्दै आन्दोलन गरिरहेका छन् । आइतबार नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दियो भने राप्रपाले सोमबार कृषि ज्ञान केन्द्रमा ताला नै लगायो ।
गत कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति पु-याएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिले पालिकावाइज लिएको तथ्यांकअनुसार बेमौसमी वर्षाले ३८ करोड ४१ लाख ८६ हजार १ सय ६५ रुपियाँ बराबरको धानबालीमा क्षति पु‍-याएको थियो । केही पाकेर काटिसकेको र काट्ने तयारी गरेको धेरै धानलाई लगातार वर्षाले क्षति पु¥याएपछि चिन्तित बनेका किसानलाई खुसी बनाउन सरकारले राहत दिने घोषणा ग-यो ।
३८ करोड नै माग गरेर राहत मागिए पनि जिल्लामा १० करोड रुपियाँ आइपुग्यो । त्यो १० करोडलाई एक जना किसानलाई

क्षतिको ३६ प्रतिशत पहिलो किस्ता दिने निर्णय गरेर बैंक खाता मागियो । निर्देशिकाले पनि सोझै किसानको खातामा पैसा पठाउन भनेको छ । आठवटै पालिकाबाट किसानको बैंक खाता मागियो । शुरुमा डुडुवा गाउँपालिकाका किसानको खातामा पैसा पठाइयो । प्राविधिक कारणले किसानले पैसा पाइसकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत किसानको खातामा पैसा जम्मा गर्न दौडिरहेका छन् । किसानको खातामा पैसा पु-याउन सकस भएको छ । किसानले पेन्सन, सामाजिक सुरक्षा भत्ताको खाता नम्बर दिएका छन् । यसमा बैंकले पैसा जम्मा गर्न मानेको छैन । कतिपय किसानले खाता नम्बर त दिएका छन्, केवाईसी भरेका छैनन् ।

कतिपय बैंक मर्ज भएका छन् । किसानले मर्ज भइसकेपछि बनेको नयाँ बैंकमा गएर खाता भेरिफाइ गरेका छैनन् । केहीले पीडित किसानमा आफ्नो नाम भरेका छन्, बैंक खाता नम्बर श्रीमतीको दिएका छन् । जिल्ला प्रशासन कार्यालयले धेरै जनाको नाममा एउटै चेक काटेको छ । तीमध्येमा एक जनाको मात्रै खाता नम्बर नमिल्दा कसैको पनि पैसा जम्मा हुन सकेको छैन । बैंकले चेक फिर्ता गर्ने गरेको छ । यी कारणहरुले गर्दा किसानको खातामा पैसा जम्मा हुन सकेको छैन ।

डुडुवामै यस्तो समस्या देखिएपछि अरू सातवटा पालिकालाई किसानको खाता भेरिफाई गरेर पठाउन निर्देशन दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले प्राविधिक कारणले गर्दा किसानको खातामा पैसा पु¥याउन गाह्रो भइरहेको बताउनुभयो । विपक्षी ठूला पार्टीले बाढीपीडितको राहत रकमलाई इस्यु बनाएर आन्दोलन गरिरहँदा जिल्ला विपद् व्यवस्थापन समितिले स्वयं किसान र बैंकको कारणले गर्दा किसानको खातामा पैसा पु-याउन सकेको छैन ।

बाँकेमा ३९ हजार ४ सय ८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो । खजुरा गाउँपालिकामा ५ हजार ३ सय १० किसानको ९७ हजार ४ सय ३४ कठ्ठामा धानबाली क्षति भएको थियो । खजुराले ५ करोड ६७ लाख ६४ हजार ४ सय ४८ रुपियाँ क्षतिपूर्ति माग गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा ५ हजार ९ सय २२ किसानले ८९ हजार ५ सय ४१ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १० करोड ८ लाख १ हजार २ सय ५७ रुपियाँ माग गरेको थियो । बैजनाथ गाउँपालिकाले ४ हजार १५ किसानले लगाएको १३ हजार ४ सय ६७ कठ्ठामा लगाएको धानबालीमा नोक्सानी भएको भन्दै १ करोड ६९ लाख ५० हजार ९ सय ४९ रुपियाँ माग गरेको हो ।

जानकी गाउँपालिकाले ४ हजार ३ सय ८६ किसानको ५९ हजार ८ सय ११ कठ्ठाको धान नोक्सान भएको भन्दै ४ करोड ३४ लाख ११ हजार ९ सय २७ रुपियाँ माग गरेके छन् । कोहलपुर नगरपालिकाले र्२ हजार १ सय ९४ किसानको १४ हजार ४ सय ५२ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १ करोड १५ लाख १ सय ८० रुपियाँ माग गरेको थियो । राप्तीसोनारी गाउँपालिकामा ४ हजार ६ सय ८३ किसानको ६९ हजार ३ सय २७ कठ्ठाको धान नोक्सान भएकाले ६ करोड ६४ लाख ४८ हजार ३ सय ४३ रुपियाँ माग गरिएको छ ।

नरैनापुर गाउँपालिकामा ७ हजार ५ सय ६८ किसानको १ लाख ९ हजार १ सय ३० कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ५ करोड ७८ लाख ३० हजार २ सय ७५ रुपियाँ माग गरिएका छन् । डुडुवा गाउँपालिकाले ५ हजार ४ सय ४ किसानको ६४ हजार ४ सय ४९ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ३ करोड ४१ लाख ५३ हजार २ सय १६ रुपियाँ माग गरेको छ ।बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके आत्मनिर्भर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्