८२ वर्षमा मतदाता



हेटौंडा । 

हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीकी इन्द्रमाया डल्लाकोटी ८२ वर्षको उमेरमा मतदाता बन्नुभएको छ । बुधबार हेटौंडा–५ मा रहेको वागमती प्रदेश निर्वाचन कार्यालय पुगेर नाम दर्ता गरेपछि उहाँको अनुहारमा छुट्टै चमक देखियो ।

इन्द्रमाया आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन परिवारको सहारामा निर्वाचन कार्यालय पुग्नुभएको थियो बुढेसकालले छोएर चाउरी परेका हातले आफूलाई मनले खाएको पार्टीलाई भोट दिने रहर पूरा गर्न साथमा नाति र हातमा लौरोको साहरामा इन्द्रमाया नेवारपानीबाट करिब १० किमि पर सानोपोखरास्थित कार्यालय पुग्नुभएको हो ।

चर्को घामका कारण पसिनाले ज्यान भिजे पनि इन्द्रमायाको चाउरिएकोे गाला मुस्कानले टलक्क देखिन्थ्यो । उहाँ यति धेरै खुसी हुनुका कारण एउटै थियो– अब आफूलाई मनपर्ने उम्मेदवारलाई भोट हाल्न पाइन्छ, अरूले जस्तै ।‘वृद्धभत्ता खाइरहेकी छु । भोट हालेर के हुन्छ र भनेर भोटकार्ड बनाइएन । नातिहरुले ल्याए । अस्तिन नि भोट हाल्न त मन लागेको थियो । नाम नभई भोट खसाल्न पाइन्न“ भनेर बुहारीहरुले भनिन्’, उहाँ भन्नुहुन्छ– ‘त्यही भएर बुहारी, नाति सबै मिलेर नाम लेखाउन ल्याएका हुन् । बुढेसकालमा भए पनि आफ्नो अधिकार पाएकोमा उहाँको खुसीको सीमा छैन ।

प्रतिक्रिया दिनुहोस्