हात्ती नियन्त्रणमा जनप्रतिनिधि र प्रशासनले देखाए चासो



भद्रपुर । 

झापामा हात्तीको दीर्घकालीन समस्या समाधानका लागि सांसद, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रहरी उपरीक्षक लगायतले चासो देखाएका छन् । उनीहरूको टोलीले भारतबाट हात्ती छिर्ने मुख्य सीमा नाका मेचीनगर–४ स्थित भन्सार गौंडाको मलामी टोलमा निरीक्षण पश्चात् चासो देखाएका हुन् ।

प्रतिनिधिसभा सदस्य राम कार्की, प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, वडाध्यक्ष अर्जुनकुमार कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेल, सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता प्रेम भण्डारी लगायतल निरीक्षण गरेका थिए । निरीक्षण पश्चात् हात्ती छेक्न तत्काल विद्युतीय तारबारलाई मर्मत गर्नुको विकल्प नरहेको नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।

निवर्तमान नगरप्रमुख आचार्यको कार्यकालमा भन्सार गौंडामा हात्ती छेक्न केही ठाउँमा तटबन्ध गरिए पनि त्यसको दायाँ–बायाँबाट हात्ती छिरिरहेका छन् । मेचीनगरका जनता वर्षौदेखि हात्तीबाट पीडित बनेका उनीहरुको दीर्घकालीन समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार लाग्ने उहाँले स्थनीयवासीलाई आश्वासन दिनुभएको थियो । कार्यपालिकाको बोर्ड वैठकले निर्णय गरिसकेकाले अब सीमा क्षेत्रमा चाँडै विद्युतीय तारबार मर्मत गरिने बुढाथोकी बताउनुहुन्छ ।
मेचीनगर–६ को बर्मेली टोलदेखि इलाम–सलकपुर छेउ तिरिङसम्मको करिव २५ किलोमिटर नेपालतर्फ तटबन्ध निर्माण गर्न जरुरी रहेको जानकारी गराइएको थियो । त्यसका लागि करिव १ अर्ब बजेट आवश्यक पर्ने नगर प्रमुखको अनुमान छ । तटबन्ध गर्न सके भारतबाट हात्ती नआउने, नदी नियन्त्रण र सिद्दीखोलाको नहरलाई त्यहाँ जोड्न सकिने बुढाथोकीले बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजनमा हात्तीको समस्याका विषयमा बृहत् छलफल गरी अवधारणा बनाएर केन्द्रको ध्यानाकर्षण गराउने योजना रहेको जनाउनुभयो । मेचीनगर–४ का वडाध्यक्ष कार्कीले भन्सार गौडामा मात्र सांसदको टोलीलाई भारतबाट हात्ती आउने ठाउँ र यहाँका समस्याका बारेमा जानकारी गराउँदै स्थानीय २० जनालाई हात्ती धपाउन टर्चलाइट वितरण गर्नुभएको थियो ।

त्यस्तै, मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेती, स्थानीय शङ्कर लुइँटेललगायतले हात्तीबाट भएको मानवीय तथा धानबालीको क्षति, समस्या र समाधानका विषयमा टोलीलाई अवगत गराउनुभएको थियो । सबैभन्दा पहिले निर्माण गरिएको बाहुनडाँगीको तिरिङदेखि दक्षिण काँकडभिट्टा छेउसम्मको १८ किलोमिटर विद्युतीय तारबारमा भारतबाट आउने हात्तीको बथानले तोडफोड गरेको पाइएको छ । भारतबाट १ सयको हाराहारीमा हात्ती आउने गर्दा तिनलाई धपाउन सकिने सम्भावना हुँदैन । अर्कातिर स्थानीय जंगलमा एक दर्जन रैथाने हात्ती छँदै छन् ।

विगतमा हात्ती छेक्न लगाएको सोलार फेन्सिङ (विद्युतीय तारबार) भत्किएको छ । काम नै नलाग्ने अवस्थामा पुगेपछि दिनहुँ हात्ती हुलका हुल छिरिरहेका छन् । स्थानीयको धानबालीमा क्षति पुगेको छ भने घर भत्काउने, मानिसलाई घाइते बनाउने र मार्नेसम्मको हर्कत हात्तीले गरिरहेको स्थानीयको भनाइ छ । यसमा तीनवटै सरकारले ध्यान दिएको अवस्था छैन । हात्तीबाट धानबालीमा क्षति हुँदा सरकारले सामान्य राहत बाहेक अरू केही दिएको छैन ।

झापामा जंगली हात्तीका कारण ५३ जनाले ज्यान गुमाइसकेका छन् । जसमा ५ जना भुटानी शरणार्थी बेलडाँगी दमकका रहेका छन् । वर्षेनी करोड बढी धनजनको क्षति हुँदै आएको छ । यस्तै, १३ वटा हात्ती मान्छेका कारण मरेका छन् । झापामा हाल १३ वटा रैथाने जंगली हात्ती रहेको अनुमान गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्