अन्तर वडा टेबलटेनिसलाई पूर्णशंकरको साथ



काठमाडौं । 

स्पिन इभेन्ट्सको आयोजनामा दोस्रो देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आगामी भदौ २१ देखि २५ गतेसम्म हुने प्रतियोगितालाई समाजसेवी पूर्णशंकर श्रेष्ठले प्रायोजन गर्ने भएका छन् ।

स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र प्रायोजक श्रेष्ठले बिहीबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे । सो सम्झौताअनुसार प्रायोजक श्रेष्ठले प्रतियोगिता आयोजनाका लागि लाग्ने कुल बजेटको ५० प्रतिशत रकम उपलब्ध गराउनेछन् । स्पिन इभेन्ट्सका अध्यक्ष शाक्यले प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपियाँ खर्च हुने जानकारी गराए ।

आयोजकले सात स्पर्धा समावेश प्रतियोगितामा नेपालभरमा रहेका वडाबाट पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरेको छ । प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल पुरुष भेट्रान्स एकल ४० वर्षमाथि, पुरुष भेट्रान्स एकल ५० वर्ष माथि र पुरुष भेट्रान्स एकल ६० वर्षमाथि इभेन्टमा खेल हुनेछ ।यस प्रतियोगतामा नेपालका शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।

पुरुष-महिला एकलमा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ७ हजार ५ सय नगद पुरस्कार पाउनेछन् । भेट्रानतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपियाँ पुरस्कार पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार रुपियाँका साथै रनिङ शिल्ड प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्