गठवन्धनका उम्मेदवार सहित काभ्रेपलाञ्चोकमा ९ सय ३३ उम्मेदवारको जमानत जफत



काभ्रे । 

काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका २ हजार ४ सय ६७ मध्ये ९ सय ३३ जनाको जमानत जफत भएको छ । नेकपा एमाले विरुद्ध गठवन्धन गरेका सत्तारुढ दलले धुलिखेलमा दर्ता गराएको नेकपा समाजवादीका प्रमुख पदका उम्मेदवार दयासागर श्रेष्ठको समेत जमानत जफत भएको छ । गठवन्धनका उम्मेदवारलाई एमालेका उम्मेदवारले भारी मतले पराजित गरेका छन् ।

धुलिखेल नगर प्रमुखमा गठवन्धनको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका दयासागर श्रेष्ठले कलम चिन्हबाट १ हजार ८ सय १९ मत प्राप्त गरेका थिए । धुलिखेल नगरपालिकामा २५ हजार ६ सय ८ मतदाता मध्ये १९ हजार १९ हजार ६ सय ६९ मत खसेको थियो । खसेको मत मध्ये १ सय ९६ मत बदर भएको थियो । धुलिखेल नगरपालिकामा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु दोश्रो पटक ९ सय ४० फराकिलो मतान्तरले विजयी हुनु भएको थियो ।

ब्याञ्जुले ८ हजार ३ सय ४९ मत प्राप्त गर्नु भएको थियो । ब्याञ्जुलाई काँग्रेसबाट बागि उठेका स्वतन्त्र उम्मेदवार विदुर बस्नेत ७ हजार ९ सय १० मत ल्याएर निकटक प्रतिस्पर्धी बनेका थिए । धुलिखेलमा गठवन्धनले दयासागरलाई मत नदिई काँग्रेसले बागि उठाएका बस्नेतलाई मत राख्न ह्विप लगाएका थिए । त्यहि कारण गठवन्धनका उम्मेदवार दयासागर श्रेष्ठको जमानत जफत भएको हो ।धुलिखेलमा ९८ जना उम्मेदवारले जमानत गुमाएका छन् । सबैभन्दा धेरै बनेपा नगरपालिकामा १ सय २८ जनाले जमानत गुमाएका छन् भने पनौतीमा १ सय २६ जनाले जमानत गुमाएका छन् ।

खानीखोलामा २७, चौरीदेउरालीमा ४३, तेमालमा ८२, नमोबुद्ध ६१, पाँचखालमा ६३, बेथान्चोमा ३६, भुम्लुमा ६३, मण्डनदेउपुरमा ८९, महाभारतमा ३६ र रोशीमा ८१ जना उम्मेदवारले जमानत गुमाएका छन् । निर्वाचनका लागि २ हजार ७ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएको भए पनि गठवन्धनका कारण २ सय ६६ जनाले फिर्ता गरेका थिए । उम्मेदवारी दर्ता गरेका मध्ये ८ सय ३४ जनाको जमानत जोगिएको छ ।

गठवन्धनका कारण प्रतिस्पर्धामा भाग लिएका मध्ये दलित महिला सदस्य २७ जना, महिला सदस्य ३४ जना, खुल्ला सदस्य ९१ जना, वडा अध्यक्ष ९१ जना, उपप्रमुख तथा उपाध्यक्ष १० जना र प्रुमख पदमा उम्मेदवारी दिने १३ जनाले फिर्ता लिएका थिए ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लाका १३ जना नगर प्रमुख तथा गाउँपालिका अध्यक्षका लागि ९१ जना, १३ उपप्रमुख तथा उपाध्यक्षका लागि ५८ जना, १ सय ३५ वटा वडा अध्यक्ष पदका लागि ६ सय ७० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

यसैगरी १३५ वटा वडामा एक वडा दुई खुल्ला सदस्य २७० पदका लागि एक हजार ३७ जना, १३५ दलित महिला सदस्य पदका लागि ४८७ जना र १३५ जना महिला सदस्यका लागि ४ सय ३० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिनुभयो । काभ्रेका १३ वटा स्थानीय तहमा प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी ७ सय १ वटा पदमा निर्वाचन भएको थियो ।

खानीखोला गाउँपालिकामा १ सय ११ जना, चौरीदेउराली गाउँपालिकामा १ सय ९३ जना, तेमाल गाउँपालिकामा २ सय ४ जना, धुलिखेल नगरपालिकामा २ सय ३७ जना, नमोबुद्ध नगरपालिकामा २ सय २८ जना, पनौती नगरपालिकामा २ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी जिल्लाको पाँचखाल नगरपालिकामा २ सय ४१ जना, बनेपा नगरपालिकामा ३ सय १६ जना, बेथानचोक गाउँपालिकामा १ सय ४५ जना, भुम्लु गाउँपालिकामा १ सय ९३ जना, मण्डनदेउपुर नगरपालिकामा २ सय ७६ जना, महाभारत गाउँपालिकामा १ सय २६ जना र रोशी गाउँपालिकामा २ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचनबाट गठवन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका १३ वटा पालिकाको २६ पद मध्ये २२ पदमा विजय हासिल गरेका छन् भने एमाले एक्लैले ४ सिट प्राप्त गरेको छ । गठवन्धनका तर्फबाट काँग्रेसले ४ प्रमुख ३ अध्यक्ष, २ उपप्रमुख र ४ उपाध्यक्षमा विजय प्राप्त गरेको छ । काँग्रेसले माओवादीलाई पाँचखालमा उपप्रमुखमा असहयोग गरेर पराजय गराएको छ भने बनेपा, धुलिखेल, पनौतीमा समाजबादीलाई असहयोग गरेको छ । त्यस्तै माओवादीले ४ वटा पालिकामा अध्यक्ष र एक पालिकामा उपप्रमुख सहित ३ वटा पालिकामा उपाध्यक्ष विजयी भएको छ ।

समाजबादीले एउटा पालिकामा प्रमुख मात्रै प्राप्त गरेको छ । नेकपा एमाले धुलिखेलमा प्रमुख सहित बनेपा, पनौती र पाँचखालमा उपप्रमुख पदमा विजयी भएको छ । ४३ वटा वडा सहित २ सय ४५ सिटमा एमाले, ६० वडा अध्यक्ष सहित ३ सय १४ पदमा नेपाली काँग्रेस, २५ वडा अध्यक्ष सहित १ सय १२ पदमा माओवादी र ४ वडा अध्यक्ष सहित २१ पदमा समाजवादी विजयी भएका छन् । राप्रपा १, स्वतन्त्र ७ जनाले विजयी हासिल गरेका छन् । काभ्रेमा ७ सय १ मध्ये तेमाल ३ मा दलित सदस्य नभएकाले ७ सय जनप्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्