जहाँ ३९ सालदेखि ‘सुवेदी’ मात्रै छाइरहे

यसपालि अधिकारीको इन्ट्री !



पोखरा  । 

पोखरा नगरपञ्चायतदेखि महानगरपालिकासम्म आइपुग्दा पोखरा २४ नम्बर वडामा रमाइलो संयोग छ । तत्कालीन कास्कीकोट गाउँ पञ्चायत रहेको उक्त वडा यस्तो वडा हो, जहाँ २०३९ सालदेखि केवल सुवेदीले मात्रै शासन गरिरहे । तर, यसपटकको उक्त स्थानमा अधिकारीको प्रवेश भएको छ ।

कास्कीकोटमा ३९ सालदेखि नै लगातार सुवेदीले एकल राज गरिरहेकोमा अहिले नेपाली कांग्रेसबाट भरतराज अधिकारीले प्रवेश गर्नुभएको छ । सत्तारुढ ५ दलीय गठबन्धनको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका अधिकारीले नेकपा एमालेका रामचन्द्र थापालाई पराजित गर्नुभएको हो ।

तत्कालीन गाउँ पञ्चायतमा २०३९ साल वैशाख २ मा पहिलोपटक वेदप्रसाद सुवेदी प्रधानपञ्च चुनिनुभएको थियो । २०४६ सालपछि गाउँ पञ्चायतबाट परिवर्तन हुँदै गाउँ विकास भयो । संघीय शासन प्रणाली लागु भइसकेपछि ०७४ सालमा कास्कीकोट, लेखनाथनगर पालिका लगायत जोडिएर भूगोलका हिसाबमा देशकै ठूलो महानगर भयो ।

तर, प्रधानपञ्चदेखि निरन्तरता पाएको ‘सुवेदी’ रफ्तारले महानगर भइसक्दासमेत बाजी मारिरह्यो । २०४४ मा देवी सुवेदी कास्कीकोट गाउँ पञ्चायतको प्रधानपञ्चमा चुनिनुभयो । पछि गाउँ विकास समिति भइसकेपछि अध्यक्षमा शिव सुवेदी चुनिए । २०४८ सालमा दलीय निर्वाचन हुँदा उहाँ नेकपा एमालेबाट अध्यक्ष चुनिनु भएको थियो ।२०५४ मा आइपुग्दा पहिलो पटक देशैभरि बहुदलीय चुनाव भएको थियो । उक्त चुनावबाट पनि कास्कीकोटको अध्यक्षमा सुवेदी नै दोहोरिए । त्यतिबेला नेकपा एमालेबाटै भुवनेश्वर सुवेदी आउनुभयो ।

पछि २०७४ सालमा कास्कीकोट पोखरासँग गाभिएर पोखरा महानगरको २४ नम्बर वडा भयो । तर, महानगरको एक अंग भइसक्दा पनि उक्त क्षेत्रमा सुवेदी बाहिरिएनन् । उक्त वडामा नेकपा एमालेबाटै ओम सुवेदी निर्वाचित हुनुभयो ।यसपटक उक्त वडामा सुवेदी थरको उम्मेदवार नभएकै कारण सुवेदी इतरले पालो पाएको त्यहाँका स्थानीयको विश्लेषण छ । प्रमुख दाबेदारीमा थापा र अधिकारीबीच प्रतिस्पर्धा हुँदा अधिकारीले बाजी मारे । ‘यसपटक पनि सुवेदी र त्रिपाठीमध्ये एकजना उठाएको भए उनैले जित्ने पक्का थियो’ – पोखरा २४ का स्थानीय भन्छन् ।

मतगणना बिथोल्ने प्रयास

पोखरा महानगरपालिकामा मत गणना भइरहँदा एमाले कार्यकताहरूले मतगणनालाई बिथोल्ने प्रयास गरेका छन् । उनीहरूले जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा कर्मचारीलाई थर्काएपछि मतगणना बिथोल्ने प्रयास गरेको हो । अवस्था अहिले सामान्य भइसकेको छ । मतगणना बिथोल्न खोज्नेहरूलाई सुरक्षा दलले नियन्त्रणमा लिएको छ । वडा ७ को मतगणना चलिरहँदा विवाद भएको हो । उनीहरूले अन्य मतगणना स्थलमा समेत कब्जा गर्न खोजेका थिए ।एमाले कार्यकर्ताले पत्रकारलाई समेत धम्की दिएका छन् । उनीहरूले घटनाबारे जानकारी लिन खोज्दा पत्रकारलाई झापड हान्ने र बाहिर निस्किन नदिने भन्दै धम्की दिएका थिए ।एमालेले एकातिर मतगणना बिथोल्न खोजेका थिए भने अर्कातिर वडा नम्बर ६ मा भने कांग्रेससँग संयुक्त विजयी -याली निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्