बागीको बिगबिगी



मिल्नु, एकीकृत हुनु र सहयात्रा गर्नु सदा स्वागतयोग्य विषय मानिन्छ । तर, ‘पोजिटिभ’ हुनु सामान्यतः सकारात्मक विषय भए पनि कोरोना संक्रमणको सन्दर्भमा राम्रो नभएजस्तै स्थानीय निर्वाचनमा दलहरुबीचको गठबन्धन पनि सकारात्मक मानिएन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापालाई सूर्य चिन्ह दिएर एमालेले सहयात्रा गरेको कार्यलाई पनि जनताले राम्रो ठानेनन् ।

मुलुक निर्दलीय अभ्यासतिर लागेको संकेतका रुपमा यस गठबन्धन अभ्यासलाई लिए । सिद्धान्तविहीनताको राजनीति गर्ने हो, दलविहीनता खोजेकै हो भने स्थानीय तहमा दलभन्दा विकास चाहिन्छ भन्ने हो भने राज्यसञ्चालन प्रक्रिया नै किन नबदल्ने भन्ने प्रश्न खडा भएको छ ।
खासगरी, यतिबेला पाँचदलीय गठबन्धनमा बागी उम्मेदबारको बिगबिगी छ । सिद्धान्त विहीनतालाई पार्टी नेतृत्वले अंगीकार गरेका कारण यो अवस्था आएको हो ।

संघीय निर्वाचनसम्म गठबन्धन नभत्काउने दाबी गरेर स्थानीय निर्वाचनमा होमिएका पाँच दललाई बागी फकाउन हम्मे परेको छ । देशभरका ७ सय ५३ स्थानीय निकायमा प्रमुख, उपप्रमुख र सदस्यमा ३५ हजार २ सय २१ पद चाहिन्छ । तीमध्ये गठबन्धनकै तर्फबाट ७४ हजार ७ सय ३४ जनाको उम्मेदवारी परेको छ । सबै पदमा करिब १ लाख ५० हजार उम्मेदवाारी परेकोमध्ये गठबन्धनले तोकेको भन्दा तीनगुणा बढी उम्मेदवारी परेको छ ।

गठबन्धनका तर्फबाट निर्वाचन संयोजकको जिम्मेवारी पाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । पाँचदलीय गठबन्धनका तर्फबाट पाँचै पार्टीका अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गरी वागी उम्मेद्दारी फिर्ता लिन निर्देशन दिइसकेका छन् । तर, सो निर्देशन पालना हुन सकेको छैन । गठबन्धमा रहेका सबै दलले आ–आफ्नो अडान लिने र आफू निकटका उम्मेदवार उठाउने प्रवृत्ति बढेपछि समस्या देखिएको छ ।

भरतपुर महानगरपालिकामा नेपाली काग्रेसका नेता स्वतन्त्र उम्मेद्दार जगन्नाथ पौडलले उम्मेद्दारी दिएका छन् । उनलाई फकाउन गृहमन्त्री वालकृष्ण खाड र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेका छन् । प्रचण्डपुत्री रेणु दाहाललाई टक्कर दिन उनले उम्मेदवारी दिएका हुन् । बागी उम्मेदवारले देशैभर हैरान बनाएपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक अपिल जारी गरे । नेता शेखर कोइरालाले गठबन्धन फुट्न नहुने धारणा सार्वजनिक गरे ।

सबै पार्टीले राम्रालाई भन्दापनि राम्रालाई उम्मेदवार छनौट गरेको कारण बागीको संख्या बढेको हो । बागी उम्मेदवार फिर्ता नभएर दलकै नेताले स्वतन्त्र उम्मेदवार दिएको कारण समस्या बढेको छ । बढीजस्तो नेकपा माओवादी, नेकपा एस र नेपाली कांग्रेसमा बागी छन् । ६ महानगर र ११ उपमहानगरपालिका बागीमय बनेका छन् ।

कतिपय नगरपालिका र गाउँपालिकामा यस्तै समस्या बल्झेको छ । गठबन्धनका नेताहरुले यो विषयमा तत्काल समस्या समाधान गर्न नसके गठबन्धन टुट्नसक्ने सम्भावना देखिन्छ । त्यसैले गठबन्धन टुट्न नदिन बागी उम्मेदवारी फिर्ता लिनु जरुरी छ । यस जरुरीलाइ पूरा गर्न नेतृत्वले छोरी, बुहारी, भाउजु, श्रीमती आदिलाई प्राथमिकता दिएर आधिकार उम्मेदवार बनाएकोमा कार्यकर्ता तथा समर्थकहरुसँग माफी माग्नुपर्ने हुन्छ । जनतासँग झुक्न नजान्ने नेताका कारण समस्या अझ बढ्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्