एउटै वडाका चारजना उपमेयरका उम्मेदवार



गलेश्वर ।

म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाका चार महिलाले उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।

नगरपालिका ६ का अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँले उपमेयर पदमा उम्मेदवारी दिएका हुन् ।

अमृतदेवीले नेपाली कांग्रेसबाट, पशुपतिले नेकपा (एमाले)बाट, ज्योतिले नेकपा (माओवादी केन्द्र)बाट र मुनाले नेकपा (एकीकृत समाजवादी)बाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुन् । २०५४ मा वडा नम्बर ९ अर्थुंगेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गरेकी उनी कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भएकी छिन् ।

एमालेकी उम्मेदवार पशुपति पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुन् । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत संघसंस्थामा आबद्ध भई उहाँ सामाजिक कार्यमा क्रियाशील छिन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी ज्योति पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी हुन् । २०६० सालदेखि राजनीतिमा सक्रिय उनी यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित भएकी हुन् ।

एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हुन् । २०४८ सालदेखि राजनीतिमा सक्रिय उनी यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिइन् ।

प्रतिक्रिया दिनुहोस्