जिल्लामा निर्वाचन सामग्री पठाउन शुरू



काठमाडौं ।

निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । उहाँले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका अघि बढाउन आयोगले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको बताउनुभयो ।

प्रवक्ता पौडेलका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणासमेत त्यही कार्यालयले गर्नेछ । काठमाडौंमा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

सदरमुकाम बाहेकका ठाउँमा गाउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगले जनाएको छ । कार्यालय स्थापना गरिएसँगै बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बुमा निर्वाचन सामग्री पठाइएको जानकारी दिँदै प्रवक्ता पौडेलले अन्य जिल्लाहरूमा पनि क्रमशः निर्वाचन सामग्री पठाइने बताउनुभयो । उहाँका अनुसार आयोगले निर्वाचन सामग्री करिब १० दिनभित्र सबै जिल्लामा पठाइसक्नेछ ।

आयोगले अहिलेसम्म १ करोड १९ लाख मतपत्र छापिसकेको छ भने निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका करिब १० हजारभन्दा बढी पर्यवेक्षकलाई तोकिएको मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्न अनुमति दिइएको प्रवक्ता पौडेलको भनाइ छ । यद्यपि, उनीहरूले आफ्नो मतदाता नामावली रहेको मतदान स्थलमा भने पर्यवेक्षण गर्न भने पाउने छैनन् । साथै पर्यवेक्षणको काम सकेपछि उनीहरूले आयोगमा प्रतिवेदन बुझाउनुपर्नेछ ।

आयोगले आचारसंहिता विपरीतका निर्वाचन सामग्री उत्पादन नगर्न पनि आग्रह गरेको छ । निर्वाचन आचारसंहिता २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्री वितरण तत्काल बन्द गर्न प्रवक्ता पौडेलले आग्रह गर्नुभएको छ ।

यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका सामग्री उत्पादन नगर्न, नगराउनका लागि परिपत्र गरी सहयोग गर्न पनि आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्