सरकारसँगै नीति फेरिँदा चिनियाँ लगानीकर्ता समस्यामा : चिनियाँ राजदूत



काठमाडौं ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा चिनियाँ लगानीकर्ताहरू समस्यामा परेको बताउनुभएको छ । चिनियाँ दूतासबासले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा यस्तो गुनासो पोख्नुभएको हो ।

उहाँले ठूला आयोजना बनाउन लामो समयसम्म तयारी गर्नुपर्ने र त्यसै गरी उक्त आयोजना सम्पन्न हुन पनि लामै समय लाग्ने जिकिर गर्दै त्यस बीचमा सरकार परिवर्तनसँगै हुने लगानी नीति परिवर्तनले चिनियाँ लगानीकर्ता मारमा परेको गुनासो गर्नुभयो । उहाँले प्रस्ट रूपमा कुनै परियोजनाको नाम नलिए तापनि ओली नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिइसकेको बुढीगण्डकी परियोजना वर्तमान सरकारले दुई साताअघि आफैं बनाउने निर्णय गरेकोप्रति लक्षित थियो । उहाँले भन्नुभयो–‘लोकतान्त्रिक मुलुकमा सरकार परिवर्तन भइरहनु नौलो कुरा होइन । यो यहाँको आन्तरिक मामिला हो । तर, सरकार फेरिएसँगै नीति परिवर्तन हुँदा विदेशी लगानीकर्तालाई सकस हुन्छ । त्यसैले लगानीसम्बन्धी नीतिगत विषयले जुनसुकै सरकारको पालामा पनि निरन्तरता पाउनुपर्छ ।’

त्यतिमात्रै होइन, राजदूत हाउले नेपालमा काम गरिरहेको चिनियाँ कम्पनीहरू समयमै भुक्तानी नपाउँदा ठूलाठूला परियोजनाहरूको कार्य सम्पादनमा प्रत्यक्ष असर परिरहेको पनि बताउनुभयो । अधिकांश चिनियाँ कम्पनीहरू सडक निर्माण, जलविद्युत् आयोजना निर्माणमा संलग्न रहेको जिकिर गर्दै उहाँले भन्नुभयो–‘काठमाडौं चक्रपथ निर्माणका क्रममा चिनियाँ कम्पनीले घरजग्गा अधिग्रहण, रूख कटानलगायतका समस्या भोगेका थिए । अहिले अन्य परियोजनामा त्यस्ता समस्याहरू छन् । नेपाली पक्षले यी समस्याहरू समाधान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

पत्रकार सम्मेलनमा तातोपानी नाका पुनः शुरू गर्नेबारे सोधिएको प्रश्नमा चिनियाँ राजदूत होउले छिट्टै नै उक्त नाका शुरू हुने बताउनुभयो । यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीबीच छलफल भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘दुवै पक्षले कूटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परामर्श गर्न, सीमासम्बन्धी मामिला र हाम्रा दुई देशबीचको सहकार्यलाई व्यवस्थित बनाउन समन्वय गरिरहेका छन् ।’ उहाँले कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिले नाका व्यवस्थित हुन नसकेको जिकिर गर्दै उक्त नाकाको विषयलाई लिएर चीनले ‘सफ्ट ब्लकेड’ गर्यो भन्नु सरासर गलत भएको दाबी पनि गर्नुभयो ।

पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले नेपाल र चीनबीच विद्युत् प्रसारण लाइन बनाउने विषयमा छलफल भइरहेको जानकारी दिँदै नेपालमा बढी भएको विद्युत् चीनमा निर्यात गर्न सकिने बताउनुभयो । उहाँले यसका लागि आवश्यक प्रसारण लाइन निर्माणको विषयमा दुई देशबीच छलफल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले नेपाल–चीन सीमानजिकै साना आर्थिक क्षेत्र बनाउनेबारे पनि छलफल भइरहेको र नेपालमा बढी भएको विद्युत् त्यही आर्थिक क्षेत्रमा पनि प्रयोग गर्न सकिने सम्भावना रहेको जानकारी दिनुभयो ।

त्यसै गरी चीनमा अध्ययनरत् नेपाली विद्यार्थीलाई चीन फर्काउने सम्बन्धमा सोधिएको प्रश्नको उत्तरमा उहाँले चीन यसमा सकारात्मक रहेको जानकारी दिँदै यसका लागि नेपाल र चीनबीचको सीधा हवाई उडान पुनः सञ्चालनको तयारी भइरहेको बताउनुभयो । विद्यार्थीहरू सम्बन्धित विश्वविद्यालयको सम्पर्कमै रहेको र नेपालमा पनि अनलाइन कक्षा लिइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अहिले चीनमै रहेका विद्यार्थीहरूले पनि भौतिक कक्षा लिएका छैनन् । उनीहरू पनि अनलाइनबाट नै कक्षा लिइरहेका छन् । तैपनि सीधा उडान सञ्चालन हुनेबित्तिकै ती विद्यार्थीहरू चीन फर्कने व्यवस्था मिलाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्