मेयरमा राप्रपाको जिल्ला अध्यक्षसहित तीन जनाको नाम सिफारिस



खोटाङ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरका आकांक्षीको नामावली सिफारिस गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी सम्बद्ध गठबन्धन र नेकपा एमालेले हालसम्म उम्मेदवारको टुंगो लगाउन नसकिरहेको अवस्थामा राप्रपा नगर कमिटीले मेयरमा जीवनकुमार श्रेष्ठ, ललितकुमार राई र विनोद बस्नेत तथा उपमेयरमा चन्द्रकुमारी राई तारा, टिकाकुमारी खत्री र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरेको हो ।

बिहीबार दिक्तेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पर्क कार्यालय उद्घाटनका क्रममा राप्रपाले नगरपालिकाको उम्मेदवारको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गरेको जानकारी दिएको हो । उम्मेदवारमा सिफारिस भएका श्रेष्ठ राप्रपाका निवर्तमान जिल्ला अध्यक्ष र राई वर्तमान जिल्ला अध्यक्ष हुन् । बस्नेत क्षेत्र (ख)का उपाध्यक्ष हुन् ।

यस्तै, उपमेयरमा सिफारिस भएकी विश्वकर्मा राप्रपाकी जिल्ला कोषाध्यक्ष, राई राप्रपाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष र खत्री नगर कमिटी उपाध्यक्ष हुन् । खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन् । जिल्लाका अन्य स्थानीय तहबाट पनि आकांक्षीको नामावली सिफारिस भएर आएको राप्रपाका जिल्ला अध्यक्ष राईले बताए । सिफारिस भएर आएका नामावलीमध्येबाट सहमतिमा उम्मेदवारको टुंगो लगाइने राप्रपाले जनाएको छ ।

जिल्लामा गठबन्धन दलले प्रमुख र उपप्रमुखको भागबण्डा गरेपछि उम्मेदवार टुंग्याउन सकेको छैन । यस्तै, एमालेले पनि हालसम्म प्रमुख र उपप्रमुखको टुंगो लगाएको छैन । विशेषगरी उम्मेदवार सिफारिसमा कतिपय स्थानीय तहमा कांग्रेसभित्र विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्