मुलुकको व्यवस्थापन



मुलुकको व्यवस्थापन कमजोर बन्दैगएको प्रष्ट छ । विश्वले नेपालको राज्यव्यवस्था, प्रशासनिक अवस्था, अर्थराजनीति कस्तो छ भनेर हेर्दा आम नेपालीले गौरव गर्ने कुन विषय पाउला भनेर मनन गर्दा निराशा मात्र हातलाग्छ । एकातिर आर्थिक भ्रष्टाचार सर्वत्र देखिन्छ भने नैतिक र चारित्रिक भ्रष्टाचारले आर्थिक भ्रष्टाचारलाई पनि उछिनेको छ । आन्तरिक व्यवस्थापन सही ढंगले गर्न नसक्दा मुलुकको अवस्था विगतमा कहिल्यै भोग्नु नपरेको संकटमा फस्दै छ ।

यी सबैको परिणाम आम जनताले भोग्नुपरेको छ । आर्थिक परिसूचकहरु ओरालो लाग्दो अवस्थामा छन् भने मुलुकभर बेरोगारीको संख्या बढ्दैगएको छ । सरकारमा बसेकाहरु अहिले रमिते बनेका छन् । २०७२ सालमा गएको विनाशकारी भूकम्प त्यसपछि संसारभर देखिएको कोरोना महामारीका कारण अर्थतन्त्र कमजोर बन्दै गएको बेला मुलुकमा देखिएको राजनीतिक अस्थिरताले थप मलजल गरेको छ । बेरोजगारीका कारण युवाशक्ति पलायन हुने क्रम बढेकोबढ्यै छ भने आन्तरिक उत्पादन घट्दैगएको र आयात गर्ने क्रम तीव्र रुपमा बढेको छ ।

परिणामस्वरुप अर्थतन्त्र धरमराउँदो अवस्थामा पुगेको छ । दक्षिण एसियाली मुलुक श्रीलंकाको बाटोमा नेपाल प्रवेश गर्ने अवस्थामा पुग्दा पनि सरकारका नेतृत्व गरेका दलहरु अर्थतन्त्र उकास्नका लागि चालिनुपर्ने कदमका बारेमा छलफल गर्न समेत तयार भएको देखिदैन । यसले मुलुकको अर्थतन्त्र कुन बाटोमा जाने हो, विज्ञहरुसमेत रनभुल्लमा परेको देखिन्छ । कठोर आर्थिक नीति नलिने हो भने मुलुक टाट पल्टिएको घोषणा गर्नुपर्ने अवस्था नआउला भन्न सकिंदैन । आसन्न स्थानीय तहको निर्वाचनलाई बहाना बनाएर दलहरु समस्याबाट भाग्ने कोसिस गरिरहेको देखिन्छ ।

मुलुकको आन्तरिक उत्पादन बढाउन, ठूला उद्योगहरु संञ्चालन गर्ने वातावरण बनाउन सरकारले चाल्नुपर्ने कदम शून्यप्रायः देखिन्छ । आर्थिक नीति कमजोर बन्दा मुलुकको अवस्था डरलाग्दो अवस्थामा पुगेको छ । भएका उद्योग कलकारखाना समेत बन्द हुने अवस्थामा पुगेका छन् । मुलुकले सही नेतृत्व नपाउँदा युवावर्ग विदेशिन बाध्य छ । राजनीतिप्रति वितृष्णा राख्ने जमात बढ्दै गएको अवस्थामा समेत दलहरु मुलुक कसरी बनाउने भनेर साझा धारणासमेत बनाउन असफल देखिन्छन् । अहिलेको अवस्थामा पनि दलहरु एक ठाउँमा उभिएनन् भने अर्थतन्त्र धराशयी हुने निश्चित प्रायः देखिन्छ । आफू भए ठिक अरु भए बेठिक भन्ने मानसिकताले जकडिएका दलका नेताहरु मुलुकको गिर्दो अवस्थाका बारेमा चिन्तत गर्न असफल सावित भएका छन् ।

विभिन्न समस्याका बाबजुद पनि संसारले आफूलाई आत्मनिर्भर बनाउँदै लगेको देखिन्छ तर नेपालमा भने त्यस्तो हुनसकेको देखिदैन । मुलुक सञ्चालन गर्नेहरु व्यक्तिगत स्वार्थमा लाग्दा जनताले दुख पाइरहेका छन् । भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको कारण मुलुकले अर्को पीडा भोग्न बाध्य भएको छ । अलमलको राजनीति हाबी हुँदा केही मुठ्ठीभर व्यक्तिले राज्यलाई प्रभाव पार्न सफल हुनु मुलुककै लागि दुखदायी भएको छ । आर्थिक व्यवस्थामा हामी चिप्लिएका छौं, परराष्ट्र नीतिमा नराम्रोसँग पछारिएका छौं भने नीतिगत आचारणमा हामी धराशयी भएका छौं । दलले देश बनायो कि दलकै कारण देश बिग्रियो प्रश्न खडा भएको छ । दल सञ्चालकहरु समयमै सचेत बनून् !

प्रतिक्रिया दिनुहोस्