पत्रकार मल्लको परिवार आर्थिक संकटमा



मुगु ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१ निवासी पत्रकार सुमन मल्ल अस्ताएसँगै उनको परिवारमा संकट आएको छ । सामाजिक कुरीति तथा भष्टाचारविरुद्ध खरो कलम चलाउने मल्ल ४० वर्षको कलिलो उमेरमा अस्ताएको ११ महिना भयो ।

वृद्धा आमा र श्रीमतीलाई तीन बालबालिकाको भविष्यबारे पिरोल्ने गरेको छ । नाटकका लेखक तथा निर्देशन रहेका मल्लले कर्णालीका धेरैको दुःख लेखे तर आज उनको परिवारको दुःख देख्ने कोही छैन । ७० वर्षीय वृद्ध आमा मुघा मल्ल छोराको सम्झनामा र पीर कटाउने उद्देश्यले हरेक दिन गीतका भाकामा दुःख पोख्दै छोरालाई सम्झने गरेकी छन् । पत्रकार तथा नाट्यकार मल्ल एक खरो पत्रकार थिए ।

मल्लले लगभग १८ वर्ष पत्रकारिता तथा रंगमञ्चमा नाट्यकारको भूमिकामा रहेर काम गरे । रोग, भोग, विकटतामा आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारिताको माध्यमबाट सयौंको पीडामा मलम लगाएका पत्रकार, नाट्यकार तथा रंगकर्मी मल्ल अस्ताएसँगै उनको परिवारमा आर्थिक संकट आइपरेको हो ।

अहिले परिवारको अवस्था बिहान बेलुका छाक टार्न धौ–धौ छ । त्यससँगै तीन छोराछोरीलाई पालनपोषण, पठनपाठन र तिनको भविष्यका बारे सोच्नुपर्ने ७० वर्षे बूढी आमा र श्रीमतीको काँधमा छ ।

‘आराम गरेर छोराको कमाई खाने उमेरमा नातिनातिनाको भविष्यका बारे सोच्नुपर्ने बाध्यता रहेको छ ।’ –७० वर्षे वृद्धा आमा माघी मल्ल भन्नुहुन्छ । कर्णालीको पीडालाई काठमाडौंसम्म पुर्याउन धेरै प्रयास गरेका थिए । पत्रकारिता गरेर बुझाउन नसकेको कर्णालीको दुःख मल्लले पछिल्लो समय नाटकमार्फत देखाउन थालेका थिए । यस अवधिमा मल्लले धेरै नाटक लेखे, निर्देशन पनि गरे । उनले लेखेका तथा निर्देशन गरेका चर्चित नाटक ‘कर्नाली दख्खिन बग्दो छ’ र ‘सुइना कर्नाली’ हुन् । यी दुई नाटकले रंगमञ्चको क्षेत्रमा ठूलै तरंग ल्याएको थियो ।

कर्णालीको यथार्थ जीवनमा आधारित रहेर बनाइएको चर्चित नाटक ‘कर्नाली दख्खिन बग्दो छ’ र कर्नालीवासीलाई सपना देखाउने गरी बनाइएको अर्को चर्चित नाटक ‘सुइना कर्नाली’ नाटकमा मल्लले मुख्य पात्रको भूमिकासमेत निर्वाह गरेका थिए । ‘बिहान–बेलुका खाना खानेसम्म समस्या परेको छ’, श्रीमती गंगादेवी मल्ल आँखाबाट आसु झार्दै भन्नुहुन्छ– ‘थाप्लोमा ऋणको भारी छ । कसरी बालबालिकाको भविष्य बनाउने ? पत्रकार नहुनुस् बरु कतै जागिर खानुस्, नभए व्यापार गर्यौं भनेको थिएँ, मान्नु भएन । पत्रकारिता नै जीवन हो भन्नुहुन्थ्यो, सबैले जागिर खाए व्यापार गरे समाजका बारेमा कसले लेख्ने भन्नुहुन्थ्यो । अहिले आफू जानुभयो हाम्रो जीवन बिचल्ली भयो ।’

१८ वर्षदेखि विभिन्न सञ्चारमाध्यममा आबद्ध भई मुगुमा बसेर नागरिक दैनिक, नयाँ पत्रिका दैनिक र स्थानीय रेडियो मुगुमा स्टेसन इन्चार्जका रूपमा काम गर्दै आएका मल्लको समाज परिर्वतनमा ठूलो योगदान छ । उनले गरेका उल्लेखनीय कामको यहाँ सबैले प्रशंसा गर्ने गरेका छन् । मृतक मल्लकी पत्नी महाकाली उच्च माध्यमिक विद्यालयमा चौकीदारी गर्नुहुन्छ । उहाँको तीन बच्चालाई सिद्धार्थ स्कुलले निःशुल्करूपमा पढाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्