हेटौंडामा देशकै अग्लो बुद्धमूर्ति



हेटौंडा, (नेस) ।

हेटौंडा महानगरपालिका–१८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो (ढुंगा) को बुद्धमूर्ति अनावरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नांगेलले मूर्ति अनावरण गर्नुभएको हो । करिब ३ वर्ष लगाएर तयार पारिएको उक्त मूर्ति वागमती प्रदेशको सबैभन्दा अग्लो र देशकै दोस्रो अग्लो बुद्धमूर्ति हो । यसअघि जोमसोम (मुक्तिनाथ) मा ३३ फिट अग्लो मूर्ति स्थापना गरिएको थियो ।

मूर्ति निर्माण समिति अध्यक्ष सम्पूर्णकुमार लामाको सभाध्यक्षतामा मूर्ति अनावरण कार्यक्रम भएको हो । बौद्ध धार्मिक महत्वको मूर्ति अनावरण हुँदा वडा नम्बर १८, गुम्बाडाँडालाई धार्मिक पर्यटन क्षेत्रका रूपमा क्रमशः विकास हुँदै जाने वडाध्यक्ष अनिल बानियाँले बताउनुभयो ।

करिब १ करोड ४४ लाख लागतमा बुद्धमूर्ति तथा बोधिचैत्य (स्तुप) निर्माण गरी अनावरण गरिएको हो । काठमाडौं–६, बौद्ध निवासी वरिष्ठ समाजसेवी सूर्यवबज्र लामा, समाजसेवी दुर्गामान शाक्य, सुभासराज शाक्य, सान्तरत्न शाक्य, किरणरत्न शाक्य, राजेश्वरी श्रेष्ठ, हेटौंडाका कमलचन्द्र सुमन र डा. वसन्तमान श्रेष्ठको सक्रियतामा गुम्बाडाँडामा बुद्धमूर्ति अनावरण गरिएको हो ।

सुमनले उक्त क्षेत्रको नेपाल एकीकरणताकाको इतिहास, मूर्ति स्थापनाको अवधारणा, आवश्यकता, उद्देश्य र लागत आदि बारे प्रकाश पार्दा निर्माण समिति सचिव दुर्गामान शाक्यले मूर्ति स्थापनापछि आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने अवस्था न्यून हुने विश्वास व्यक्त गर्नुभयो । मकवानपुरका समाजसेवी एवं मूर्ति निर्माण समिति उपाध्यक्ष ज्योतिरत्न बज्राचार्यले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । गुम्बाडाँडास्थित पर्यटकीय पार्कमा अनावरण गर्ने तयारीमा रहेको मूर्ति कोरोना सन्त्रासका कारण भएको लकडाउनका कारण प्रतिस्थापन हुन सकेको थिएन ।

ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले ढुंगाको मूर्ति कुँद्नुभएको थियो । लकडाउनका कारण मूर्ति ल्याएर अनावरण गर्न नसकिएको बुद्धमूर्ति निर्माण समिति संयोजक कमलचन्द्र सुमनले बताउनुभयो । काठमाडौंका समाजसेवीहरुले मूर्ति निर्माणका लागि १ करोड ४४ लाख जुटाएका थिए । वागमती प्रदेश सरकारले मूर्ति प्रतिस्थापन गर्ने स्थान निर्माण र मूर्ति रहने स्थानसम्म पुग्ने सिँढी निर्माणका लागि ३५ लाख रुपियाँ उपलब्ध गराएको थियो भने १८ नम्बर वडाले ५ लाख रुपियाँ उपलब्ध गराएको थियो ।

हर्नामाडीस्थित ‘कलागाउँ’ का रूपमा परिचित गुम्बाडाँडालाई बौद्धमय बनाउन शाक्यमुनि गौतम बुद्धको मूर्ति स्थापनाका लागि काम अगाडि बढाइएको थियो । मूर्ति स्थापना समिति संयोजक हेटौंडाका समाजसेवी सुमनले मूर्ति स्थापनापछि उक्त क्षेत्रको मुहार फेरिने बताउनुभयो । मूर्ति निर्माण समितिले काठमाडौंको बौद्धमा गरेको पहिलो चरणको कार्यक्रममा एकैदिन १६ लाख ४० हजार रुपियाँ सहयोग संकलन भएको थियो । मूर्तिका लागि आवश्यक ढुंगा कुलेखानी, फर्पिङ, पनौती र दक्षिणकाली जंगल क्षेत्रबाट लगिएको थियो ।

मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न भवनहरु, पानीट्यांकी, मनोरञ्जन पार्क, कम्पाउन्डवाल, र ध्यान केन्द्र बनेका छन् । गुम्बाडाँडा हेटौंडा बजारबाट करिब १७ किमि पूर्वदक्षिणमा पर्दछ, जहा“ पछिल्लो समय बिदाका दिन आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । गुम्बाडा“डा क्षेत्रमा रहेको बस्ती हटाएर २०३५ सालमा मानिसलाई चितवन पठाइएको थियो । २०४२ सालमा उक्त क्षेत्रमा वृक्षरोपण भयो ।

संरचनागतरूपमा सरकारी जमिन देखिएकाले २०५४ सालमा गुम्बाको स्थापना भएको रेकर्ड छ । सल्लाघारी भनिने ठाउँमा गुम्बा स्थापनापछि ‘गुम्बाडाँडा’ नामाकरण भएको हो । गुम्बा स्थापनापछि सामाजिकरूपमा चहलपहल हुँदै गर्दा शुरुवाती हिसाबमा मंगलसिं लामाको नेतृत्वमा २०६१/६२ ताका उक्त क्षेत्र स्थापना गरिएको हो ।

२०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरु त्यहाँ छन् । नेपाल र अन्य ५ देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको छ । हाल पिकनिक क्षेत्र र मूर्तिकलासम्बन्धी ज्ञान लिने व्यक्त त्यहाँ पुगेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्