गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग ८ गतेबाट सञ्चालन गरिने



काठमाडौं ।

निर्माण कार्य सम्पन्नभई व्यवसायीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।

यसै गरी मन्त्री आलेले कोरोना सङ्क्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलका सेवाहरू २४ घण्टा सुचारु गराउन समेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।

पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले यही वैशाख ८ गतेदेखि विमानस्थलमा आन्तरिक उडान शुरु गर्ने छन् । अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनबाट शुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यसै गरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा यो वर्षको दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम सुरु भएको बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिए लगत्तै अन्तर्राष्ट्रिय उडान सुरु गरिने महानिर्देशक अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम शुरु गर्ने छौँ र कटान दुई महिनामा सक्ने लक्ष्य राखेको छ ।” नेपालमा कोरोना भाइरस करिब करिब अन्त हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ देखि २४  घण्टा नै खुल्ला गर्ने र गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनपछि २४  घण्टा नै खुल्ला गर्ने जनाएको छ ।रात्रिकालीन उडान भइरहेका तराईका विमानस्थलमा सेवा राति १२ बजेसम्म बढाउने योजना रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्